मुख्यमन्त्रीसँग पूर्वमुख्यमन्त्री झोक्किएपछि कर्णालीमा अनेक आशंका

मुख्यमन्त्रीसँग पूर्वमुख्यमन्त्री झोक्किएपछि कर्णालीमा अनेक आशंका

कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच खटपट शुरु भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको द्वन्द्वकै कारण आज गर्ने भनिएको एउटा कार्यक्रम नै स्थगित गरिएको छ ।

बताइएअनुसार, आर्थिक मामिला तथा योजना मन्त्रालयले सुर्खेतको सिद्धार्थ होटलमा समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधिमाथि छलफल कार्यक्रम राखेको थियो । तर कांग्रेस नेताहरूले कार्यक्रम नै बहिष्कार गरेपछि परिस्थिति अर्कै बन्दै गएको बताइन्छ ।

मुख्यमन्त्री यामलाल कँडेल, सभामुख नन्दा गुरुङ, विभिन्न मन्त्री र प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको कार्यक्रमबाट नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसहित नेताहरू रिसाएर हिँडेका हुन् । स्रोतका अनुसार, कार्यक्रमको अतिथि आसन ग्रहण गराउने क्रममा शाही एक्कासी झोक्किएर हिँडेका हुन् । 

‘प्रमुख अतिथि मुख्यमन्त्री हुनुहुन्थ्यो, विशिष्ट अतिथि सभामुख हुनुहुन्थ्यो’, कार्यक्रममा सहभागी एक नेताले भने, ‘अरू सबैलाई अन्य अतिथिमा राखिएको थियो, आसन ग्रहण गराउने अतिथिको सूचीमा आफ्ना नाम पछाडि परेपछि उहाँ रिसाउनुभएको हो । प्राविधिक कुराहरूमा कहिलेकाहीँ तलमाथि भइहाल्छ ।’

उता, पूर्व मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता शाहीले भने यस वर्ष कार्यविधि संशोधन गर्ने र अर्को वर्ष लागू गर्ने भनिएपछि कार्यक्रम बहिष्कार गरेको प्रतिक्रिया दिएका छन् । ‘मुख्यमन्त्रीज्यू र सचिवले यस वर्ष संशोधन हो, अर्को वर्षबाट लागू हुन्छ भनेपछि मैले असहमति जनाएको हुँ’, उनले जनआस्थासँगको कुराकानीमा भने, ‘कार्यविधि त परिवर्तन भइरहने कुरा हो नि । ऐन भएको भए बेग्लै कुरा, अर्को वर्षको तत्कालीन परिस्थितिअनुसार कार्यविधि संशोधन गर्नुपर्ने हुन सक्छ, अनि अर्को वर्षका लागि अहिले छलफल गर्नुको चौतित्य छ र ?’
 

टिप्पणीहरू