बाबुराम ‘जोगीहरु’सँग आक्रोशित

बाबुराम ‘जोगीहरु’सँग आक्रोशित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न सरकारले ‘हाँस्यास्पद समिति’ बनाएको टिप्पणी गर्नुभएको छ । पूर्व प्रमुख कर्मचारीको नेतृत्वमा वहालवाला कनिष्ठ कर्मचारी भरेर बनाइएको उक्त समितिबाट सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेताहरुको राज्य दोहनकारी र छलकपटपूर्ण हर्कत उदाङ्गो बनेकाे उहाँकाे विश्लेषण छ ।

सोमबार साँझ बसेको क्याविनेटले पूर्व मुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा सात सदस्यीय छानविन समिति बनाएको पृष्ठभूमिमा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । 

‘जनयुद्ध शुरू गर्नु पहिले हामी तत्कालीन राजतन्त्रसहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसलु भनेर भण्डाफोर गर्थ्यौं’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘तर आज जनताको त्यत्रो बलिदानीपूर्ण संघर्षपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई पुराना जोगीमाथि एक नयाँ जोगी थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्दि (कमन सेन्स)माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन सक्दैन।’

पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले ‘ठूला टाउका’ जोडिएको सबै काण्डको छानबिन गर्नुपर्ने माग समेत राख्नुभएको छ । उहाँकाे आक्रोश छ, ‘अब भिजिट भिसा प्रकरण मात्र हैन, यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरणलगायत सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली, उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्रमार्फत् छानबिन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कार्वाही गरिनुपर्छ।’

भिजिट भिसा छानबिन समितिलाई नौ बुँदे कार्यादेश

रास्वपा र राप्रपालाई छानविन समिति अमान्य

हाकिम हुँदा माओवादी, छोडेपछि कांग्रेस

टिप्पणीहरू