पत्रकारमाथि खनिएका माओवादी नेताविरुद्ध सामाजिक सञ्जालमा खोइरो

आफू केही गर्न नसक्ने र अरुमाथि दोष थुपार्ने प्रवृत्ति नेपाली राजनीतिमा पुरानै हो । पदमा हुञ्जेल जिल्ला र मतदाता भुल्ने, पदबाट निस्किएको भोलिपल्टदेखि यो र त्यो भनि अभिव्यक्ति दिँदै हिँड्ने विषय नौलो होइन । रोल्पामा आफ्नो अक्षमता पत्रकारमाथि थोपरेर एकजना नेतामाथि पानी माथिको ओभानो बनेको आरोप लागेको छ ।
नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभा सदस्य तथा तत्कालीन प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले उक्त प्रयास गरेको बताइन्छ । उनले देश विकास नहुनुको सबै दोष पत्रकारमाथि थुपार्दै नेता, मन्त्री, उद्योगपतिको मात्र चाकडी गरेको र जनताको आवाजलाई ठाउँ नदिएको बताएपछि सामाजिक सञ्जाल रंगिएको छ ।
सुनछहरी गाउँपालिकाको अठारौं अधिवेशनमा बोल्दै महराले भने, ‘मन्त्रीको समाचार बनाउँछ, एउटा उद्योगपतिको समाचार बनाउँछ, माथिमाथि के–के गरेको छ त्यसको समाचार बनाउँछ हाम्रो मोफसलका पत्रकारहरुले । यो बाटाका पोलहरु ढलिरहेका छन्, कुन मिडियाले प्रकाशन गर्यो ? मैले चुनावको बेलादेखि भन्या छु, ए पत्रकार साथीहरु यो फोटो खिचेर त हाल, यति काम हुन्छ, अप्ठेरा बाटा छन् फोटो खिचेर हाल । अहँ अनि केको पत्रकारिता गर्ने ? मालिकको सोझो गर्नका निम्ति पत्रकार मित्रहरु पत्रकारिता नगर्नू ।’
उनको सोही अभिव्यक्तिको चर्को विरोध भएको छ । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,‘यो सानो महरा के चुमुक चुमुक हो ? तिनले देखेपछि समाधान गर्नुपर्दैन ? यस्तै समस्या समाधान गर्लान् भनेर त चुनाव जिताको होलान् नि ।’
त्यसैगरी, कमल घर्तीमगरले पत्रकारलाई गाली गर्नुभन्दा पनि जनतालाई राम्रो काम गरेर देखाउँदा उत्तम हुने बताएका छन् । ‘पत्रकारलाई गाली गर्नुभन्दा मन्त्री, नेताज्यूहरुले जनतालाई राम्रो काम गरेर देखाउँदा हुँदैन ?’ महराको भनाइ नैतिकहीन भएको नवीन लोप्चन मगरको ठहर छ ।
लेख्छन्,‘जनताले तपाईँहरुलाई यस्तै समस्या समाधान गर्नुहोला भनेर भोट दिएर जिताउने अनि कामचाँहि पत्रकारले गरिदिनुपर्ने ? पत्रकारले लेख्ने भनेको जोखबहादुर र उडविरहरुलाई दबाब दिन लेख्ने हो । तपाईँहरुलाई सबै कुरा थाहा रहेछ त काम गरे हुँदैन ? जनताको करबाट तलबभत्ता खाने, जनताको मतबाट शासक बन्ने अनि गाली चाँहि पत्रकारलाई ? यो त तपाईँहरुको नैतिकताहीन काम भयो ।’
महरा विगत लामो समयसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिव थिए ।
टिप्पणीहरू