भित्र वैरागीकाे कुरा, बाहिर रविकाे

भित्र वैरागीकाे कुरा, बाहिर रविकाे

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच आज सिंहदरबारमा भेट भएको हो । 

भिजिट भिसा प्रकरणमा सरकारले माओवादीसँग गरेको दुई बुँदे सहमति र हिजो गठन गरेको छानविन समितिको औचित्यबारे छलफल भएको बताइएको छ । पूर्व मुख्यसचिव शंकरदास वैरागी नेतृत्वको सात सदस्यीय छानविन समितिले तयार पार्ने प्रतिवेदन चित्त बुझ्दो नभए त्यसमा पुर्नविचार गर्न सकिनेबारे पनि छलफल भएको बुझिएको छ ।

छलफलमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालको समेत सहभागिता थियो । 

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म प्रयास गरेको बताउनुभएको छ । संसद भवनबाट निस्कदै गर्दा सञ्चारकर्मीको प्रश्नमा उहाँले यस्तो जवाफ दिनुभएको हो ।

‘थुनामा रहेका रवि लामिछानेको विषयमा तपाईको धारणा के हो ?’ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘यसमा अहिले पनि उहाँहरूलाई धेरै भन्न चाहन्न, रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिम समयसम्म प्रयास गरेको छु, अझै गर्दैछु, रास्वपाका साथीहरूले एकदिन बुझ्नुहुन्छ ।’

टिप्पणीहरू