डिएसपीले भान्छे भकुरे
आफूलाई बासी खाना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले भान्छेलाई भकुरेका छन् । आफ्नै क्वार्टरमा खाना पकाउने शंकर कार्कीलाई कुटपिट गरी जागिरबाट बर्खास्तसमेत गराइएको खुल्न आएको छ । पीडित कार्कीले मिडिया र मानव अधिकारकर्मीहरूलाई न्यायका लागि गुहार गरेपछि घटना सार्वजनिक भएको छ ।
पीडित कार्कीका अनुसार गत बिहीबार दिउँसो २ बजे डिएसपी खरेल क्वार्टरमा लञ्चका लागि आइपुगेका थिए । उनी पुग्नुभन्दा अगाडि भान्छे कार्कीले तीनजना प्रहरी निरीक्षकलाई मिष्ठान्न भोजन गराइसकेका थिए । धर्मकर्ममा विश्वास राख्ने डिएसपीका लागि भने सचेततापूर्वक चोखो अर्थात् लसुन–प्याज प्रयोग नगरी फरक भाँडाकुडा प्रयोग गरेर रोटी–तरकारी बनाइएको बताइन्छ ।
तर डिएसपीले बिहान ४ बजे बनाइएको बासी रोटी दिएको आरोप लगाउँदै एक्कासी अश्लील शब्द प्रयोग र मुक्का प्रहार गरेको कार्कीको भनाई छ । मुक्कामाथि मुक्का वर्षिन थालेपछि कार्कीले आत्मरक्षाका लागि रोक्ने प्रयास गरे । आफ्नो हातमा रहेको ट्रेले मुक्का छेक्न खोज्दा सो ट्रे फुटेर डिएसपीको काँधमा चोट लागेको उनको दाबी छ ।
‘त्यसपछि के चाहियो र ?’ दुःखी हुँदै कार्की भन्छन्, ‘डिएसपी सापले पशुलाई झैं चुट्न थाल्नुभयो ।’ कुटपिटपछि पनि भाँडा माझ्दै गर्दा उल्टै प्रहरी निरीक्षक रुपेश शाह पुगेर थप कुटपिट गर्दै हिरासतमा पुर्याएको कार्कीको भनाई छ ।
भोलिपल्ट साउन २३ गते, पीडित कार्कीको घरमा आमाको मासिक श्राद्ध थियो । सो दिन श्राद्धका लागि घर नगएपछि परिवारले खोजी गर्दा कुटपिटपछि हिरासतमा राखिएको र विभागीय कारबाहीको नाममा भेट्नसम्म नदिएको पीडितकी भाउजू सपना कार्कीले बताइन् ।
पीडित परिवार र आफन्तले आज प्रहरी कार्यालयमा छलफल गर्ने तयारी गरेका थिए । तर छलफलअघि नै बिहान १० बजे कार्कीलाई नेपाल प्रहरी विशेष सुरक्षा गुल्म, रातोमाटेमा दरबन्दी रहे पनि, हेलम्बु हुँदै जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहँदा ‘अनुशासनहीन कार्य’को आरोपमा बर्खास्त पत्र थमाइयो ।
पीडित कार्कीले आफू निर्दोष रहेको र घटनाको सत्यतथ्य बुझ्न सीसीटीभी फुटेज जाँचको माग गरेका छन् । डिएसपी खरेल विभागीय कारबाही भन्दै पन्छिएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले उक्त घटनाबारे जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् ।
टिप्पणीहरू