माधवविरुद्ध मुद्दा, देउवा र प्रचण्डको चर्चा

माधवविरुद्ध मुद्दा, देउवा र प्रचण्डको चर्चा

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध मुद्दा दायर गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको एउटा पूरानो अभिव्यक्ति चर्चामा आएको छ । पतञ्जलीका संस्थापक स्वामी रामदेव र आचार्य बालकृष्णलाई जग्गा उपलब्ध गराउन प्रतिबद्धता जनाएको अभिव्यक्ति यतिबेला पुनः चर्चामा छ ।

२०७८ मंसिरमा पतञ्जली नेपाल टिभी र आस्था टिभीको संयुक्त उद्घाटनका लागि राजधानीमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । रामदेव र आचार्य बालकृष्ण सहभागी कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो, तत्कालीन प्रधानमन्त्री देउवा । त्यतिबेला देउवाले रामदेवको खुलेर प्रशंसा मात्र गर्नुभएन, आवश्यक सहयोग गर्ने उद्घोषसमेत गर्नुभयो । 

‘बाबा रामदेवले नेपालमा धेरै काम गर्न खोज्नुभएको छ, नेपालमै आयुर्वेदिक औषधि उत्पादन गर्न खोज्नुभएको छ’, देउवाले भन्नुभएको थियो, ‘उहाँलाई काम गर्न केही समस्याहरु भएको थाहा पाएँ, आयुर्वेदका विरुवा लगाउन जग्गा जमिन उपलब्ध गराउने कुरा होस् वा उत्पादन र परीक्षणका लागि आवश्यक पर्ने सहयोग, सरकारको तर्फबाट त्यो हुनेछ ।’

सभापति देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपालमा आइरहन पनि आग्रह गर्नुभएको थियो । ‘उहाँले नेपाललाई ठूलो सहयोग र गुण लगाउनुभएको छ, नन प्रोफिट संस्थाका लागि सरकारले तपाईंलाई सँधै सहयोग गर्नेछ, बरु नेपाल आइरहनुस्’, उहाँले थप्नुभएको थियो ।

कुनै बेला रामदेवलाई ‘रुढीवादी पात्र’ भन्नुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सोही कार्यक्रममा विशिष्ट अतिथि हुनुहुन्थ्यो । उहाँले त्यो दिन रामदेवको कार्यक्रममा सहभागी हुनुको कारणबारे खुलाउनुभएको थियो । ‘मलाई कता कता लागेकै हो, उहाँ (रामदेव) अलि रुढिवादी, अलि बढी परम्परावादी हुनुहुन्छ होला, तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदोरहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ’, प्रचण्डको विचार थियो ।

अख्तियारले अध्यक्ष नेपालविरुद्ध मुद्दा दर्ता गरेकै दिन गत जेठ २२ गते अपरान्ह सभापति देउवा र प्रचण्डबीच आकस्मिक फोन संवाद भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले फोन संवादबारे जानकारी दिँदै भन्नुभयो, ‘देउवाजी आफैंले मलाई फोन गरेर माधव नेपालमाथि मुद्दा लगाएछन्, के कसो हो भनेर सोध्नुभयो । गठबन्धनमा भएको शीर्ष नेताले नै मलाई सोधेपछि एकछिन अचम्म पनि लाग्यो । त्यसपछि मैले माधवमाथिको मुद्दाबारे त तपार्इंलाई पो थाहा हुनुपर्ने त भनेँ । भनेपछि देउवासँगको सल्लाहमा यो मुद्दा दर्ता गरिएको होइन रहेछ, यसकारण पनि माधवजीको मुद्दामा राजनीतिक प्रतिशोधको गन्ध आएकै छ ।’

टिप्पणीहरू