प्रधानमन्त्रीलाई गिज्याउने मावाखोला पुल

प्रधानमन्त्रीलाई गिज्याउने मावाखोला पुल

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र मोरङलाई जोड्ने मावाखोला पुल पुननिर्माण नहुँदा स्थानीयबासी समस्यामा परेका छन् । 

मोरङको उर्लाबारी नगरपालिका-९ र झापाको दमक नगरपालिका वडा नम्बर १० लाई प्रत्यक्ष रुपमा जोड्ने उक्त पुल चिराचिरा परेको छ । पुलको दायाँबायाँ जमीन भासिँदै गए पनि सरकारले ध्यान नदिएको स्थानीय गुनासो गर्छन् । 

लामो समयदेखि पुल पुननिर्माणका लागि आवाज उठाउँदै आएका स्थानीय टंक थक्लुङले यसमा तीनै तहका सरकार जिम्मेवार नदेखिएको बताए । ठूलो दुर्घटना नभएसम्म आँखा चिम्लिने प्रवृत्ति यहाँ पनि देखिएको दुखेसो उनले गरे । 

‘सरकारले यसरी नै आँखा चिम्लिरहने हो भने हामी जनता सडक आन्दोलनमा उत्रिनुको विकल्प छैन’, उनले भने, ‘पुलभन्दा पहिलो जनताको धेर्य नढलोस् ।’

स्कुल आवतजावत गर्ने विद्यार्थी, अस्पताल जाने बिरामी, गर्भवती महिला लगायतका लागि पुल खतरा बन्दै गएको छ । ठूलो सवारीसाधन त रोकिएका छन् नै, साइकल समेत ज्यानको बाजी लगाएर कुदाएको देखिन्छ । 

०७१ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसहित शिलान्यास गरेको उक्त पुल साढे चार करोड लागतमा निर्माण गरिएको हो । शुरुमा दुई सय मिटर लामो पुल बनाउने भनिए पनि ७५.४५ मिटर मात्र कायम गरिएको थियो । 

चार वर्षयता क्रमश: संरचनामा क्षति हुँदै गएको हो । पुलको अवस्थाबारे पटक पटक जानकारी गराउँदा पनि जनप्रतिनिधिले नसुनेको भन्दै स्थानीय आक्रोशित छन् । 

वडाध्यक्ष नरबहादुर मोक्तानले भने उक्त पुल पुननिर्माणको जिम्मेवारी दमक नगरपालिका वडा नम्बर १० ले लिनुपर्ने बताउँछन् । वडाध्यक्ष राजेन्द्र भण्डारीले स्थलगत निरीक्षण गरिसकेको र अहिले अल्पकालीन व्यवस्थापनको तयारी भइरहेको बताएका छन् ।

दमक–विराटनगरको यात्रा छोट्याउने प्रमुख वैकल्पिक सडकमार्ग नै यही पुल हो । इटहरी–विराटनगर–दमक घुमेर जान ६५ किमी लाग्छ भने यो रुट हुँदै ४२ किमीमै पुगिन्छ । तर, पुलको जर्जर अवस्थाले जनजीवन संकटमा परेको छ ।

टिप्पणीहरू