चितवनमा यात्रुबाहक बस र इभी गाडी ठोकिँदा सात जनाको मृत्यु, २४ जना घाइते

आज बिहान चितवनको राप्ती–४मा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको जानकारीमा आएको छ । अन्य २४ जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले बताएको छ ।
बिहान करिब सवा १० बजेको समयमा पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको गाडी ठक्कर खाँदा त्यत्रो हताहती भएको हो ।
घाइतेहरुको उपचारको क्रममा भरतपुर अस्पतालमा पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, मकवानपुरकै हेटौंडा–५ बस्ने वर्ष ५३ की मैयाँकुमारी न्यौपाने पहाडी, रौतहट चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरी, इभी चालक हेटौंडा–१० बस्ने राजु थिङ र नामथर वतन नखुलेकी अर्की १८/१९ वर्षकी महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पुरानो मेडिकल कलेजमा दुईजना नामथर वतन नखुलेका ३०÷४० वर्षको पुरुष र ३०/३५ वर्षीय गर्भवती महिलाको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालका अनुसार अहिले मकवानपुर हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा (मध्यम), मकवानपुर हेटौंडा–१२ का वर्ष ३२ को सिंहबीर घलान (मध्यम), हेटौंडा–४ का ३१ वर्षीय विष्णु लम्साल (मध्यम) र हेटौंडा ८ बस्ने वर्ष ३४ की गंगा घलान (अवस्था–गम्भीर) को एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
झापा गौरादह–९ की ६५ वर्षीया सुशीला बराल (नाकमा मध्यम चोट), झापा गौरादह–९ कै ६७ वर्षीया उमा बराल (सामान्य), कञ्चनपुर बेलौरी–४ का ४८ वर्षीय वीरबहादुर जैसी (मध्यम) र रुकुमपश्चिम आठबिसकोट–९ का ३० वर्षीय सन्देश ओली (सामान्य) को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको डिएपसी खनालले जानकारी दिए ।
अन्य सामान्य अवस्थाका घाइतेहरुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । जसमा अछाम साँफेबगर–१० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत, कैलाली लम्कीचुहा–८ बस्ने ४५ वर्षीय जम बुढा, कञ्चनपुर पुनर्वास–६ की ७० वर्षीया चन्द्रकुमारी थापा, झापा गौरादह–६ बस्ने ७० वर्षीया टिका न्यौपाने, कञ्चनपुर पुनर्वास–६ का ६९ वर्षीय जमबहादुर थापा, कैलाली गौरीगंगा–११ बस्ने ३२ वर्षको सुरेश बोगटी, कैलाली लम्कीचुहा–१ का वर्ष ३७ को लोकेन्द्र बुढा, कैलाली लम्कीचुहा–१ का ४८ वर्षीय बलसिंह बुढा, रौतहट चपुर–७ का ४५ वर्षीय बुलटन साह कानुको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । यसैगरी, मकवानपुर बकैया–४ की २६ वर्षीया अनिसा घिमिरे, कालिकोट पलाँता–४ का ५३ वर्षीय रत्न बुढा, झापा दमक–८ की ८३ वर्षीया लक्ष्मी पौडेल, झापा मेचीनगर–१५ बस्ने वर्ष २३ को प्रवेश सौरेन, सप्तरी राजविराज–५ का ५६ वर्षीय श्रीचन्द्र राय, कैलाली गोदावरी–४ का वर्ष ३४ को महेश चौधरी र मोरङ बेलबारी–७ का २७ वर्षीय सुमन चौधरीको पनि सामान्य हालतमा चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण यहाँ केही बेर बाटो अवरोधसमेत भएको थियो । दुर्घटनाग्रस्त सवारी साधनलाई क्रेन बोलाएर हटाई सम्बन्धित सबैलाई सम्झाइबुझाइ गरी करिब १२ बजेतिर दुवैतर्फ बाटो सुचारु गरिएको चितवन प्रहरीले बताएको छ।
टिप्पणीहरू