चौधरीले काटे फेरि अर्कै चेक

चौधरीले काटे फेरि अर्कै चेक

नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री मेटमणि चौधरीले आफूविरुद्धको चेक अनादरसम्बन्धी जाहेरी फिर्ता गराउन अर्को चेक काटेका छन् । 

निर्माण कम्पनी चलाउँदै आएका रोल्पाका धात बुढामगरले असार पहिलो साता चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए । पाँच करोड ४० लाखको चेक अनादरसम्बन्धी उक्त जाहेरीमाथि कारवाही शुरु हुनै लाग्दा उनले जाहेरकर्तालाई दुई करोड ७० लाखको अर्को चेक दिई जाहेरी फिर्ता गर्न लगाएका हुन् । 

स्रोतका अनुसार चौधरीले मगरलाई बाँकी रकम बराबरको जग्गा दिने लिखित सम्झौतासमेत गरेका छन् । जानकार स्रोत भन्छ, ‘उहाँ (चौधरी)ले साउन मसान्तमा साटिनेगरी अढाइ करोडको चेक दिनुभएको छ,बाँकी जग्गामा मिलाउने कुरा छ।’

पाँच करोड ४० लाखको चेक अनादरसम्बन्धी उक्त जाहेरीमाथि कारवाही शुरु हुनै लाग्दा उनले जाहेरकर्तालाई दुई करोड ७० लाखको अर्को चेक दिई जाहेरी फिर्ता गर्न लगाएका हुन् ।

जनाईएअनुसार नेकपा एसका उपमहासचिव तथा प्रमुख सचेतक रहेका चौधरीले शहरी विकासमन्त्री हुँदा विभिन्न आयोजनाको ठेक्का मिलाइदिने भन्दै मगरबाट साढे पाँच करोड रकम एडभान्स लिएका थिए । तर, ठेक्का दिलाउन नसकेपछि विवाद शुरु भयो । मगरले तारन्तार पैसा फिर्ता माग्न थालेपछि चौधरीले गत वर्ष पुष २६ मा एभरेष्ट बैंकको खाता नम्बर रहेको चेक काटेर दिएका थिए । चार पटकसम्म पनि चेक नसाटिएपछि लेनदेनको लफडा प्रहरीकहाँ पुगेको हो । 

चौधरी र मगरले एक अर्कालाई मामा-भाञ्जा साइनो लगाउने गरेका छन् । तर, उनीहरु नाताले मामा-भाञ्जा भने होइनन् । चेक अनादरको जाहेरी परेको विषय सार्वजनिक भएपछि चौधरीले भोलिपल्ट त्यसको खण्डन गरेका थिए । 

मगरसँग कुनै अनुचित लेनदेन नभएको उनको दावी थियो । तर, नयाँ चेक र जग्गासम्बन्धी लिखित सम्झौता गर्नुले उनको दावी स्वत: खण्डित भएको छ ।

टिप्पणीहरू