अल्काका कुमार र गगनको लडाइँ वारपार

नेपालीमा एउटा उखान छ, ‘...उसैको ठूलो स्वर ।’ ललितपुरको पुल्चोक र एकान्तकुनास्थित अल्का अस्पतालको काम सो उखानसँग ठ्याक्कै मिल्दोजुल्दो छ । अस्पतालका अध्यक्ष तिलकबहादुर पुँवर उर्फ कुमार थापाका कारण एक व्यापारी ‘घर न घाट’ को अवस्थामा पुगेका छन् । उनकै कारण ती व्यापारी एक दशकदेखि अदालतको चक्कर काटिरहेका छन् । पहुँच प्रयोग गरेर कुमारले ती व्यापारीलाई थुनाउनेसम्म खोजेको पाइएको छ ।
के हो घटना ?
चितवनको भरतपुर महानगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका ११, त्रिपुरेश्वर बस्ने गगनलाल प्रधान आयुष्मान ईमेजिङ प्रालिका सञ्चालक हुन् । उनले संघसंगठनबाट ठेक्का लिएर विभिन्न मुलुकका सामान आयात गर्दै आएका छन् । २०७२ सालको कुरा हो, अस्पतालले ‘तोसिबा १६ स्लाइस सिटी स्क्यान सिष्टम’ मेसिन आपूर्तिका निम्ति सूचना जारी गर्यो । र, सन् २०१५ अप्रिल २ मा सामान आपूर्तिका लागि कोटेशन बुझायो । कोटेशनमा अर्डर पुष्टिकरणका लागि प्रालिले ३० लाख रूपैयाँ अग्रिम भुक्तानी माग्यो । ३० लाख मागेकोमा कुमार स्वयंले एक करोड पाँच लाख रूपैयाँ थप गरी कोटेशन पेश गर्न लगाए । त्यसमध्ये ३० लाख अग्रिम भुक्तानीस्वरूप दिने र बाँकी ७५ लाख भने उनलाई फिर्ता दिनुपर्ने शर्त राखिएको थियो ।
सँगै सम्झौता हुनुभन्दा अघिल्लो दिनको मिति राखेर चेक दिनुपर्ने, अर्डर पुष्टिकरणका लागि लगेको रकमले सामान अर्डर गर्नुपर्ने, ७५ लाख रूपैयाँ फिर्ता भएपछि मात्र सामान आपूर्ति गर्नुपर्ने मौखिक प्रस्ताव थियो । गगनलालले सो प्रस्ताव अस्वीकार गरे । त्यसपछि कुमारले ७५ लाख रूपैयाँ यथासक्य फिर्ता दिने र त्यही रकमबाट सामान आपूर्ति गर्न भने । दुवै पक्षबीच २०७२ वैशाख २२ अर्थात् सन् २०१५ अप्रिल ५ मा सम्झौता भयो ।
गगनले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा रहेको आफ्नो खाता ०३०१०४०२५३१९२ बाट कुमारले भनेका व्यक्तिहरू मनिश केसी, आशिष श्रेष्ठ र विनिशा थापाको नाममा २५–२५ लाखको दरले रकम भुक्तानी गरिदिए । तीनै जना अल्का अस्पतालका कर्मचारी हुन् । त्यतिबेला विनिशाले हिमालय टेलिभिजनमा कार्यक्रम पनि चलाउँदै आएकी थिइन् ।
तीनै जनासँग कुनै चिनजान, कारोबार नभए पनि गगनलालले कुमारको भरोसामा खातामा पैसा जम्मा गरिदिए । ७५ लाख फिर्ता भएपछि सामान आपूर्ति गर्ने सहमति भएकोमा उनले सो रकम दिएनन् । यता, गगनलालका आमा सिकिस्त बिरामी भइन् । भारत लगेर उपचार गराउँदा पनि केही नलागेपछि नेपाल फर्काइयो ।
आमाको सेवामा व्यस्त उनले सबै कुरा कुमारलाई बताएका थिए । ‘ठीकै छ, विस्तारै गर्नू’ भनेका कुमार करारबमोजिम रकम भराई क्षतिपूर्तिसमेत भराई पाऊँ भन्दै काठमाडौं जिल्ला अदालत पुगे । घरमा अदालतबाट पत्र आएपछि गगनलाल झसङ्ग भए । गगनलालका अनुसार कुमारले उनकै कर्मचारीहरूको खातामा हालिएको ७५ लाखसहित एक करोड पाँच लाख रूपैयाँ, ७५ लाख हर्जाना र पाँच लाख वकिल खर्च माग गरेका छन् ।
‘मैले लिएको ३० लाख रूपैयाँ हो । त्यसको ब्याज जोडेर दिन तयार छु । तर, उहाँले मबाट झण्डै दुई करोड रूपैयाँ माग गर्नुभएको छ । ७५ लाख रूपैयाँ फिर्ता दिइसकें । मसँग प्रमाण छ,’ उनले भने ।
