मेरियटमा डिनर,बूढानीलकण्ठमा छलफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।
आज तीन जनालाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर दुई घण्टा लामो संवाद गरेका हुन् । पार्टीको आन्तरिक विषय र आगामी उपचुनावको बारेमा छलफल केन्द्रित रहेको कांग्रेस स्रोतले जनाएको छ ।
छलफलपछि भ्रातृ संस्थाको अधिवेशनका लागि महामन्त्रीले ल्याएको कार्यादेशमा सहमति जुटेको बताइएको छ । तदर्थ समितिमा रहेका भातृ संस्थाहरुको अधिवेशन गराउन महामन्त्री गगनले कार्यादेश तयार पारेका थिए ।
त्यस्तै, पार्टीको नयाँ सदस्यता वितरण, नवीकरणमा देखिएको विवाद, १५औँ महाधिवेशन र आन्तरिक विषयबारे पनि चार नेताबीच गहिरो संवाद भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विषय पनि उठेको बताइएको छ ।
यसअघि गृहमन्त्री रमेश लेखकले पनि महामन्त्री थापा र शर्मासँग हिजो साँझ मेरियट होटलमा छुट्टै छलफल गरेका थिए । उक्त भेटको एजेण्डा भने हालसम्म खुलाइएको छैन । गृहमन्त्री लेखक निकट नेताहरुले यसलाई सामान्य डिनर मिटिङ मात्र भनेका छन् ।
टिप्पणीहरू