अमेरिकाबाट डिपाेर्ट भएका सुवास भन्छन्- ‘तिरस्कार र लाजले भरिएको छु, आश मरेकाे छैन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कठोर आप्रवासन नीति अवलम्बन गरेपछि गैरकानुनी रुपमा त्यहाँ पुगेकाहरु धमाधम डिपोर्ट भइरहेका छन् । पछिल्लो पाँच महिनाभित्र डंकी रुट (तल्लो बाटो) हुँदै अमेरिका पुगेका डेढ सयभन्दा बढी नेपालीसमेत डिपोर्ट भइसकेको अवस्था छ ।
यसरी डिर्पोट हुनेहरु अधिकांशले आफ्नो परिचय र अनुभव सार्वजनिक गर्न रुचि नराखेको पाइन्छ र अमेरिका पठाउने व्यक्ति, कम्पनीविरुद्ध उजुरी पनि दिएका छैनन् । तर, दाङका सुवास शर्माले भने डिपोर्ट हुनुको मानसिक पीडा, समाजको व्यवहार र आगामी योजनाबारे आफ्नो भनाइ सार्वजनिक गरेका छन् ।
घोराही उपमहानगरपालिका-१२ का सुवास कुनै बेला पत्रकार थिए । जिल्लाको चर्चित सामुदायिक रेडियो मध्यपश्चिम र रेडियो प्रकृतिमा लामो समय काम गरेका उनी नेकपा (एमाले) निकट प्रेस चौतारी घोराही नगर कमिटीको पूर्व अध्यक्ष पनि हुन् । पत्रकारिता गर्दागर्दै दुबई हानिएका सुवास त्यहाँ पाँच वर्षभन्दा बढी काम गरेर पुनः स्वदेश फर्किए । र, फेरि पत्रकारितामै जोडिएका उनी एमाले राजनीतिमा फर्किए ।
राष्ट्रिय युवा संघको जिल्ला सचिवसमेत बनिसकेका उनी ऋण काढेर तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए । तर, त्यहाँ पक्राउ परेका उनलाई केही महिनाअघि अमेरिकाले अरु दुई दर्जन नेपालीसहित चार्टड विमानमार्फत् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएर छाडिदियो । उनै सुवासले अमेरिकासम्मको गैरकानुनी यात्रा र डिपोर्टबारे यस्तो अनुभव सार्वजनिक गरेका छन्:
०००
त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ । म नेपाल फर्किएको थिएँ । धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ । मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे । कसैले चिनेन । तर म आफैंलाई चिनिरहेको थिएँ — म अमेरिका पुगेको थिएँ । म संघर्षमा हारेको थिएँ । म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ । मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो ।
मैले किन अमेरिका रोजेँ ?
म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ । देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित । म पटक-पटक असफल भएँ । मिडियाबाट पाईला अगाडि बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन । स्रोत-साधन थिएन । समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ ।
"विदेश गइस् भने बल्ल केहि हुन्छ" भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे । मैले अमेरिका छानें । त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो । वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो । म मर्न चाहँदैनथेँ । म बाँच्न चाहन्थेँ । आफूलाई केही साबित गर्न चाहन्थेँ ।
यात्रा: आँधीभन्दा तीव्र र थकित
जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो — सबै पसे मेरो बाटोमा । मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो । लाग्यो, म अब फेरि जन्मिएँ । तर, त्यो आशा धेरै टिकेन । अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ । कोही भर्खर आएका, कोही अगाडि नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका ।
सबैका कथा उस्तै थिए — घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य: बाँच्ने । नियति मेरो पक्षमा थिएन । कागज थिएन । कानूनले मलाई अयोग्य ठहर्यायो । महिनौं हिरासतमा परेँ । अनि एक बिहान, एउटै कागज थमाइयो — "तिमी नेपाल फर्क । तिमी यो देशका हैनौँ ।"
फर्किनुको पीडा
