यिनलाई पो नशा लाग्यो मिसन ८४ को

यिनलाई पो नशा लाग्यो मिसन ८४ को

आम निर्वाचन आउन २ वर्षभन्दा बढी समय बाँकी छ । तर, नयाँ वैकल्पिक शक्तिका रूपमा उदाउने भनेर केहीलाई अहिले नै मिसन ८४ लागिसक्यो । एमाले र रास्वपाले मिसन ८४ को नारा खुब उरालेका छन् । कांग्रेसका केही नेता पनि मिसन ८४ भन्दैछन् । यही मेसोमा विद्युत् प्राधिकरणबाट निकालिएका कुलमान घिसिङले चौरासी केन्द्रित अभियान शुरु गरेका छन् । मध्यपूर्वका खाडी राष्ट्रमा तैनाथ नेपालीहरूको नाडी छामेर फर्किएका उनी यसमा मात्रै सीमित भएनन् । त्यहाँबाट फर्किएर अमेरिका पुगिसके । वासिंगटन, टेक्सास, न्यूयोर्कजस्ता धेरै नेपाली रहेका राज्यमा २ हप्तासम्म छलफल चलाएर उनी युरोपतिर हान्निनेछन् । त्यहाँ पनि उही मिसन ८४ केन्द्रित परामर्श गर्ने तयारी रहेको बुझिएको छ । जुलाई २५ मा गएका उनको अगस्ट २६ सम्म बाहिरै बिताउने योजना रहेको बुझिएको छ । इंग्ल्याण्ड, स्कटल्याण्ड, पोर्चुगलजस्ता धेरै नेपाली बस्ने क्षेत्रमा पुग्ने तयारी छ । यी सबैतिरको माहोल बुझेपछि ‘उज्यालो नेपाल’ वा ‘दिगो नेपाल’मध्ये कुनै एक नाम रोजेर पार्टी खोल्ने तयारी देखिन्छ । 

बहराइन, युएई, ओमान र कतारको भ्रमणमा जानुअघि नेपालीका प्रत्यक्ष भोगाइ बुझ्न र भावनात्मक हिसाबले जोडिन खोजेको सन्देश दिएका थिए । ‘तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न । म तपाईंहरूसँग प्रत्यक्ष भेटेर भोगाइ सुन्न, अनुभूति साझा गर्न र भावनात्मक रूपमा जोडिन चाहन्छु,’ कुलमानले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तपाईंहरूले जे सहनु भएको छ, त्यसमा हामी सबैको जिम्मेवारी छ भन्ने भावनासहित तपाईंहरू सामु आउँदैछु ।’ उनी आफैले दल खोल्ने वा अर्को दलमा लागेर जनताको सेवा गर्न मन लागेको पटकपटक बताइसकेका छन् । 

यसअघि कुलमानलाई माओवादीनिकट भनेर जोडिन्थ्यो । तर आफूलाई ठूलो सेलिब्रिटी मानेका कुलमान आफैं पार्टी खोल्ने गरी अगाडि बढेका हुन् । यसअघि याक एण्ड यती होटलमा ६ चोटीसम्म, डा. सन्दुक रुइत, महावीर पुनसहित आफ्नो क्षेत्रमा महारथ हासिल गरेकाहरुसँग भेट गरेका थिए । बालेन, हर्कसँग मिलेर जाने कि डा. मुकुल ढकालसहित द्वन्द्व पीडितलाई समेटेर लाने भन्नेमा उनको ध्यान केन्द्रित रहेको देखिन्छ । भावनात्मक सद्भावको लागि कुलमानले द्वन्द्वकालमा घाइते भएका ७ हजार सुरक्षाकर्मीलाई पनि प्राथमिकतामा राखेका छन् । द्वन्द्वकालमा सेना, सशस्त्र, प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी हजारौं जवान घाइते भएका थिए । यसक्रममा नेपाल प्रहरीका २२ सय मारिए । नेपाली सेनाका ११, १२ सय जनाले ज्यान गुमाए । जसमा जर्नेल रमीन्द्र क्षेत्रीसहितकाहरू शरिरको अंग नै नचल्ने गरी घाइते भएका थिए । 

ती घाइतेको एउटा समूह छ । त्यसबाहेक सहकारी पीडित, लघुवित्त पीडित, मीटरब्याजपीडित, द्वन्द्व पीडित, बैरोपीडित र भुटानी शरणार्थीको नाममा विदेश जान नपाएका पनि कुलमानको रोजाइमा छन् । किनकि समाजमा यी विभिन्न क्षेत्रबाट पीडित हुनेसँग एकाकार हुने र तिनका मुद्दा बोक्दा आफूलाई ठूलो बल र तागत मिल्ने बुझाइमा कुलमान छन् । यसैले विभिन्न शक्तिलाई जुटाएर बलियो शक्तिका रूपमा आउने तयारी खेल भित्रभित्रै पाक्दै गरेको हो । 

द्वन्द्वकालमा ४ सय हाराहारी अविवाहित सुरक्षाकर्मीहरू मारिए । उनीहरूका अभिभावकले राहत बुझेर पनि लगे । महिला, केटाकेटी, द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवारले सेनाको कल्याणकारी कोषबाट केही राहत पाए । तर नपाउनेहरू धेरै छन् । सहकारी पीडित १४ लाख छन् । यसमा एक लाख सुरक्षाकर्मीका परिवार होलान् । यसैले समाजका पीडित र असन्तुष्टलाई समेट्दै उनीहरूको भावनाका कुरा बोकेर पार्टी स्थापित गर्ने योजनामा कुलमान रहेको हुनुपर्छ । सरकारको सर्भिस डेलिभरीमा कमजोरी देखिएको भन्दै अघिल्लो पटक रास्वपा, बालेन, रवि, हर्क साम्पाङ, गोपी हमालहरू उदाएका थिए । यी सबैलाई नजिकबाट देखेका कुलमानले पनि त्यस्तै असन्तुष्टि, आवेग र कमजोरीको फाइदा उठाउने तयारी गरेको बुझ्न कठिन छैन । 

कुलमानसँग हिँड्न सन्दुक रुइत, विजय लामा, रञ्जु दर्शनासहितले इच्छा व्यक्त गरिसकेको बताइन्छ । यता कुलमानलाई रूपन्देही ३ को उप निर्वाचनमा उम्मेदवार बन्न माओवादी र नागरिक उन्मुक्ति पार्टीले प्रस्ताव गरिसकेको तर, उनले अहिलेसम्म कुनै टुंगो दिएको पाइन्न । 
 

टिप्पणीहरू