आरजु म्याडमको अड्डा अर्कैतिर

आरजु म्याडमको अड्डा अर्कैतिर

एउटा गाउँपालिकाले करोडौंको लगानीमा आफ्नै प्रशासनिक भवन ठड्याएको छ तर सिंहदरबारभित्रैको एउटा यस्तो मन्त्रालय, जस मातहत ३१ दूतावास, तीन स्थायी नियोग,सातवटा महावाणिज्य दूतावास छन् भने अधिकांशको आफ्नै भवन,जग्गा जमिन छ तर विदेश हाँक्ने मन्त्रालयको हालतचाहिँ कठै !

चार सय बढी कर्मचारी कार्यरत सो मन्त्रालय आफ्नै भवन नहुँदा भृकुटीमण्डप, शीतल निवास,नारायणहिटीतिर डेरा सर्दै बल्ल सिंहदरबार छिरेको छ । उक्त भवनमाथि पनि अर्थ मन्त्रालयले आँखा लगाएपछि फेरि ‘डेरा’सर्नुपर्ने बाध्यता आइलागेको छ ।

फाइभ स्टार होटलको झल्को दिने गरी ५७ करोड लागतमा गृह मन्त्रालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सो भवन बनिसक्नै लागेको बेला परराष्ट्रलाई अर्थले खाली गरिदिन भनेको बुझिएको छ । 

ह मन्त्रालय नयाँ बिल्डिङमा सरेसँगै सिंहदरबारबाट बाहिर रहेको एक मात्र स्वास्थ्य मन्त्रालयलाई रामशाह पथबाट भित्र्याउने योजना थियो तर अर्थका कर्मचारीहरूले परराष्ट्रतिर आँखा लगाएपछि स्वास्थ्य बाहिरै रहने र परराष्ट्र हालको गृह मन्त्रालयमा सिफ्ट हुने सम्भावना बढेको छ ।

अर्थले आफ्नो मन्त्रालयको बनोट नमिलेको र शाखा–महाशाखा नअटाएको भन्दै परराष्ट्र बसिरहेको भवन खाली गरिदिन औपचारिक आग्रह गरेको हो । यही आर्थिक वर्षभित्र परराष्ट्र मन्त्रालय पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन (हाल गृह) बसिरहेको भवनमा सर्नेछ ।

गृह बस्नुअघि उक्त भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो । भूकम्पबाट ध्वस्त भएको प्रधानमन्त्री कार्यालय झण्डै एक अर्ब खर्चेर अत्याधुनिक बनाइएसँगै त्यहाँ गृह मन्त्रालय बस्दै आएको छ । गृह अबको एक/दुई महिनाभित्रै नयाँ भवनमा सरेसँगै परराष्ट्रलाई त्यता सारिने अर्थका अधिकारीहरू बताउँछन् ।

 

टिप्पणीहरू