तीनवटै अदालतबाट पराजित
भनिन्छ नि, ‘जसको शक्ति, उसैको भक्ति ।’ आफ्नो हकमा पनि त्यस्तै भएको बताउँछन्, गगनलाल । एक दशकदेखि मुद्दा लडिरहेका उनले हालका बार अध्यक्ष विजय मिश्रसहित तगडा वकिल राखेका थिए । अधिवक्ताले जित्छौं भन्दाभन्दै काठमाडौं जिल्ला अदालतबाट मुद्दा हारे । त्यसपछि उच्च अदालत, पाटन पुगे । उच्चले पनि हराइदियो ।
उच्चको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका उनी त्यहाँबाट पनि पराजित भए । जबकि, उनीसँग पैसा ट्रान्सफर गरिदिएको बैंक स्टेटमेण्टलगायत प्रमाण थियो । अदालतले मेलमिलाप गर्न बोलाउँदासमेत कुमार नआएको गगनलालको भनाइ छ । कुमारले फैसला कार्यान्वयनका लागि केही दिनअघि अदालतमा निवेदन दिएका थिए । गगनलालका अनुसार उनले सिदा खर्च पनि भरिसकेका छन् । त्यसपछि गगनलाल स्वयं प्रहरी वृत्त, अनामनगर पुगे । प्रहरीलाई घटनाबारे बेलिविस्तार लगाए, प्रमाणहरू देखाए ।
प्रहरीले कुमारविरुद्ध ठगी मुद्दा दायर गर्न सुझाव दियो । उनले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका अधिकारीहरूसँग पनि छलफल गरे । अधिकारीहरूले कुमारविरुद्ध ‘आपराधिक विश्वासघात’ को मुद्दा चल्ने बताएको उनको जिकिर छ । भन्छन्, ‘मैले उहाँहरूलाई सबै कुरा बताएँ, प्रमाण देखाएँ । उहाँहरूले यो ठूलो बद्मासी हो भन्नुभयो । आपराधिक विश्वासघातको मुद्दा चलाउन सुझाव दिनुभएको छ । उहाँहरूको सुझावअनुसार अघि बढ्ने निर्णय लिएको छु ।’
उनका अनुसार प्रहरीले विनिशा र मनीषलाई सोधपुछका लागि बोलाएको छ । उनीहरूले एकाध दिनमा उपस्थित हुने बताएको गगनलालले जानकारी दिए । यता, विनिशाले आफ्नो खातामा पैसा नआएको दाबी गरिन् । आफूले अल्का अस्पताल छोडेकै डेढ वर्ष हुन लागेको उल्लेख गर्दै गगनलाललाई नचिनेको बताइन् । भनिन्, ‘म अल्का अस्पतालमा काम गर्दाखेरि म्यानेजमेण्टले बैंकमा उपस्थित हुन भन्यो । मैले त्यति मात्र गरेको हो । मेरो खातामा कुनै पैसा आएको छैन । मैले उहाँलाई चिन्दा पनि चिन्दिन । यदि, गल्ती गरेको रै’छु भने मलाई समात्दा पनि हुन्छ ।’ अस्पतालका अध्यक्ष कुमारले भने गगनले नै ‘फ्रड’ काम गरेको ठोकुवा गरे ।
सामान ल्याउँछु भनेर नल्याएको र पैसा पनि फिर्ता नदिएको उनको भनाइ छ । अदालतबाट हारेर घरखेत नै उड्ने भएपछि गगनलाल नेता, प्रहरी र मिडिया गुहार्दै हिँडेको उनी बताउँछन् । ‘उनले म सस्तोमा सामान ल्याउँछु भनेर कोट गरे । हामीले पनि होला त भनेर पत्यायौं । तर, उनी त फ्रड रहेछन् । डेढ–दुई वर्षसम्म कुर्दा पनि सामान नल्याएको र पैसा पनि फिर्ता नदिएकाले मुद्दा हालेको हुँ । अब घरखेत नै जाने भएपछि कहिले एनपी साउद, कहिले प्रहरी त कहिले मिडियाकहाँ धाउँछन्’, कुमारले भने ।
त्यसैगरी, गगनलालले पैसा फिर्ता दिएको भनी कतै मुद्दा नगरेको उनको जिकिर छ । अगाडि थपे, ‘त्यतिबेला के हेरेर बसे ? पैसा फिर्ता दिइसकें भनेर मुद्दा किन हाल्न सकेनन् ? प्रतिउत्तर पत्र दिने अनि मुद्दा हाल्न नसक्ने ? सात–आठ वर्षपछि यस्तो–उस्तो भन्दै हिँड्ने ?’
टिप्पणीहरू