ज्ञानेन्द्रको भित्री कुरा राजेन्द्रले बुझेपछि

ज्ञानेन्द्रको भित्री कुरा राजेन्द्रले बुझेपछि

८६ वर्षका नवराज सुवेदीले तिखो बोले पनि, कमल थापाले आक्रोश व्यक्त गर्दै र राजेन्द्र लिङदेनले सदावहार शैलीमा सम्झाउन खोजे पनि खाँट्टी राजावादीहरु भने राजा ल्याउने गरी जनता नउठेको निश्कर्षमा पुगेका छन् । अर्थात् यही पाराले गणतन्त्र ढल्दैन र राजा ल्याउन गरिएको आन्दोलन पार लाग्दैन भन्नेमा राप्रपाका एक उपल्ला नेताको टिप्पणी छ । राजावादी समूहकै नेता पूर्वराजा ज्ञानेन्द्रमा बुद्धि नभएको र पूर्वपञ्चबीच कै बेमेलले स्थिति सन्तोषजनक नभएको टिप्पणी गर्छन् । 

‘ज्ञानेन्द्रको नवराजरूपी रसायनले राजेन्द्र, कमल, केशर कसैलाई पनि जोड्न सकेको देखिएन । उनै नेता भन्छन्– ‘यो विना तयारीको हुटहुटी मात्रै हो ।’ राजतन्त्र फर्काउनभन्दा पनि ज्ञानेन्द्रले थापा र लिङदेनलाई तर्साउनमात्रै खोजेको भनेर यो समूहभित्र कुरा हुन थालेको छ । 

‘ज्ञानेन्द्रको बुद्धि बुद्धि नभएरै राजतन्त्र गएको हो । प्रचण्डजीले ज्ञानेन्द्रका लातले सात दल गणतन्त्रसम्म पुगेका हुन् । अन्यथा हाम्रो मात्रै केही चल्दैनथ्यो भनेर बोलेकै हुन्,’ पुराना राजावादी नेता भन्छन्, ‘गिरिजादेखि माधवसम्मले प्रधानमन्त्री बन्न दरखास्त हालेकै थिए । पूर्व राजाको बढ्ता महत्वाकांक्षाले राजतन्त्र नै खरानी भयो ।’ ज्ञानेन्द्रले पछिल्लो समय ८६ वर्षका सुवेदीलाई टिपेपछि त झन् राजावादीबीच चरम बेमेलको स्थिति छ । ‘ज्ञानेन्द्रले सुवेदलाई अगाडि सार्नुको राहस्य राजतन्त्र फर्काउने होइन, राप्रपामा गुट खडा गर्ने रहेछ, यस्तो सोचले राजतन्त्र कसरी फर्केला ?’

उनै नेता भन्छन्, ‘चार दिनमा उनीहरूले मानिस उतार्नै नसकेपछि गणतन्त्रवादीलाई तर्साउनसमेत सकेनन् भन्ने निश्कर्ष हो ।’ गणतन्त्र घोषणाकै दिनलाई छायाँमा पार्न राजावादीले जनआन्दोलनको घोषणा जेठ १५ गतेबाटै गरेका थिए । ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्राको फोटो देखाएरसमेत राजावादीले आफ्नो आन्दोलनमा व्यापाक जनसहभागिता भन्नुपर्ने दिन आयो । एकातिर आउटडेटेड सुवेदीलाई नेता मान्नुपर्ने, अर्कोतिर हचुवाका कार्यक्रम आउन थालेपछि लिङदेन र थापा नै हायलकायल भएको एक नेताले जानकारी दिए । 

‘कमल थापा पक्राउ पर्नेबित्तिकै अवस्था नै नहेरी सुवेदीले आइतबार उपत्यका बन्द भनेर ठोकुवा गरिसक्नुभएको रहेछ । हामीले यो कुरा मिडियाबाट थाहा पायौं । आफूहरूबीच कुनै समन्वय नै नभएकोमा दुःख पोख्दै उनै नेता भन्छन्, ‘संयुक्त जनआन्दोलन संयोजन समितिका संयोजक सुवेदीले हठात बन्दको घोषणा गरिदिनुभएछ । घोषणा गरेर ब्याक हुनुपर्ने बन्दको निर्णयले हामीलाई टिकिसक्नु भएन । बन्द भइसकेको बन्द फेरि खोल्न खोजेकोमा राजावादी र राप्रपामाथि सामाजिक सञ्जालबाट निशाना लाग्न थालिसकेको थियो ।

लिङदेनले सामाजिक सञ्जालमै लेखेर बन्दमा सहभागी नहुने निर्णय सुनाए । यसले पनि उनी सुवेदीसँग आन्दोलनको मोर्चामा उभिन तयार छैनन् भन्ने दर्शाउँछ । खुलेरै राप्रपाका नेताहरूले बन्दको विरोध गरेपछि सुवेदी थप धरापमा परेका छन् । जेठ १९ दरबार हत्याकाण्ड भएको दिन हो । यसै दिनलाई शोकको रूपमा मनाउनुपर्नेमा राजावादीले उल्टै हचुवाको बन्द घोषणा गरिदिए । जसले स्थितिलाई झन् पेचिलो बनाइदियो । अनि उनीहरू दीप प्रज्वलन गर्ने तर सोमबार आन्दोलनका कार्यक्रम नराख्ने स्थितिमा पुगे । 

तारे होटलमा भात खुवाउनेदेखि नगरकोटमा बोलाएर ज्ञानेन्द्रले राजावादीलाई ऊर्जा भर्न लगाएकै हुन् ।  पछिल्ला दुई तीन महिना यताका यस्ता घटना छरपष्टै छन् । ज्ञानेन्द्रसँग राप्रपाले संस्थागत रूपमा आर्थिक सहयोग लिएको छैन । तर, नेता विशेषले भने खाम बुझेको एक नेताले सगर्व स्वीकारे । ‘पार्टीले ज्ञानेन्द्रबाट एक रूपैयाँ पनि लिएको छैन । व्यक्तिगत रूपमा भने मज्जैसँग लिएका छन् । ती नेताले भने, ‘पैसा कसले कति बुझेका छन् त्यो थाहा छ तर मिडियालाई भन्ने कुरा होइन ।’ 

राजा ढाल्छौं नै बजेर जनआन्दोलनको नाम दिए पनि राजावादीको आक्रोश भने गणतन्त्रवादीको व्यवहारप्रति छ । नियुक्तिमा मनोमानी, ओलीको छुच्चो र बिझाउने बोली उनीहरूलाई मन नपरेको बुझिन्छ । ‘नेताहरूको खानेसिवाय काम केही छैन । नियुक्तिमा झेलदेखि मोहम्मद आफताब आलमले अदालतबाट पाएको उन्मुक्ति हेर्दा वाक्क लाग्ने स्थिति छ, ‘ती राजावादीको तर्क छ, ‘वाम नेताहरूमा अरु सबैसँग उठबस भएकै छ । तर अहिलेसम्म राम्ररी नचिनेको ओलीलाई मात्रै हो । घरी के घरी के, यसैले राजावादीहरू उनीसँगै रुष्ट छन् ।’ मान्छे आन्दोलनमा नआएर राजावादी हत्तु भएका बेला गणतन्त्रवादी भने थप रक्षात्मक स्थितिमा देखिएका छन् । 

 

टिप्पणीहरू