न्याय मारिने देश, दवाव नबढी तात्दैनन् प्रधानन्यायाधीश

न्याय मारिने देश, दवाव नबढी तात्दैनन् प्रधानन्यायाधीश

राजनीतिक नेतृत्वसँग साँठगाँठ गरेर अदालतले रौतहट नरसंहारका मुख्य आरोपी मोहम्मद आफ्ताव आलमलाई सफाइ दिएको आम चर्चालाई बल पुग्नेगरी न्यायालयको स्वतन्त्र भूमिकामाथि संसदमा प्रश्न उठेको छ ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री र न्यायाधीशबीच मुद्दामा सेटिङ हुने गरेको गम्भीर खुलासा गरेका हुन् । आज प्रतिनिधिसभा बैठकमा उनले न्याय प्रभावित पार्न मन्त्रीले न्यायाधीशहरुलाई कल गर्ने गरेको प्रमाण आफूसँग भएको दाबीसमेत गरे ।

विगतमा लामो समय नेपाली काँग्रेसको राजनीति गरेका सिंहले संसद्को रोष्ट्रममा उभिएर भने, 'म सुन्दै आइरहेको छु कि कानुनमन्त्री बिहान बिहान कसैको मुद्दा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ । उच्चमा मुख्य न्यायाधीश र सर्वोच्चका न्यायाधीशहरुलाई फोन गर्नुहुन्छ', उनले भने, 'त्यसकारण म माग गर्छु कानुनमन्त्रीको कल डिटेल्स बाहिर आओस् ।'

मन्त्री चौरसियाको कल डिटेल्स सार्वजनिक गर्न माग गर्दै उनले न्यायाधीशलाई फोन गर्न नपाइने बताए । कल डिटेल्स ल्याएर आफूलाई गलत सावित गर्न चुनौती दिँदै सांसद सिंहले गल्ती भए पद त्याग्न तयार रहेको स्पष्ट पारे । कानुनमन्त्रीले सिधै जिल्ला र उच्च अदालतका न्यायाधीशलाई फोन गरेकाले अब न्यायपरिषदको औचित्य सकिएको उनको भनाई छ ।

प्रमाण प्रस्तुत छ श्रीमान्, थप नहुनु है बदनाम

जननिर्वाचित सर्वोच्च थलो संसदको रेकर्डमा रहनेगरी सांसदले नै मन्त्री र न्यायाधीशबीच मुद्दामा सेटिङ हुने गरेको दाबी गरिरहँदा यता आलमलाई चोख्याउने न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई न्याय परिषदले छानविनमा तानेको छ । आज बसेको परिषद् बैठकले छानबिन समिति बनाएर उनीहरुमाथि अनुसन्धान थाल्ने निर्णय गरेको हो । निर्णयमा कानुनमन्त्री चौरसियाले भने फरक मत राखेको बताइएको छ । आलमलाई उम्काउने न्यायाधीशलाई काँध थापेको स्थितिले पनि अमरेशको आरोपमा दम देखिन्छ । 

त्यसो त, शेरबहादुर देउवाको चाहनाअनुसार कानुनमन्त्रीले न्यायाधीश थारूलाई विशेषबाट उच्च अदालत जनकपुरअन्तर्गत वीरगन्ज सरुवा गरी आलमको मुद्दामा अनुकूल आदेश गराएको भन्नेहरु धेरै छन् । 'रूख छापे न्यायाधीश' भनी चिनिएका आरजु राणा निकट उनलाई मात्र विशेष अदालत बबरमहलबाट झिकेर गत फागुनमा उच्चमा लगिएको थियो । जबकि सामान्यतः असर मसान्तमा मात्रै न्यायाधीश सरुवा हुने अभ्यास छ ।

न्यायाधीश राजनप्रसाद भट्टराई, हरिप्रसाद पौडेल,हरिराज कार्की,निलम पौडेल,मोहनराज भट्टराई र ऋषिराम निरौलाहरुको बेञ्चमा ०८१ मंसिर ५ गतेदेखि पेशी पर्दा पुस ३, माघ २३, फागुन २१, चैत १३, वैशाख ३१ गरी सरकारी र आलमका वकिलमार्फत पटक–पटक हटाइएबाट पनि यो मुद्दामा ठूलो साँठगाँठ भएको पुष्टि हुन्छ । 

खुशीप्रसाद तिनै न्यायाधीश हुन्, जसले विशेषमा हुँदा ललिता निवास जग्गा घोटालामा कांग्रेस नेता विजयकुमार गच्छदार (थारु) लाई चोख्याएका थिए । न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाले नमान्दा नमान्दै अनेकतिरको दवाव लगाएर राति अबेर गच्छदारलाई ‘सुनपानी छर्किने’ निर्णय उनकै बलमा सुनाइएको थियो । त्योबेला पनि विशेषका छमध्ये पाँच जना न्यायाधीश सरुवा हुँदा थारुलाई मात्रै त्यहाँ राखिएको थियो ।

प्रकाश श्रीमान, पीडितकाे आँशुले पाेल्दैन तपाईलाई ?

टिप्पणीहरू