निरौला कमरेडलाई नबोल्न निर्देशन

निरौला कमरेडलाई नबोल्न निर्देशन

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा रोक लगाएपछि पार्टीभित्र असन्तुष्टि थप चुलिएको छ । विशेषगरी भण्डारी पक्षधरहरूले यस निर्णयप्रति खुलेर असहमति जनाउन थालेपछि त्यसलाई नेतृत्वले बेलैमा गोडमेल गर्न थालेको बताइन्छ ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पार्टीको पुरानो इतिहास स्मरण गराउँदै पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीलाई समेत बोल्न नदिएको प्रसंग उठाएका थिए । उनको भनाई थियो,‘इतिहास साक्षी छ,पाँचौं महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको हो । बहुदलीय जनवादवारे शुरूमा साथ दिने पनि थोरै थिए ।’

वर्तमान परिप्रेक्ष्यमा उक्त धारणालाई अध्यक्ष केपी शर्मा ओली नेतृत्वको आलोचनात्मक संकेतका रुपमा लिँदै महासचिव शंकर पोखरेलले थप नबोल्न निर्देशन दिएका हुन् । साउन ९ गते शुक्रबार भण्डारीले पत्रकार सम्मेलन गर्नुअघि निरौलालाई च्यासलमा बोलाएर चुप लाग्न भनिएको स्रोतको दावी छ ।

स्रोत भन्छ, ‘पूर्व राष्ट्रपति विद्या भण्डारीले पत्रकार सम्मेलन गर्नुभएको दिन बिहान निरौलालाई मुख्यालयबाट बोलावट भएको थियोे । पार्टी कार्यालय च्यासलमा महासचिवले उनलाई मिडियामामा धेरै नबोल्न चेतावनीयुक्त भाषामा निर्देशन दिएका छन् ।’

हालै बसेको एमालेको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको यसअघि भइसकेको पार्टी सदस्यता नवीकरण निलम्ब गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई विश्लेषकहरुले भण्डारीको पार्टी सदस्यता नवीकरणमात्र होइन,राजनीतिमा हुनसक्ने सक्रिय भूमिकामै पूर्णविराम लगाउने प्रयासको रुपमा लिइएको छ ।
 

टिप्पणीहरू