एउटा भ्रष्टलोक नै खोलौँ न अब !
संसारमा अनगिन्ती लोक छन् रे ! त्यो भन्दा भिन्न, कतै नभएको एउटा नयाँ लोकको कल्पना गरौँ न अब । त्यो नयाँ लोकको नाउँ भ्रष्टलोक राखौँ । यो कलियुग हो । कलिमा छली गर्नेहरूकै राँइदाइँ बढ्छ । तिनीहरूकै शान, मान हुन्छ । तिनीहरूकै शासन, प्रशासन चल्छ । धर्म मर्छ । आजभोलि हरेक समाजका विभिन्न क्षेत्रमा अनाचार, व्यभिचार, पापाचार मौलाउँदै गएको छ । धर्मशास्त्रले कैयौँ युगअगाडि लेखेको कुरा ठीक हो कि जस्तो लाग्छ । किनकि यहाँ मूल ठाउँँहरूमै नैतिकता मरिसक्यो । संस्कार भत्कँदै, हराउँदैछ । जसले जे गरे पनि हुन्छ । राम्रो गर्नेको मन रुन्छ । नराम्रो गर्नेकै जय जय हुन्छ । जुनसुकै क्षेत्र हेरे पनि भ्रष्टहरूकै बिगबिगी छ । अह्रन, खटनपटन, हुँकार तिनीहरूकै छ । ऐन, नियम, कानुनअनुसार काम गर्ने मान्छे डराउनुपर्ने, यसविपरीत कार्य गर्नेले चाहिँ छाती फुलाएर हिँड्न पाउने अवस्था छ । ऐन, नियम, कानुन पुस्तकमा लेखिन्छ, व्यवहारमा लागु हुँदैन ।
समाजका हरेक क्षेत्रमा नैतिकता, इमानदारी, पारदर्शिता, सुशासन हराइसकेको छ । राज्यका हरेक संयन्त्रदेखि नागरिक तहसम्म, नेता, सांसद, मन्त्रीदेखि उच्चपदस्थ कर्मचारीसम्म कोही न कोही भ्रष्टाचारको कुनै न कुनै साङ्लोमा जोडिएको पाइन्छ । नजोडिए पनि नागरिक भ्रष्टहरूकै भ्रमको भुलभुलैयामा भुलिरहेका छन् : अभावले, दबाबले, प्रभावले । आशाले, लोभले, विवशताले । संविधान, ऐन, नियम, कानुन कसका लागि बनाइएको हो भनेर प्रश्न गर्नुपर्ने अवस्था छ । लुट्नेलाई ऐन, नियम, कानुनको मतलव नै छैन । ती नियमहरू पनि आफूअनुकूल बनाइन्छ । आफ्नो स्वार्थ हेरेर व्याख्या गरिन्छ । राज्य संयन्त्रहरूलाई आफ्नो अनुकूल प्रयोग र परिचालन गरिन्छ । विश्व परिवेश नै हेर्दा लाग्छ, इमान्दारहरू नै सामाजिक गतिका बाधक हुन् । कमजोर हुन् । समाजमा एडजस्ट हुन नसक्ने असामाजिक हुन् । मुलुक विकास नहुनुको गल्ती यिनीहरूकै हो । त्यसैले दुःख यिनीहरूले नै पाउनुपर्छ । किनकि यिनीहरू जहिले पनि संविधान, ऐन, नियम, कानुन नमान्नेहरूका लागि बाधक बन्छन् ।
लुट्ने, कागज मिलाएर कमिसन खाने कर्मचारी नै हाई हाई हुन्छ । घुस, कमिसन नखाने, प्रणाली बसाल्न खोज्ने कर्मचारीकै बद्नाम हुन्छ । घुस, कमिसन नखाने राष्ट्रसेवक नै असक्षम बन्छ । उसले स्याबासीको सट्टा बेइमानीको दर्जा पाउँछ । किनभने उसका कारण घुसखोरहरूको घुस रोकिन्छ । उसको नोट अफ डिसेन्टका कारण कमिसनखोरहरूको कमिसन गुम्छ । गलत कमाइको बाटो छेकिन्छ । करमाराहरूको हाइ हाइ हुन्छ । कर तिर्ने नै वाइ वाइ हुन्छ । कर नतिर्ने सज्जन हुन्छ, कर तिर्ने पटमूर्ख ठहरिन्छ । सधैँ चेक एण्ड ब्यालेन्समा मिल्नुपर्ने समानान्तर शासन र प्रशासनबिच नै गला जोडिएपछि जताततै लथालिङ्ग, जताततै भताभुङ्ग हुन्छ ।