न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्कँदै थिएँ,अझ भनौं फर्काईदै थिए, मेरो हरेक अंग लाजले पोलिरहेको थियो । मलाई लाग्यो, म हारेँ । मसँग न पैसा थियो, न ओज, न गौरव । म खाली थिएँ, रित्तो । त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो । पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन । बरु मिडियाले अनुहार देखाएर खबर बनायो — "गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए ।"
सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो । "अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, "डलर काड्न गएकाहरूको यस्तो हालत !" — भन्ने व्यंग्यहरू झन् मनमा चिर्छ । तर, यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ । न मलाई महल चाहिएको थियो, न गाडी । मलाई मेरो आत्मसम्मान चाहिएको थियो ।
समाजको निर्ममता
फर्किएपछि देखेँ — समाज अझै उस्तै छ । खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने । कोही सोध्थे, "अनि के ल्यायौ?" — जस्तो म किनमेल गर्न गएको थिएँ । कोही हाँस्थे, "नत्र किन फर्किन्थ्यौ त !" साथीहरू टाढा भए । आफन्तहरू मौन भए । म तिनका लागि गर्व होइन, चेतावनी बनेँ — "यस्तै हुन्छ रे विदेश जाँदा !"
तर, कसैले मेरो प्रयास देखेन । मेरो पीडा बुझेन । म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो ।
मेरो सपना, मेरो भविष्य :
म अमेरिका पैसाका लागि गएको थिइनँ । मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी बहिनीको बिहे गर्न । म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ । देशमा मजस्तो लाखौँ युवा छन् — जसले सपना देख्छन्, तर अवसर पाउँदैनन् । जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन ।
म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गाह्रो लागेको थियो । यहाँ मलाई मेरो क्षमताअनुसार उठ्न दिइएन । यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो । मेरो सफलता कसैलाई मन परेको थिएन । यहाँ 'ऊ माथि उठ्ला कि ?' भन्ने डरले मान्छेले सघाउँदैन । यहाँ साथीहरू आफैँ दु:खी हुन्छन् जब तिमी खुसी हुन खोज्छौ । मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ ।
फेरि सुरु गर्न सजिलो हुँदैन:
आज म नेपालमै छु । खाली हात फर्किए पनि मन खाली छैन । म बुझ्दछु — जिन्दगी हार-जितको खेल मात्र होइन, अर्थको खोज पनि हो । म अब फेरि केही सुरु गर्न चाहन्छु । सायद सानो व्यापार, सायद आफ्नै खेत । तर, हरेक बिहान मलाई लाग्छ — म अपराधी हुँजस्तो व्यवहार गरिन्छ । के म साँचै दोषी हुँ ? के म प्रयास गर्नु अपराध हो ? के देश छोड्नु देशद्रोह हो ?
यो देशको नीति कमजोर छ। विदेशिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना । न सरकार बोल्छ, न समाज बुझ्छ । हामी 'विदेश गएको=सफल' भन्ने भ्रममा छौँ । र 'फर्किएको=असफल' भन्ने झुटो परिभाषालाई गहिर्याइरहेका छौँ ।
मेरो बिन्ती :
तपाईंहरूसँग एउटै अनुरोध छ — फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए । उनीहरू हार्न चाहँदैनथे । उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे । तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन । कहिलेकाहीँ बाटोमा आँधी आउँछ । सपना च्यातिन्छ । रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो । त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ ।
अन्तिम शब्द:
म अमेरिका गएँ । फर्किएँ । विफल भएँ । तर म अझै बाँचेको छु । अझै सपनाहरू बाँकी छन् । समाजले ठानिरहेको छ, म सकिँएँ । तर मभित्र एउटा झिल्को बलिरहेको छ — जुन अब आफ्नो देशमै केही गर्नेछ । रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु । कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी ।
कृपया, मलाई अपराधी नबनाऊ । म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ । अब म यहीं छु — फेरि एउटा सपना बोकेर । यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर ।
टिप्पणीहरू