सार्वजनिक सुनुवाइमा सर्वसाधारणको उपस्थिति न्यून

सार्वजनिक सुनुवाइमा सर्वसाधारणको उपस्थिति न्यून

 कार्यक्रमको नाम ‘पब्लिक हेयरिङ’, तर सुन्ने जनसमुदाय निकै कम । जनसाधारण भन्दा कार्यालयकै कर्मचारी र जनप्रतिनिधिको उपस्थिति बढी छ । 

भरतपुर महानगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम हिजो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न भयो । करिब तीनसय जनाको उपस्थिति रहेको कार्यक्रममा आधाभन्दा बढी महानगरकै कर्मचारी र जनप्रतिनिधि थिए । अन्य कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको पनि त्यहाँ उपस्थिति थियो । 

झरीको मौसमका कारण एउटा सभाहलको कोठामा कार्यक्रम आयोजना गर्नुपरेको उपमेयर चित्रसेन अधिकारीले शुरुमै बताए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उनले विगतमा खुला चौरमा कार्यक्रम हुँदा नागरिकहरुको उपस्थिति अलि बढी रहने गरेको खुलाए । मेयर रेनु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए । 

कार्यक्रममा तेस्रो चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आ.व. २०८१-०८२ मा अनुमानित आय पाँच अर्ब ४९ करोड दुईलाख ६३ हजारमध्ये संघीय सरकार वित्तीय हस्तान्तरणबाट एक अर्ब ६६ करोड ९६ लाख रुपैयाँ–८८ प्रतिशत, प्रदेश सरकारबाट हस्तान्तरण भएको १५ करोड नौ लाख रुपैयाँ–८३ प्रतिशत, राजस्व बाँडफाँड रकममध्ये एक अर्ब सात करोड २३ लाख– ७४ प्रतिशत, आन्तरिक आयतर्फ गत वर्षको बैंक मौज्दातसहित २६ करोड ७६ लाख ९६ हजार प्राप्त भएको बताए । 

‘समग्र बजेटमा जम्मा रु. चार अर्ब तीन करोड ५४ लाख खर्च भएको छ, जुन समग्र बजेटको ७३.५ प्रतिशत प्रगति हो’, उनले भने । 
    
चालु बजेटतर्फ दुई अर्ब ७६ करोड ५३ लाख रुपैयाँ विनियोजित भएकोमा तेस्रो चौमासिकको अवधिसम्ममा दुई अर्ब ३५ करोड ३९ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । यो चालुतर्फ विनियोजित बजेटको ८५ प्रतिशत हो । पुँजीगत बजेटतर्फ दुई अर्ब ७२ करोड ४८ लाख रुपैयाँ विनियोजन भएकोमा तेस्रो चौमासिक अवधि सम्ममा एक अर्ब ६८ करोड १५ लाख खर्च भएको बताउँदै उनले भने, ‘जुन समग्र पुँजीगत बजेटको ६२ प्रतिशत प्रगति हो ।’
 

निर्धारित समय भन्दा एक घन्टा बढी ढिलो गरी सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल कार्यव्यस्तताको कारण जनाउँदै केही छिनमै मन्तव्य राखी बाहिरिए । एसपी गोविन्द पुरीले सुरक्षाविनाको विकास कल्पना पनि गर्न नसकिने बताए ।

सम्बन्धित कार्यालयको कुरा सुन्न–बुझ्न, आफ्ना जिज्ञासा, गुनासा र असन्तुष्टिहरु पनि पोख्न र प्रश्न गर्न नागरिकका लागि महत्वपूर्ण अवसर हो , सार्वजनिक सुनुवाइ कार्यक्रम । यसले पारदर्शिता, सेवामा गुणस्तरीयता र सुशासन वृद्धिमा मद्दत गर्छ । तर लक्षित समुदायको सहभागिता अत्यन्त न्यून रहने गरेको छ । बरु हरेक सार्वजनिक सुनुवाइमा प्रश्न गर्ने पात्रहरु दोहोरिने गरेको पाइन्छ ।

हिजो उपस्थितमध्ये कार्यक्रम समयमा नभएकोमा दुःख लागेको एक सहभागीले बताए । बोल्नेहरुले प्रायः पार्किङ र ढलको समस्या राखेका थिए । वडा नं ७ मा कार्यक्रम भइरहँदा त्यहाँका बासिन्दाले बुद्धचोकदेखि तेह्रसाल चोकतर्फको नहरलाई हरियाली पार्क बनाउन माग गरे ।

हाकिम चोकबाट स्याउली बजारतिरको सडकमा ट्राफिक व्यवस्थापन अत्यन्त आवश्यक भएको पनि सहभागीहरुले बताए । हाकिमचोकमा पैदलयात्रीले बाटो काट्ने जेब्राक्रसिङ र गाडी क्रस गर्ने ठाउँ एउटै भएको हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउँदै आएका छन् ।

‘खगेरी सिँचाइमा त्यत्रो लगानी भा’छ तर हाम्रोतिर पानी आउन सकेको छैन’, अर्का एक सहभागीको भनाइ थियो । गौरीगञ्ज हेल्थपोष्टको स्तरोन्नतिको मागसमेत भएको थियो ।
 
छ लेनको बाटो बन्दै गर्दा नारायणगढमा ओभरहेड ब्रिज बनाउने भनेको सुनेको तर अहिलेसम्म नबनेको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । अन्यत्र ज्येष्ठ नागरिकहरुको सम्मान र सहजताको लागि घरघरमै लगेर वृद्ध भत्ता उपलब्ध गराइँदा भरतपुर महानगरपालिकाले मिल्ने कि नमिल्ने ? भन्ने प्रश्न आएको थियो । 

फोहोरमैला शुल्क अव्यवहारिक भएको विषय पनि नागरिकस्तरबाट उठ्यो । भरतपुरमा विकास निर्माण राम्रो भएको तर त्यसको अनुगमन र रेखदेख कमजोर देखिएको भन्दै अर्का सहभागीले ध्यानाकर्षण गराए । 

लायन्सचोकको मुखमा बाटो साह्रै साँघुरो भएको पनि बताइयो । बुद्धचोक–हाकिमचोकको जुन हुलाकी सडक छ, त्यसमा ढल बनाइएको तर ढक्कन नराख्दा ३-४ जना खसिसकेको र एउटाको खुट्टासमेत भाँचिएको स्थानीय एक महिलाले गुनासोमिश्रित जानकारी गराईन् । 

पशु बधशाला व्यवस्थित हुन नसकेको, सुन पसलहरुमा नियमित अनुगमन नभइरहेको गुनासा पनि आए । नारायणी किनारनिरको नारायणीपथको हालत अस्तव्यस्त रहेको भन्दै व्यवस्थित बनाउन माग गरिएको छ । महानगरको प्रगति प्रतिवेदनमा सुकुमवासीको कुरै नसमेटिएको भन्दै सहभागीले खिन्नता प्रकट गरे ।

– अजय गोर्खाली

टिप्पणीहरू