कर नछल्ने व्यवसायी बुद्धू हो । कर तिर्ने व्यवसायी लाचार हो । प्रणालीअनुसार हकअधिकार माग्ने मानिस सोझो हो । लाटो हो । यस्तो अवस्थामा इमानदार व्यक्तिले कहाँ पाउँछ राम्रो ठाउँँ ? यहाँ त्यहाँ भन्ने कुरै रहेन अब । जुनसुकै क्षेत्रमा यस्तै उस्तै । प्रविधि, पूर्वाधार, शिक्षा, सञ्चारजस्ता विभिन्न क्षेत्रमा विकास भएको आजको युगमा पनि, एआइको जमानामा पनि भ्रष्टाचार गर्न डराएको छैन मान्छे । यो त सिंहदरबारसम्मको जीवनशैली नै बनिसकेको छ । त्यसैले जताततै भ्रष्टहरूकै राज भएकाले इमानदारहरूलाई पाखा लगाएर सबै संसारलाई जोडी भ्रष्टलोक बनाऔँ भन्ने मेरो प्रस्ताव हो । संविधान, ऐन, नियम, कानुन, निर्णयहरू उल्टो गतिमा चलिरहेको यो संसारलाई नै एउटा भ्रष्टलोक घोषणा गरौँ भन्ने मेरो अनुनयविनय हो । आत्मगत र वस्तुगत अवस्था परिपक्व भएको वर्तमान परिप्रेक्ष्यमा भ्रष्टलोक घोषणा गर्न ढिलाइ नगरौँ भन्ने मेरो अपील हो ।
त्यसकारण बरु अब यसो गरौँ । भ्रष्टाचारलाई वैधानिक बनाऔँ । भ्रष्टाचारी, कमिसनखोर, कामचोरलाई परोपकारी र बहादुर घोषणा गरौँ । टुप्पीदरबारदेखि पैतालादरबारसम्म, चर्पीदेखि संसद्सम्म, न्यायालयदेखि पञ्च भलाद्मीसभासम्म, पाकशालादेखि पाठशालासम्म, हरेक कर्मस्थलदेखि धर्मस्थलसम्म भ्रष्टाचार गर्नु पराक्रम हो भनेर लेखौँ । यसो गरे कमसेकम स्वयम् भ्रष्टहरूलाई नै द्विविधा, डर हुँदैन । यस्तो लोक भ्रष्टहरूको मात्रै होस् । भ्रष्टहरूले भ्रष्टमाथि मात्रै शासन, शोषण, अन्याय, अत्याचार गरुन् । यो लोकमा सदाचारी, इमान्दारहरूको कुनै भूमिका नहोस्, कुनै अवसर नदिइओस् । भ्रष्टहरूले नै सबैतिर कब्जा गरुन् । इमान्दारहरूलाई सबैतिर पाखा लगाइयोस् । ठूला भ्रष्टाचारीले साना भ्रष्टाचारीमाथि शासन गरुन् । यिनीहरूबीच मात्रै लडाईँ होस् । काटमार चलोस् ।
भ्रष्टलोकको मूल क्षेत्र राजनीतिलाई नै मानौँँ । यसैलाई नै सबै नीतिको राजा, राष्ट्रपति ठानौँ । यसैलाई भ्रष्टहरूको साझा घर बनाऔँ । यो तन्त्रमा केही गर्नुपर्दैन । बोलिदिए पुग्छ । आश्वासन बाँडिदिए पुग्छ । एकआपसमा मिल्न खोज्ने शक्तिहरूलाई भाँडिदिए हुन्छ भनेर प्रचार गरौँ । पत्रकारितामा पनि बार्गेनिङ गर्ने, थकाउनेहरूकै नाम र जय होस् । पत्रकार र सञ्चार माध्यमहरूलाई विकास, सुशासन, पारदर्शिता, आवाजविहीनहरूको आवाज बुलन्द गर्न होइन कि एकअर्कालाई खुइल्याउन, कुप्रचार गर्न, प्रपोगाण्डा मच्चाउन प्रयोग गरियोस् । एक भ्रष्टले अर्काे भ्रष्टविरुद्ध एजेण्डा सेटिङ गर्न, चरित्रहत्या गर्न प्रयोग गरौँ । यिनै पत्रकार र सञ्चार माध्यम पुरस्कृत हुन् । यिनैले सम्मान पाऊन् । शिक्षा शैक्षिक माफियाको हातमा होस् । स्कूल, कलेज, विश्वविद्यालय पढ्ने, पढाउने