यति कच्चा सरुवाको के होला संकेत ?
चार जना सहसचिवको सरुवा पत्रमा हस्ताक्षर गरेर गृहसचिव गोकर्णमणि दुवाडी गत सोमबार बैंककतिर हान्निएका छन् । गृहमा छिरेसँगै उच्च रक्तचापले समाएर हरेक साता प्रहरी अस्पतालमा फलो अपका लागि धाइरहेका दुवाडी दिल्लीबाट फर्किएलगत्तै ती सहसचिवलाई सारेर थाइल्याण्डतिर लागेका हुन् ।
भ्रष्टाचार आरोपित पूर्वमन्त्री मोहन बस्नेतलाई रेड कार्पेट ओछ्याएर स्वागत गरेबापत विवादमा तानिएका र अनिवार्य अवकाशमा जान लागेका सिन्धुपाल्चोकका प्रजिअ किरण थापाको सरुवा स्वाभाविक मानिए पनि रूपन्देहीका वासुदेव घिमिरेको हेरफेरलाई ६ दिनपछि सर्वाेच्चबाट अन्तिम किनारा लाग्न लागेको एउटा मुद्दा र आगामी तीन महिनापछि रुपन्देहीमा हुन लागेको उपनिर्वाचनसँग जोडेर हेर्न थालिएको छ । कम्युनिष्ट पृष्ठभूमिका वासुदेव ९ महिनाअगाडि मात्र भैरहवा पुगेका थिए । यसअघि धादिङ्ग, रसुवा, कास्की हुँदै रूपन्देही जिल्ला चलाइरहेका अनुभवी सहसचिवलाई हटाएर जागिरे जीवनमा कहिल्यै अनुभव नभएका सिडिओ टोकराज पाण्डेलाई ‘क’ वर्गको जिल्लामा किन खटाइयो होला ! त्यो पनि उपनिर्वाचनजस्तो संवेदनशील घडीमा ! हिजो विजय गच्छदारले भगवती चौधरीलाई हराउन प्रशासन र प्रहरी संयन्त्र दुरूपयोग गरेझैँ गर्न लागिएको त होइन ? शंका अनेक छन् ।
रूपन्देही खटाइएका पाण्डे नक्कली लाइसेन्स प्रकरणमा मुछिएका थिए । पछि सरुवा भएर गृहको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा हुँदै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा रहे । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा पुगेका पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई सात महिना थुनामा राखेर २८ मंसिर, २०८० मा उच्च अदालत पाटनको आदेशबाट ३० लाख धरौटीमा थुनामुक्त गराइएको छ । उनीसँगै जेल पुगेका टोपबहादुर रायमाझीसमेत जोडिएको मुद्दाको अन्तिम किनारा लाग्दै छ, यही साउन १८ गते । सर्वाेच्चमा मुद्दाको अन्तिम किनारा लाग्नु हप्ता दिनअगाडि गरिएको प्रजिअ हेरफेरलाई स्वाभाविक मानिएको छैन । रूपन्देही क्षेत्र नम्बर तीनमा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ कांग्रेसबाट खाँण चुनावी प्रतिस्पर्धी हुन् । उनले मैदान छाडेको खण्डमा मात्र भरत शाह, प्रमोद यादव, रमेश खनाल, रामचन्द्र ढकालहरूले मौका पाउनेहुन् । जसरी न्यायाधीश खुशीप्रसाद थारूले कांग्रेसका विजयकुमार गच्छदार र मोहम्मद आफ्ताब आलमलाई सफाइ दिए उसैगरी बालकृष्ण खाँणलाई चोख्याएर चुनावमा उठाउने तयारी त भइरहेको छैन ? प्रश्न उठिरहेकै छ ।
खाँण गत निर्वाचनमा राप्रपाका दीपक बोहराबाट २६ सय ८१ मतान्तरले पराजित भएका थिए । अघिल्लो निर्वाचनमा एमालेको सहयोगसहित बोहोराले ३६ हजार ७१७, खाँणले ३४ हजार ३६ मत ल्याउँदा रास्वपाका जितबहादुर गुप्ता तेलीले ५ हजार ७ सय ९६ मत, नागरिक उन्मुक्तिका उम्मेदवारले ४७ सय ५१ र जनमतका उम्मेदवारले ३३ सय १७ मत प्राप्त गरेका थिए । रूपन्देही निर्वाचन क्षेत्र–३ मा झण्डै १ लाख ४० हजार मतदाता रहेका छन् । यसपटक कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा र जनमत पार्टी गठबन्धन नगरी प्रतिस्पर्धाको तयारीमा छन् । एमालेले खिमलाल भट्टराईलाई उठाउने सम्भावना छ । त्यहाँबाट सागर ढकाल, निकोलस भुषालहरूको पनि नाम आएको छ । कुलमान घिसिङ्गको नामसमेत चर्चामा भए पनि त्यसमा सत्यता नभएको बताइएको छ ।
टिप्पणीहरू