माइलो ठकुरीबाट मात्रै हो गणतन्त्रमाथि खतरा ?
ईश्वरलाई अन्धभक्तबाट खतरा भएजस्तै गणतन्त्रलाई कहीँ–कतैबाट खतरा छ भने यसमा हालिमुहाली गर्नेहरूबाटै छ ! समस्या गणतन्त्रमा होइन, गणतन्त्र घोषणा गर्न नेतृत्व गर्ने तर समाधान दिन नसक्ने नेताहरूमा छ । माइलो ठकुरी अहिलेको विषय नै होइन ।
जेठ १५ अर्थात् गणतन्त्र दिवस ! सार्वभौम नेपाली जनताबाट चुनिएको संविधानसभाको पहिलो बैठकले घोषणा गरेको शासन व्यवस्था हो, संघीय लोकतान्त्रिक गणतन्त्र । सार्वभौमसत्तासम्पन्न नेपाली जनताले लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, विकास र समृद्धिको आकांक्षा पूरा गर्न २०६५ जेठ १५ गते गणतन्त्र नेपाल घोषणा र ०७२ भदौ ३ गते संविधान जारी गरे । अब नेपाल सत्रौं गणतन्त्र दिवस मनाउँदै छ ।
गणतन्त्रको अर्थ जनताको शासन हो । यो यस्तो व्यवस्था हो, जसको सर्वोच्च पदमा समेत कुनै पनि सर्वसाधारण नेपाली पदासीन हुन सक्छ । गणतन्त्र मास्छौं र मध्ययुगीन सामन्ती राजतन्त्र ल्याउँछौँ भनेर आन्दोलनको घोषणा गर्ने राजावादीहरूको प्रसंगमा जवाफ दिँदै कवि एवं राजनीतिक विश्लेषक श्यामलले मंगलवार सामाजिक सञ्जालमा रोचक र ज्ञानवद्र्धक पोष्ट गरेका छन्– ‘राउटे, चेपाङ, मुसहरलगायत थुप्रै समुदायका सदस्यझैँ लोकतान्त्रिक गणतन्त्रको नागरिक भएर बस ज्ञानेन्द्र । नेपाल खल्बल्याउने कोसिस नगर !’ उनले अगाडि लेखेका छन्, ‘गणतन्त्रका खराबी नागरिकले सच्याउँछन्, हिङ बाँधेका टालाको मालिकले सक्दैन । यसका गुण राजतन्त्र नामक वंशतन्त्रमा हुँदैन । यी गुण सार्वभौमसत्तासम्पन्न नागरिकले उत्पादन गर्छ । यो कुरा समयमै बुझ । तिमी माउ माकुरा हौ, राप्रपाहरू तिम्रो पेटमा हुर्केका बच्चा माकुरा हुन् । तिनले अन्ततः तिमीलाई नै सिध्याउनेछन् । माइला ठकुरीले यति कुरा बुझे राम्रो होला !’
वास्तवमा सबैतिरबाट दुत्कारिएका दुर्गा प्रसार्इं, नवराज सुवेदी, नेपाली राजनीतिमा अस्वीकृत राजेन्द्र लिङदेनबाट गणतन्त्रमाथि खतरा होइन, जनता र राष्ट्रको आवश्यकता बुझ्न नसक्ने नेता र तिनको कार्यशैली दोषी हो, माइला ठकुरी त नेताहरूले उत्पादन गरेको सहउत्पादन मात्र हो ।गणतन्त्रका पनि खरावी र कमजोरी हुन्छन् । यसलाई भीडतन्त्रले नियन्त्रण गर्न सक्छ । तर यसको उपचार पनि गणतन्त्रले नै गर्छ, गद्दीबाट गलहत्याइएको र अचानु (गिलेटिन) मै किन मार हान्नु भनेर मानवीय कारणले छाडिएको माइलो ठकुरीले उपचार गरिदिनु पर्दैन । कांग्रेस, एमाले र माओवादी, मधेशवादीले नै गर्नुपर्छ पनि भनिरहनै पर्दैन । जनतालाई यत्ति कुरा थाहा भए पुग्छ ।
