रविलाई छुटाउन हस्ताक्षर गर्ने ‘देशका गहना’ विरुद्ध मुद्दा हाल्ने तयारी

सहकारी काण्डमा अदालतको आदेशले जेल परेका सभापति रवि लामिछानेलाई छुटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश तथा विदेशमा हस्ताक्षर तथा सहयोग संकलन अभियान चलाइरहेको छ ।
न्यायिक प्रक्रियामा रहेको विषयलाई प्रभावित पार्न थालिएको अभियानअन्तर्गत हस्ताक्षरसँगै क्यूआर कोडमार्फत नगद संकलन पनि भैरहेको छ । त्यसनिम्ति बनस्थलीस्थित केन्द्रीय कार्यालयसहित देशका विभिन्न स्थानमा रविको फोटोसहितको ब्यानर टाँगेर सो पार्टीका कार्यकर्ता खटिएका छन् ।
रास्वपाका नेता-कार्यकर्ता,रविका समर्थकमात्र होइन 'देशको गहना' भनिने केही नाम चलेका कलाकारले समेत धमाधम हस्ताक्षर गरिरहेका छन् । अदालतको मानहानी हुनेगरी कारागारमा मुद्दा पुर्पक्ष गरिरहेका प्रतिवादीको पक्षमा आजै मात्र एक दर्जन बढी कलाकारले हस्ताक्षर गरे ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा पाँच वटा जिल्लामा मुद्दा खेपिरहेका रवि अहिले भैरहवा कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा धरौटीमा छोड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । सर्वोच्च अदालतले समेत उनलाई अहिले नै निर्दोष भन्न नमिल्ने ठहर गरिसकेको छ ।
तर, अदालतको आदेशलाई पनि चुनौती दिँदै रास्वपाले थालेको हस्ताक्षर तथा सहयोग संकलन अभियानमा प्रधानमन्त्री भैसकेका व्यक्तिदेखि राजनीतिक दलका नेता र नाम कहलिएका कलाकारसमेत लाइन लागेर हस्ताक्षर गरिरहेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजो सही गरेका थिए। आज फिल्म निर्माता अशोक शर्मा, निर्देशक दीपेन्द्र के खनाल, लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, कलाकार रामचन्द्र अधिकारी, गायक खेम सेञ्चुरीले हस्ताक्षर गरे ।
त्यस्तै, सिने पत्रकार भनिएका टेलिभिजन प्रस्तोता प्रकाश सुवेदी, हास्य कलाकार राजाराम पौडेल र किरण केसीले पनि हस्ताक्षर गरेका छन् । अमेरिकामा छँदा रविसँगै बसेका पुराना कलाकार रमेश उप्रेती, अहिलेका चर्चित अभिनेता विपिन कार्कीले केही दिनअघि नै बनस्थलीस्थित घण्टीघर पुगेर रविलाई छुटाउने अभियानमा ऐक्यवद्धता जनाउँदै सहिछाप गरेका थिए ।
चलचित्र विकास बोर्डकी पूर्वअध्यक्षसमेत रहेकी रवि पत्नी निकिता पौडेल लामिछाने कलाकारलाई हस्ताक्षर अभियानमा सहभागी गराउन आफैँ खटिएकी छन् ।
यता, अदालतको मानहानी हुनेगरी रविको पक्षमा ऐक्यवद्धता जनाएका कलाकारविरुद्ध सामाजिक अभियन्ता युवराज सफलले मुद्दा हाल्ने भएका छन् । सही गर्ने प्रत्येकलाई विपक्षी बनाएर छिट्टै मुद्दा दर्ता गर्ने उनले जानकारी दिए ।
टिप्पणीहरू