मान्छे फरार, पत्र आउँछ बारम्बार

मान्छे फरार, पत्र आउँछ बारम्बार

बेनी नगरपालिका–८ स्थित कुमारी सहकारीका अध्यक्ष यामबहादुर रोकालाई प्रहरीले खोजेको गएको २०८१ माघ २० गतेदेखि हो । कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रोकालगायत २५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । मंगला गाउँपालिका–३ को वडाध्यक्षसमेत रहेका रोकालाई प्रहरीको रेकर्डअनुसार भेट्नै नसकेको भन्ने देखिन्छ । तर, उनले नै हरेक महिना सरकारी लेटर हेडमा वडासदस्यलाई कार्यवाहक दिँदै मंगला गाउँपालिका, जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालपोत कार्यालय म्याग्दीलाई पत्राचार गरिरहेको पाइएको छ । 

अध्यक्ष रोकाले २०८१ माघ २३ गते लेखेको पत्र गाउँपालिकामा २३ गते नै १९६० नम्बरमा दर्ता भएको थियो । त्यस्तै फागुन २ गतेको पत्र ६ गते दर्ता कितावमा दर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए । यसरी चैत १ गते, चैत ३१ गते र २०८२ को जेठ १ गते गरी पाँच पटक पत्राचार भएको छ । आफू बाहिर रहन पर्ने भएकाले अध्यक्षले गर्ने कामकाजको अधिकार वडा सदस्य भेषकुमारी पुनलाई तोकिएको पत्र थमाइएको छ ।

म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले २०८१ माघ २० गते बचत अपचलन आरोपमा पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेपछि त्यो मुद्दामा जोडिएका र हालसम्म सम्पर्कमा नआएका सबै सोही दिनदेखि नै फरार रहने बताए । ‘माघ २० गते पाँच जना पक्राउ र त्यस पछि फागुन १५ गते जिल्ला अदालतमा अभियोजन दर्ता भयो, २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि २५ गते बाँकी १९ जना बिरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ ।’ चैत ४ गते यामबहादुर रोकाको घरमा पुर्जी टाँसिएकाले उनी सबैलाई जानकारी भएकै फरार अभियुक्त हुन् उनले जानकारी दिए। 

मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्मा इमेलमा पत्र आयो, आएको पत्र प्रिन्ट गरेर दर्ता गरिएको प्रतिक्रिया दिँदै भन्छन्– ‘कार्यालयमा प्राप्त सबै पत्र दर्ता गर्नुपर्छ र हामीले त्यही गरेका हौं, पत्र प्राप्त भएको रेकर्ड अध्यावधिक त गर्नै पर्‍यो नि !’

जिल्ला प्रहरी कार्यालय म्याग्दीका नायव उपरीक्षक(डिएसपी) सूर्यबहादुर थापाले प्रहरीले खोजी गरी रहेको भए पनि फेला नपरेको बताए । उनले आफूहरू यामबहादुर रोका मात्रै नभएर कुमारी सहकारीको फरार सूचीमा रहेका १९ जनालाई नै खोजी गरिरहेको भए पनि फेला पार्न नसकेको बताए । प्रहरीले खोजी रहेको भए पनि फेला नपरेकोले यसै भन्न नसकिने उनको तर्क थियो ।

वडाअध्यक्षको कार्यवाहक पाएकी भेषकुमारी पुनले भने आफूलाई अध्यक्षले फरक–फरक नम्बरबाट फोन गर्ने गरेको बताउइन् । कार्यवाहकको पत्र पाउँछु उहाँको फोन आउँछ तर उहाँ कहाँ हुनुहुन्छ थाहा भएन– पुनले भनिन् ।कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहकारी ठगीसम्बन्धी मुद्दामा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बेनी नगरपालिका १ का राजकुमार थापासहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । २०८१ फागुन १८ गते आइतबारदेखि शुरु भएको बयान तथा २२ गते बुधबारसम्म भएको थुनछेक बहसपछि कुमारी सहकारीका पूर्वउपाध्यक्ष थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकेश भन्ने लोकबहादुर पुनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

सहकारी रजिष्ट्रार कार्यालय पोखराको पत्रअनुसार गत माघ २० गते पाँच जनालाई समातेको प्रहरीले फागुन ७ गते थप १ जनालाई गिरफ्तार गरेको थियो । प्रहरीले सर्वसाधारण बचतकर्तालाई आह्वान गरेको निवेदनअनुसार ६३६ जना बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए । 

कूल एक अर्ब १३ करोड ३३ लाख ९९ हजार ३० रुपैयाँ विगो दावी गर्दै सरकारी वकिल कार्यालय म्याग्दीले गत १५ गते जिल्ला अदालत म्याग्दीमा अभियोजन दर्ता गरेको थियो ।  उच्च अदालत बागलुङ इजलासले उनीहरू पुर्पक्षविरुद्ध गएकोमा जिल्लाकै आदेश सदर गरेको छ । 

  – अमृत बास्कुने

टिप्पणीहरू