गणतन्त्र किन ल्याइएको हो ? किनभने, राजतन्त्र र त्यसका अवशेषले देश र जनतालाई बन्धक बनाए । विकास, प्रगति र समृद्धिलाई अवरोध गरे । जनतालाई कहीँ–कतै लाग्ने बाटोसमेत दिएन । पानीलाई थुनेर राख्छु भन्दै निकास बन्द गरेपछि के हुन्छ ? सहज जवाफ हो, पानीले पहाड पनि फुटाएर मार्ग पहिल्याउँछ । पानी बाहिर निक्लन्छ । हो, नेपाली जनता जागे र तिनको जनआन्दोलनले निरंकुशताको जलाशय भत्काइदिए । हिजोआज आन्दोलनको कोकोहोलो मच्चाउने जुन प्रचार गरिँदै छ, ती साह्रै निराश हुनुपर्ने विषय होइनन् । लोकतान्त्रिक गणतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइन्छ । तर, गम्भीर बन्नुपर्ने तीन वटा कुरा भने टड्कारै छन् । पहिलो, देशबाट युवा पलायन तीव्र गतिमा भइरहेको छ । युवासँगै मस्तिष्क पलायन पनि भइरहेछ । दोस्रो, राष्ट्रिय अर्थतन्त्र निर्माण हुन सकेको छैन । उद्योग बन्द हुन र खेतवारी बाँझिन थालेका छन्् । तेस्रो, राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुको सट्टा विदेशी रिसाउँछ कि खुसाउँछ भन्ने सोचले सरकारलाई गाँजेको छ । जबकि भारत, चीन, अमेरिका रिसाउँछन् भनेर खुम्चिने होइन । सबैसँग संवाद गर्ने हो, गफ होइन । संवाद बन्द भए मात्र समस्या विष्फोट हुन सक्छ । संवादको अभावमा छिमेकी भारतका प्रधानमन्त्री मोदी २४ करोड मुसलमानको मुद्दामा फासिष्ट भएको आरोप खेपिरहेछन् भने स्वाधीन भारतको महत्वपूर्ण अंग कांग्रेस पार्टीलाई निषेध गरेर आफैँ एक्लिएका देखिन्छन् । संवाद नै गणतन्त्रमा समस्या समाधान गर्ने उपाय हो, मनन गरौँ ।
गणतन्त्र दिवस, देशले आगामी वर्षको बजेट प्रस्तुत गर्ने महत्वपूर्ण दिन पनि हो । वर्षौंदेखि घाटाको बजेट प्रस्तुत हुने गरेको छ । जो किमार्थ उचित होइन । घाटा बजेट पूर्ति गर्ने सिद्धान्त छन् । ऋण लिएर घाटा बजेट पूर्ति गर्छु भन्नु थप दलदलमा भासिनु हो । यो ठीक होइन । सहायता लिएर पूर्ति गर्न खोज्नु अनुचित नै होइन तर मुख्य कुरा कसरी स्वाधीन अर्थतन्त्र निर्माण गर्ने ? भएका राष्ट्रिय उद्योग बेच्ने अनि राज्यले उद्योग चलाउनै हुँदैन भनेर भएभरका उद्योग कौडीको भाउमा बेची स्वाधीन अर्थतन्त्रको आधार निर्माण हुन्छ ? अमेरिका, चीन, भारत, रसियाले ठूला उद्योग चलाउँदैनन् ? अनि हामीले राष्ट्रिय उद्योगहरूमा लगानी गरेर सञ्चालन गर्नु पर्दैन ?
शक्तिको वरिपरि घुम्ने त उपग्रह मात्र हुन् । उपग्रहबाट ग्रहको स्वाधीनता संभव हुँदैन । वरिपरि भन्किइरहने झिंगा हुन् । मदन नभएको भए, मनमोहन एमालेमा अटाउँथे ? पहिलो वामपन्थी प्रधानमन्त्री बन्थे?
