फेरि चुकिन् शान्तिश्री, तीन गीतविरुद्ध उजुरी

फेरि चुकिन् शान्तिश्री, तीन गीतविरुद्ध उजुरी

गीत छनोटमा चुक्दै आएकी चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारले फेरि एकपटक प्रहरी कार्यालय धाउनुपर्ने भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले हालै बजारमा आएको उनको ‘लुकी लुकी’ बोलको गीतविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएको  छ ।

गीतमा अश्लिलता फैलाउने र दोहोरो अर्थ दिने शब्दहरु प्रयोग गरिएको लोक सञ्चारकर्मी नेपालको आरोप छ । गत वर्ष सार्वजनिक भएको ‘विस्ताराले पोल्यो’ गीतविरुद्ध पनि प्रहरीमा उजुरी परेको थियो । त्यतिबेला शान्तिश्रीले आगामी दिनमा गीत छनोटमा ध्यान दिने भन्दै एक वक्तव्य नै जारी गरेर माफी मागेकी थिइन् । अहिले फेरिको उनको अर्को गीतविरुद्ध उजुरी परेको हो । दुई दिनअघि सार्वजनिक भएको गीतले यो समाचार तयार पार्दासम्म डेढ लाख भ्युज पाएको देखिन्छ । शान्तिश्री र पुराना लोकदोहोरी गायक रामजी खाँणको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र सुनिल क्षेत्री फिचर्ड छन् । 

त्यस्तै, हरितालिका तीजलाई लक्षित गर्दै बजारमा आएका अन्य दुई गीतविरुद्ध पनि उजुरी परेको हो । तीज गीतको नाममा विकृति फैलाएको भन्दै सोही संस्थाले ‘गाई कालो’ र ‘सल्ला दमार’ बोलका गीतविरुद्ध उजुरी दिएको हो । 

प्रहरीले गीतका सम्बन्धित कलाकारलाई छलफलको लागि बोलाएको बुझिएको छ ।

टिप्पणीहरू