रविको अवस्था बुझ्न आयोगको अनुगमन

रविको अवस्था बुझ्न आयोगको अनुगमन

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको वास्तविक अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली भैरहवा कारागार पुगेको छ । 

आयोगका सदस्य डा. लिली थापा, लुम्बिनी प्रमुख हरि ज्ञवालीसहितको टोली अनुगमनका लागि आज बिहान त्यता गएको हो । उनीहरू अहिले कारागारमै रहेको बताइएको छ ।  

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उच्च अदालतको आदेशले गत चैत २५ देखि कारगारमा रहेका रविलाई अमानवीय ढंगले राखिएको समाचारहरु सार्वजनिक भएपछि आयोगले ध्यानाकर्षण भएको जनाएको थियो । यहीक्रममा आयोगको टोली त्यहाँको यथार्थ अवस्था बुझ्न पुगेको हो । 

उता, अग्रिम बैंक जमानत पेश गर्दै रिहाइको मागसहित रविले दिएको निवेदन पेशी चढेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलाशमा मुद्दा सुनुवाई हुनेछ । 

बिगोबापत २ करोड ७४ लाख ८४ हजार बैंक जमानत पेश गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए ।

टिप्पणीहरू