यसो नगर्नाको कारणले राज्य व्यापारमुखी भासमा जाकियो । देश सामान उत्पादन होइन, विदेशीका सामान ओसार पसार गर्ने संयन्त्र मात्र बन्यो । यो जटिल समस्या हो । अर्थमन्त्रीहरूले यत्तिसम्म पनि सच्याउन सकेनन् । अर्थशास्त्रको कखरा नबुझेको व्यक्ति अर्थमन्त्री बन्दाको पीडा हो यो । जिम्मेवारहरूले बुझुन्, अबुझ अर्थमन्त्रीबाट स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन ।न त संविधान ल्याउँदैमा देशका समस्या छुमन्तर हुन्छन् ! गणतन्त्र जोगाउनका लागि एक भएर वक्तव्य जारी गर्ने एमाले, कांग्रेस र माओवादी सुप्रिमोहरू स्वाधीन अर्थतन्त्रको आधार बनाउन र विकास गर्न किन एक भएर लाग्दैनन् ? नेताजीहरूले बुझुन्, जनता धनी भए मात्र सार्वभौमसत्ताको रक्षा हुन्छ । जनतालाई गरिब र हरितन्नम अवस्थामा राखिरह्यो भने मुलुक स्वतन्त्र रहँदैन ।
हाम्रा समस्या के हुन् ? तिनको पहिचान गर्नुको सट्टा नेताहरू विदेश घुमेको घुम्यै छन् । हाम्रो परराष्ट्रमन्त्री महिनाका तीन साता विदेश भ्रमणमा गए पनि ती भत्ता पचाउने दिन मात्र सावित भइरहेछन् । यसको बदलामा चिया÷कफी खुवाएर नेपालमा रहेका राजदूतहरू, विदेशी दातृ निकायलाई एकैठाउँमा बोलाई उनीहरूका नजरमा हाम्रा समस्या के हुन् र तिनको समाधान के गर्यो भने हुन्छ भनेर सोधखोज गरे हुँदैन ? समस्या औंल्याउन लगाऊँ, पहिचान गरौं र अनुसन्धानमा आधारित भएर अगाडि बढे हुँदैन ? कुनै बिचौलियाको सल्लाहमा होइन, अनुसन्धानमा आधारित भएर काम अगाडि बढाऔं । अनुसन्धान निकायलाई रिसर्च गर्न लगाउ, रिपोर्ट लिऊँ, के गर्ने के नगर्ने भनेर योजनाबद्ध काम अगाडि बढाउँदा हुँदैन ? प्राडाहरू– चैतन्य मिश्र, पिताम्बर शर्मा, विश्वम्भर प्याकुरेल, महेश आचार्य, सुरेन्द्र पाण्डेलगायत एक से एक नेपाली विज्ञहरूबाट विदेशी विश्वविद्यालयदेखि अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रहरूले अनुसन्धान गराइरहेछन् तर हाम्रा सत्तासीनहरू तिनलाई बाहिर राखेर उपग्रहरूपी हनुमानहरूलाई अगाडि पछाडि राखी घेरिइरहेका छन् । शक्तिको वरिपरि घुम्ने त उपग्रह मात्र हुन् । उपग्रहबाट ग्रहको स्वाधीनता संभव हुँदैन । वरिपरि भन्किइरहने अरु केही होइन, झिंगा हुन् । त्यसैले निर्वाचित नेतृत्व क्लवको नेताजस्तो सबैथोक आफैं मुठ्याएर बस्ने ठालुको फोटोकपी हुनुहुँदैन ।
सामूहिक नेतृत्वको विकास गर्ने चतुर ब्यक्ति मात्र नेता हो । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मदन भण्डारीले सक्षम र काविल व्यक्तिलाई नै अगाडि सारे । मनमोहन अधिकारीजस्तो कमजोर नेतालाई मदन भण्डारीले एउटा सिम्बोल नै बनाए । मदन नभएको भए, मनमोहन एमालेमा अटाउँथे होलान् ? पहिलो वामपन्थी प्रधानमन्त्री बन्थे होलान् ? अहिलेको एमालेको आधार बन्थे होलान् ?
देशका दुई शक्तिशाली पार्टी कांग्रेस र एमालेले गठबन्धन सरकार बनाएका छन् । तिनले यो सरकार बनाउनुअघि सात सूत्रीय सहमति गरेका थिए । तर, ती सूत्र कता हराए ? बरु गठबन्धन बनाउनेहरू नै अर्कोतिरबाट त्यसैलाई भत्काउन लागिरहेका छन् । राजनीतिक नेतृत्व अनुकूल नभएकाले नै यस्तो भद्रगोल देखिएको हुनुपर्छ नकि जेलमा बसेका नेताको नेतृत्व भएकाले जताततै भद्रगोल हुन पुगेको हो । गणतन्त्रलाई खतरा गणतन्त्र भट्याउनेबाटै छ, अरुबाट होइन । यसो नहुँदो हो त माइलो ठकुरीले यति छिटो टाउको उठाउन किमार्थ सक्दैनथे !
टिप्पणीहरू