भंगाल जाने एमाले कार्यकर्तालाई फोन गरेर धम्की
नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर कार्यकर्तालाई ज्यान जोगाउनै कठिन हुने अवस्था आएको गुनासो सुनिएको छ ।
जननेता मदन भण्डारीपत्नी विद्याको सदस्यता खारेज गर्दै राजनीतिक प्रतिवन्ध लगाईएपछि उत्पन्न असन्तुष्टिले तलैसम्म धाँजा फाटेका बेला संस्थापन (ओली-शंकर) खेमाले पूर्वराष्ट्रपति निवास भंगाल जानेहरूलाई फोन गरेर धम्क्याउने गरेको सो पार्टीका एक कार्यकर्ताले खुलासा गरेका छन् ।
साउन १७ गते नयाँ बानेश्वरमा बसेको खोटाङ-काठमाडौँ सम्पर्क मञ्चको बैठकमा दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका-१४ का निर्वाचित वडाध्यक्ष दिनेशकुमार राईले धम्की आउने गरेको खुलाएका हुन् ।
बैठकमा रिपोर्टिङ राख्नेक्रमा पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण नगरिएको प्रसङ्ग निकाल्दै उनले त्यसबाट सृजित विवाद वडा तहसम्मै पुगेको सुनाए ।
भण्डारी हिजो शीतल निवास प्रवेश गर्दा चाकडी गर्नेहरू नै अहिले गालीगलौजमा उत्रिरहेको भन्दै राईले चर्को असन्तुष्टि जनाएका थिए । 'हिजो पूर्वराष्ट्रपति बहालवाला हुँदा जो व्यक्तिले उहाँको बढाईचढाई गरेर शुभकामना दिनुभयो । आज उनीहरुले नै गाली गरेर पोष्ट गरिराखेका छन्', बैठकमा उनले भने ।
गाउँको मान्छेले मदन भण्डारीको श्रीमतीले त पाएन सदस्यता हाम्रो पनि खारेज गर्दिनु भनिसके
तल्लो तहका कार्यकर्तालाई केन्द्रमा हुने धेरै कुरा थाहा नहुने भएता पनि यो विवादमा भने नाङ्गो आँखाले हेर्दा सदस्यता नवीकरण नगर्नु गलत भएको बताए । जननेता मदन भण्डारी पत्नीले एमालेमा फर्किन्छु भन्दा सदस्यता रोकेर अपमान गरिएको दुखेसो गरे ।
'हामी तलका कार्यकर्ताले पार्टीको आन्तरिक कुरा धेरै बुझ्दैनौं, तर नाङ्गो आँखाले हेर्दाखेरी पूर्व राष्ट्रपतिजस्तो व्यक्ति, जननेता मदन भण्डारीको जीवित श्रीमती त्यसमा पनि पार्टीको पूर्व उपाध्यक्ष उहाँले आफ्नो जिम्मेवारीबाट फर्केर पार्टीमा काम गर्छु भनेर सदस्यता रिन्यु गर्दाखेरी उहाँलाई त छेके छेके, भंगाल जानेलाई समेत फोन गरेर धम्की आउँछ । यो के हो ?', राईको प्रश्न थियो ।
वडाध्यक्ष राईले गाउँघरका कार्यकर्ताले आजकाल मदन भण्डारीकी पत्नीले त सदस्यता नपाएको एमालेमा हाम्लाई पनि चाहिंदैन भन्दै हिँड्न थालेको सुनाए । 'अहिले गाउँको मान्छेले हामीलाई के भन्छ भने मदन भण्डारीको श्रीमतीले त पाएन सदस्यता हाम्रो पनि खारेज गर्दिनु भनिसके', बैठकमा उनले गाउँको कुरा यसरी राखे ।
एमालेमा पछिल्लो समय विद्या भण्डारीको समर्थनमा बोल्ने कार्यकर्तालाई जिम्मेवारीबाट हटाउने काम त भैरहेकै छ । पछिल्लो पटक युवा संघका दुई नेता निलम्बित भएका छन् ।
केन्द्रीय कमिटी बैठक उद्दघाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता-कार्यकर्तालाई भण्डारीको प्रवक्ता नबन्न चेतावनी दिँदै अन्यथा कारवाहीको विषय बन्ने स्पष्ट पारेका थिए । सोही बैठकले उनको सदस्यता खारेज गरेसँगै तल्लो तहमा पनि भंगाल निकटहरू कारवाहीमा पर्न थालेका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलनमा सहभागी युवा संघकी केन्द्रीय सदस्य युवान्तिका कुलुङलाई निलम्बनको कारवाही गरियो । त्यसअघि संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेलमाथि कारवाहीको तरबार उज्याईयो । तर, फोन गरेर धम्क्याउने तहमा अराजकता बढेको चैं पहिलोचोटि वडाध्यक्ष राईले खुलाएका हुन् ।
टिप्पणीहरू