इन्सपेक्टरमाथि छानबिन गर्ने सहमतिपछि अवस्था सामान्य

इन्सपेक्टरमाथि छानबिन गर्ने सहमतिपछि अवस्था सामान्य

सप्तरीमा प्रहरीको गोलीबाट एक जनाको मृत्युपछि चर्किएको तनाव इन्सपेक्टरमाथि छानबिन गर्ने सहमतिसँगै साम्य भएको छ । दुई दिनदेखिको विरोध र वार्तापछि मृतक परिवारले अन्ततः शव बुझेका छन् ।

मंगलबार राति राजगढ गाउँपालिका–२, कमलपुरमा अवैध मदिरा नियन्त्रण अभियानका क्रममा प्रहरीले गोली चलाउँदा ३५ वर्षीय स्थानीय लालु यादवको ज्यान गएको थियो । यादव स्थानीय विद्यालयको व्यवस्थापन समिति अध्यक्ष थिए ।

घटनापछि आक्रोशित स्थानीयबासीले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै दोषीमाथि कारबाहीको माग गरेका थिए । सर्वदलीय बैठक बसे पनि यादवमाथि छानबिनको सहमति नभएसम्म मृतक परिवारले शव बुझ्न अस्वीकार गरेपछि परिस्थिति तनावग्रस्त बनेको थियो ।

अन्ततः इन्सपेक्टर वीरेन्द्रकुमार यादवमाथि छानबिन अघि बढाउने सहमतिपछि परिवारले शव बुझेको जिल्ला प्रहरी प्रमुख एसपी गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार इन्सपेक्टर यादवलाई तत्कालका लागि मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उक्त कार्यालयले अनुसन्धानका लागि समिति गठन गरी छानबिन प्रक्रिया थालेको जनाएको छ ।

टिप्पणीहरू