चितवनका १५ वटा कन्सल्टेन्सी बन्द गरिँदै

चितवनका १५ वटा कन्सल्टेन्सी बन्द गरिँदै

चितवनमा अवैधरूपमा कन्सल्टेन्सी चलाउनेहरुको बिगबिगी देखिएको छ । जिल्लामा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने करिब डेढ दर्जन संस्थाहरु गैरकानुनी ढंगले सञ्चालनमा रहेको खुलेको हो ।

जसमा भरतपुर–३ शहीदचोक स्थित टोकियो माचुरी एजुकेशन कन्सल्टेन्सी प्रालि, भरतपुर–१० मा रहेको एइसीसी ग्लोबल प्रा.लि. काठमाडौं, भरतपुर–१० कै खुशी एजुकेशन सेन्टर प्रालि, भरतपुर–११ को गोल्डस्टोन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी, भरतपुर–१ स्थित ड्रिम्स केयर एजुकेशनल कन्सल्टेन्सी प्रालि र भरतपुर–१० को गोरेटो चितवन प्रालि छन् ।

त्यस्तै, खैरहनी–८ को म्याजिक एजुकेशन फाउण्डेसन प्रालि, भरतपुर–१० को चितवन इन्टरनेशनल कन्सल्टेन्सी, भरतपुर–३ को अक्सफोर्ड एकेडेमिया चितवन प्रालि, रत्ननगर–१ स्थित प्राउड एजुकेशन कन्सल्टेन्सी, भरतपुर–२ मा सञ्चालित शिम्बा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट प्रालि, भरतपुर–४ मा रहेको भिटो एजुकेशनल कन्सल्टेन्सी, भरतपुर–१ को चितवन इन्फोसिस एजुकेशन कन्सल्टेन्सी, भरतपुर–१० को सेन्टर एजुकेशन मिसन र भरतपुर–३ को मेट्स एजुकेशन प्रालि पनि गैरकानुनी देखिएको छ ।

जिल्लामा सञ्चालनमा रहेका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण गराउने संस्थाहरुबाट प्रशिक्षण र परामर्श गराउनुपर्नेमा केही संस्थाले प्रचलित कानूनले तोकेका कार्यहरु बाहेक भिसा प्रोसेस गर्ने, जब ग्यारेन्टी गर्ने, ट्राभल एजेन्सी र सहकारी संस्थाहरुसँग मिलेमतो गरी नक्कली कागजात बनाएको, मेनपावरले गर्ने काम व्यक्तिगत र संस्थागत रुपमै गरेको भन्ने उजुरी जिल्ला प्रशासन कार्यालयमा परेको थियो ।

 
यस सम्बन्धमा आवश्यक विवरण अद्यावधिक गरी सात दिनभित्र कार्यालयमा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय चितवनले गत असार ८ गते अत्यन्त जरुरी सूचना निकालेको थियो । सोअनुसार जिल्ला प्रशासन कार्यालयमा प्राप्त दर्ता नभएका यी १५ वटा कन्सल्टेन्सीहरुलाई तत्काल बन्द गराउन लागिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले जानकारी दिए । 

यसका लागि नेपाल प्रहरीलाई पत्राचार भइसकेको पनि सिडिओ कार्यालयले जानकारी गराएको छ ।

टिप्पणीहरू