अध्यक्षमाथि खनिएकी झाँक्री अरुसँग पनि आक्रोशित
नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई तीनदिने स्पष्टीकरण सोधिएको भन्ने खबरमा सत्यता नरहेको बताएकी छन् । आलोकनगरस्थित पार्टी मुख्यालयबाटै उनले यस्तो दाबी गरेकी हुन् ।
अनुशासन समितिका अध्यक्ष बालचन्द्र मिश्रले हिजो सञ्चारकर्मीसँग झाँक्रीलाई तीन दिनभित्र लिखित जवाफ दिन पत्र पठाइएको बताएका थिए । तर, उनले अहिलेसम्म त्यस्तो कुनै पत्र प्राप्त नभएको जिकिर गरिन् ।
पार्टीको सचिवालयमा नरहे पनि आजको बैठकमा सामेल हुन पुगेकी उनले भनिन्, ‘विभिन्न अन्तर्वार्तामामा पदाधिकारीज्यूहरुले स्पष्टिकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, तर, अहिलेसम्म मलाई कुनै पत्र आएको छैन ।’
गत साता लुम्बिनीको एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालतर्फ लक्षित गर्दै झाँक्रीले ‘अब काँधमा सिनो बोकेर हिँड्न नसिकने’ टिप्पणी गरेकी थिइन् । उनको उक्त अभिव्यक्ति चर्को आलोचनामा परेको थियो ।
महासचिव घनश्याम भुसालले मंगलबार सर्कुलर जारी गर्दै नेता-कार्यकर्तालाई जथाभावी नबोल्न सचेत गराएका थिए । महासचिवको निर्देशनपछि आफू चुप बसेपनि अन्य नेताहरु आफूमाथि खनिएको भन्दै झाँक्रीले आक्रोश पोखिन् ।
‘त्यो निर्देशनपछि मैले कहिँकतै केही बोलेको पनि छैन, बरु त्यही विषयलाई प्रोत्साहन हुनेगरी कतिपय नेताहरुले नै स्पष्टिकरण सोधिएको भनेर बोल्नुभयो’, उनले भनिन् ।
टिप्पणीहरू