‘मैले कसलाई हनीट्र्यापमा पारेँ !’
जनआस्थाको १८ गते प्रकाशित पाठकपत्रले मेरो गम्भीर ध्यानाकर्षण गराएको छ ।
पत्रमा उल्लेख भएजस्तै म युद्धकालीन माओवादी होइन । बिमामा काम गरेको पक्कै हो तर केही कथा बनाएर दुई वर्षदेखि केही व्यक्तिले मलाई ब्ल्याकमेल गर्न खोजिरहेका छन् । जनआस्थाजस्तो पुरानो र प्रभावशाली मिडियामा प्रकाशित सामग्रीको प्रभाव गहिरो हुन्छ र मैले पनि वर्षौं विश्वासका साथ पढ्दै आएको पत्रिकाबाट यस्तो पत्र आउनु कल्पनाभन्दा बाहिरको कुरो हो।
म नेपालकी सार्वभौम सांसद हुँ । दुई सन्तानकी आमा, कसैकी श्रीमती र आफ्नो जातीय समुदायबाट निर्वाचित पहिलो सांसद पनि । परिवार त सबैको हुन्छ, तर पुरुष मानसिकताले महिलाको अस्मितामाथि यसरी आक्रमण गर्नु कहाँको न्याय हो ? यस्तो पुरुषप्रधान सोच देखेर स्तब्ध छु, आहत छु ।
मलाई ‘हनी ट्रयापमा फसाउने’ प्रयासकर्ता भनिएको छ । त्यसमा उल्लेख गरिएका ‘पीडित’ वा ‘घर न घाटमा पुगेका’ भनिएका व्यक्तिहरू को हुन् ? उनीहरूलाई किन प्रत्यक्षरूपमा उल्लेख गरिएको छैन ? यदि त्यस्तो केही थियो भने उनीहरूको न्यायमा साथ नदिइनुको कारण के हो ?
पाठकपत्र भनिएकाले जनआस्थाका संवाददाता वा रिपोर्टरले लेखेको हो जस्तो लाग्दैन । कसैले, जसको बारे जे लेखे पनि सत्यताको परीक्षण नगरी छाप्ने हो भने त्यसको सम्पूर्ण दायित्व कसले लिने ?
– छिरिङ लामा, प्रतिनिधिसभा सदस्य, जुम्ला (हाल: काठमाडौँ)
टिप्पणीहरू