काठमाडौँमा सिजाङ सांस्कृतिक सप्ताह शुरू, एक चीन नीतिप्रति उपाध्यक्षको प्रतिबद्धता

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौँमा 'सिजाङ सांस्कृतिक सप्ताह' शुरु भएको छ । तिब्बत मिडिया ग्रुपको आयोजनामा आज विशेष समारोहबीच सप्ताहको औपचारिक शुभारम्भ गरियो ।

तीन दिनसम्म चल्ने सांस्कृतिक सप्ताहको राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ (तिब्बत) अन्तर्राष्ट्रिय सांस्कृतिक संघका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन समारोहमा तिब्बती पहिचान झल्किने बिबिध सांस्कृतिक प्रस्तुतिका साथै फोटो प्रदर्शनी गरिएको थियो । 

त्यस्तै, तिब्बतको भौगोलिक विविधता, कला संस्कृति र भेषभूषा सम्बन्धी वृत्तचित्र पनि देखाइयो । समारोहमा नेपाल-तिब्बत सम्बन्धका बिबिध आयामबारे चर्चा गरिएको थियो। 

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले दुई देश र विशेषत: तिब्बतसँगको सम्बन्धका ऐतिहासिक पक्ष कोट्याउँदै सांस्कृतिक सप्ताहले सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरिन् । चीन नेपालको असल मित्र हुनुका साथै बलियो आर्थिक साझेदारसमेत रहेको उल्लेख गर्दै उनले यहाँको विकासमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको धारणा राखिन् ।  

उपाध्यक्ष घिमिरेले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता पनि दोहोर्याकी छन् । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले गरिबी निवारणमा हाँसिल गरेको उपलब्धिको प्रशंसा गरिन् । राजदूत छन सोङले चिनियाँ जनताको चाहनाअनुरूप विकास र समृद्धिको यात्रामा अघि बढिरहेको जानकारी दिए।

कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष अवसरमा मंगलबार सिजाङको कला संस्कृति झल्काउने फोटो प्रदर्शनी पनि आयोजना हुँदैछ । नेपाल-चाइना मिडिया फोरमले पाटन दरबार स्क्वायरमा फोटो प्रदर्शनी गर्न लागेको हो ।

तस्बिरहरु:

टिप्पणीहरू