सिनियरहरू, सिकारु साधकलाई साथ चाहियाे
संगीतलाई पनि एउटा पेशा बनाउन सकिन्छ कि भन्ने झिनो आशा पलाएको छ । नयाँ पुस्ताको सगीतप्रति झुकाव, देशविदेशमा आयोजना हुने सांगीतिक उत्सव, रियालिटी शो, चलचित्रमा संगीतको बजारीकरण आदि मार्फत नेपाली सङगीतले फड्को मारेको छ । यसैकारण कोही कोही बाउले आफैँ छोराको काँधमा गितार झुन्ड्याएर बागबजारतिर संगीत सिक्न पठाउन हिच्किचाएको देखिँदैन । युद्ध कति जालझेल र प्रपञ्चको खेल हो भनेर युद्धभूमिमा जानेले मात्र थाहा पाए जस्तो नेपाली संगीत बजारमा पनि नयाँ पुस्तालाई कतिसम्म छल, घात र धोका हुन्छ भन्ने कुरा बागबजार धाउन सांगीतिक योद्धाले मात्र अनुभूत गर्न सक्छ । अहिले पनि पुरुष नयाँ साधकले संगीतकारको कोठामा प्रवेश गर्नुअगाडि पकेट छाम्नुपरेको छ भने महिलाले कुर्ताको सल माथि तान्नुपरेको छ । भलै, भित्र यस्ता अप्रिय कुरा केही नहोलान् तर उनीहरूको दैनिकीमा गाँभिएका यस्ता भोगाइ अनेक छन् ।
एक मित्रले दश वर्षसम्म संगीत साधना गरे । एक गीत गाउनको लागि थुप्रै संगीतकारको दैलो चहारे । थुप्रै निर्मातासामु हात थापे । नयाँ अनुहारको वीज्ञापन लिएर गएको त्यस गायकको गलाप्रति कसैको विश्वास भएन । ‘नयाँ रहेछस्, संगीतमा संघर्ष गर्न गाह्रो छ भाइ, आफ्नै लगानीमा दुई÷चार एल्बम ननिकाली यहाँ कोही गायक बन्न सक्दैन । पेशा के हो तिम्रो ?’ जस्ता प्रश्नले दिग्गज संगीतकारबाटै गोजीको शल्यक्रिया गरेपछि दश वर्ष नाता गाँसेको संगीतप्रति तिक्तता जाग्यो र गितारलाई कोठाको एक भित्तामा थन्काएर जागीरे जीवनतिर हाम फाल्यो । सङ्गै बागबजारमा संगीततिर केही गरुँ भनी संघर्षको पाइला चाल्ने एक गायकको अवसान भयो । यसरी बागबजारमा उदाए र त्यहीँ अस्त हुने सांगीतिक प्रतिभाको कुनै गणना छैन । थुप्रै प्रतिभा आर्थिक अभावले हराएका छन्् । नेपाली संगीत अहिले गरीबको लागि मजाक र धनीको लागि प्रसाद बन्ने बाटोमा छ ।
हसरत जयपुरी कण्डक्टर थिए । गुलजार मेकानिक्स थियो । लक्ष्मीकान्त प्यारेलाल गरिब थिए । हसरतलाई राजकपुरले चलचित्रमा गीत लेखाए । गुल्जारलाई कवि शैलेन्द्रले आफ्नो हिस्साको गीत लेख्न लगाए ।
हरेक व्यक्तिमा प्रतिभा हुन्छ । फरक यति मात्र हो कि, कसैले अवसर पाएर त्यो प्रतिभा पुष्पित हुन्छ त कसैको त्यत्तिकै मक्किन्छ, । सवै साधकको यात्रा गल्लीबाट प्रारम्भ हुन्छ । अग्रज गायक दीप श्रेष्ठ, रामकृष्ण ढकाल, सुगम पोखरेल, राजु लामा, प्रमोद खरेल र दीपक लिम्बुको इतिहास कहालीलाग्दो छ । उनीहरू दुखदायी भोगाइलाई आज अवसरहीन नयाँ पुस्ताको काखमा ओछयाएर भन्छन् – ‘जीवन भन्नु नै संघर्ष हो । संघर्ष जारी राखे एकदिन सफलता पाइन्छ ।’ अवसरहीन नयाँ पुस्तालाई सफल व्यक्तिको बासी संघर्षको पाठ हैन, दिनभरि भोको पेट र काँधमा गितार बोकेर हिँड्ने लखतरान हातलाई अवसर चाहिएको छ । जो सफल भए, उनीहरूका कुरा बेग्लै । जसको प्रतिभा कुनै अज्ञात गल्लीभित्र खुम्चिएको छ तिनीहरुलाई अवसर किन सृजना नगर्ने । सफल कलाकारले चाहियो भने असफललाई एकक्षणमा सफलता बाँड्न सक्छ । यो कटु सत्य हो कि, आफ्नो पहिचान र अवसर खोसिने खतराका काराण उनीहरू यस्तो बलिदानी गर्न चाहँदैनन् । खोजी नै गर्ने हो भने, निस्तै भातमा साधना गर्ने प्रमोद खरेलहरू कैयौँ देशको गल्ली–गल्लीमा अवसरको खोजी गर्दै होलान् ।
केही वर्षअघि सामाजिक सञ्जालमो मुग्लिङ्गमा भेटिएको थियो । बालकको सुरिलो स्वरले निकै प्रशंसा बटुल्यो । अवसर दिँदा उनी प्रेम परियार भए । संगीतकार टंक बुढाथोकीले पनि गरिब बालकलाई राष्ट्रियस्तरको गायक बनाए । भोजराज थापा नयाँ गायक÷गायिका निकाल्ने अभियानमा छन्् । यी सुखद पक्ष हुन् ।
जीवनमा सफल जो सुकै व्यक्ति अर्को सफल व्यक्तिको अनुकम्पाबाटै उठ्ने हो । त्यस्तो सफल व्यक्ति पाइन गाह्रो छ यहाँ, जसले जीवनमा अरु सफल व्यक्तिको अनुकम्पा पाएन । नेपालमा अग्रज स्रस्ताबाटै गरिव प्रतिभाको यसरी पकेटको तौलताल हुन्छ कि उस्ले चाहेर पनि गायक बन्ने इच्छालाई तिलाञ्जली दिनेसम्मको सोच बनाउँछ । पकेटको तौलले गायकको स्वर अवश्य पनि नापिन्न । पैसाको खोली बगाउँदैमा कुनै पनि गायकले सरस्वतीको अनुकम्पा पाउने भए, बिल गेट्सले कति एल्बम निकालिसक्थे होलान् । वारेन बफेटले घरेलु कुकुरलाई पनि स्टुडियोमा भुक्न लाउँथे होलान्, ताकि त्यो भुकाइ पनि पैसाको चमत्कारले एउटा गीत बन्न सकोस् ।
यसै परिप्रेक्ष्यमा प्रकाश सायमीको एक भनाइ याद हुन्छ– ‘पहिला पहिला गायक र गायिका हुन ‘सारेगमपधनि’ सात सुरको आवश्यकता पथ्र्यो । अचेलचाहिँ दुई सुर ध र नी अर्थात ‘धनी’ को मात्र बोलवाला छ ।’ नेपाली संगीतमा यस्तो गलत र अनुचित सस्कृतिको प्रवेशले कहीँ गरीव प्रतिभाहरूमाथि छुरा त प्रहार भैरहेको छैन, बिचारणीय प्रश्न हो । धनले प्रतिभा लाद्नेलाई प्रोत्साहित गरिनु हुन्न । अब त नयाँ नयाँ प्रतिभालाई बाटो खुल्नुपर्छ । यसको लागि प्रतिभाहरू निरुत्साहित नहुने वातावरण सृजना गर्नुपर्छ । प्रतिभा त्यस बेला निरुत्साहित हुँदैन, जुन बेला उसले समान अवसर पाउँछन ।
हसरत जयपुरी कण्डक्टर थिए । गुलजार मेकानिक्स थियो । लक्ष्मीकान्त प्यारेलाल गरिब थिए । हसरतलाई राजकपुरले चलचित्रमा गीत लेखाए । गुल्जारलाई कवि शैलेन्द्रले आफ्नो हिस्साको गीत लेख्न लगाए त्याग र उत्सर्गको कथा पनि आज लेखिन आवश्यक छ । ताकि यस्ता ऊर्जाशील लेखनले नयाँ पुस्ताप्रति सहानुभूति र सहयोग बढाओस्,प्रतिस्पर्धा घटाओस् ।
नयाँ प्रतिभाको, पुरानोको तुलनामा कम छैन । कमी छ त पहिचान र अवसरको । हिजो होस् कि आज संघर्ष उहीँ हो, दालमोठ, सुख्खा चिउरा र साधनाको किस्सा उही हो । त्यस्ता प्रतिभालाई जसरी हुन्छ, पहिचान र अवसर दिने अभियानमा लागाैँ । प्रत्येक फूलको महत्व छ, ब्यर्थै ओइलाउन नदिऊँ ।
टिप्पणीहरू