झन्झटै नगरौँ, नगराऔँ । त्यहाँ मात्र सर्टिफिकेट बनाएर बेचौँ । परीक्षा दिनैपरे चिट चोर्नैपर्ने अनिवार्य व्यवस्था लागू गरौँ । स्वास्थ्य स्वास्थ्य माफियाको कब्जामा होस् । स्वास्थ्य माफियालाई उकास्न चाहिए नचाहिएका औषधी बेच्न दिऔँ । निःशुल्क अस्पताल, मेडिकल खोल्न दिऔँ । गरीब बिरामीबाट मनलाग्दी रकम असुल गरौँ । सरकारी अस्पताल, हेल्थपोस्ट बन्द गरौँ । चिकित्सकहरूलाई निजी खोल्न दिऔँ । व्यापार, व्यवसायमा तस्कर, गलत धन्दा गर्नैकै हालिमुहाली होस् । इमान्दारहरूले न्याय नपाऊन् । खुलेआम रूपमै पैसा तिरेर न्याय बेच्ने–किन्ने विधि बसालौँ ।
शासन, प्रशासनलाई त्यति झन्झटिलो नबनाऔँ । साधुलाई सुली, चोरलाई चौतारोको व्यवस्था बसालौँ । तथ्य, सत्य, यथार्य बोल्नेको मुखमा भोटे ताल्चा लगाऔँ । यस्तो लेख्नेको हातमा हत्कडी लगाऔँ । सके जेलमा कोचौँ । झुट बोल्ने, लेख्ने गोयबल्सहरूलाई तक्मा, पदक, पुरस्कार दिऔँ । साहित्यमा पनि त्यही होस् । सुशासन, पारदर्शिता, मानवमुक्ति, शोषण, अन्याय अत्याचार, विभेद, असमानताका विरुद्ध साहित्य सिर्जना गर्ने साहित्यकार, लेखक, कविभन्दा व्यक्ति, पदको चाकडी, गुणगान, राष्ट्रद्रोह, शोषण, अत्याचार, विभेद, असमानता, भ्रष्टाचारको पक्ष र सुशासन, पारदर्शिता, मानवमुक्तिको विपक्षमा कलम चलाउने साहित्यकारलाई नै पुरस्कृत गरियोस् । दोसल्ला ओढाइयोस् । अवसरहरू दिइयोस् । कर्मचारीतन्त्रमा त भन्नै परेन । भ्रष्टहरूलाई सजिलो बाटो देखाउने, मिलेर खाने, पिउने, नाच्ने, गफ लडाउने, कामचोर, सुलसुले कर्मचारीलाई पुरस्कृत गरियोस् । ग्रेड दिइयोस् । सम्मान गरियोस् । बढुवा गरियोस् । यी गुण नभएका कर्मचारीलाई सबै अवसरबाट बञ्चित गरियोस् । धर्मभीरुहरूकै राज होस् । धार्मिक स्थलहरूमा पापीहरूको संरक्षण केन्द्र खोलौँ । सबै घर घरमा पनि भ्रष्ट छोराछोरी, आफन्त, परिवारको नाम र दाम होस् । इमान्दारलाई सधैँ भय होस् । यिनीहरूलाई जेलमै राखियोस् । वास्तविक दोषीहरूलाई खुला गरियोस् । जहाँ पनि दोषीहरूकै राज होस् ।
त्यसैले कुनै आन्दोलन, क्रान्ति, विरोध, विद्रोह गर्नुपर्ने जरुरी छैन अब यहाँ । बरु मन छ, भने इमान्दारहरूलाई पनि दिक्क लागिसकेको हो भने भ्रष्टलोकको सदस्यता लिऔँ । तिनीहरूसँगै बसेर पिऔँ । खाऔँ, रमाऔँ । अलि अलि नैतिकता बाँकी छ भने बेचौँ भ्रष्टलोकका पसलहरूमा ती नैतिकताहरू । यस्तो होस् कि भ्रष्टलोकमा जन्मँदा स्वर्गमा जन्मेजस्तो, त्यहाँ पुगेजस्तो अनुभूति होस् । गौरव छाओस् । मान्छेले जन्मनेबित्तिकै भ्रष्टाचारमा प्रतिस्पर्धा गर्न पाओस् । दौडेर प्रतिस्पर्धामा जित्ने लिगलिगकोटको राजा भएजस्तै भ्रष्टाचारको प्रतिस्पर्धामा प्रथम हुने नै शासन, प्रशासनको सर्वाेच्च पदमा पुगोस् ।
टिप्पणीहरू