राष्ट्र बैंकका सञ्चालक सोध्छन् : ‘मान्छे मारे जन्मकैद, वन्यजन्तु सखाप पार्नेलाई कति ?’

राष्ट्र बैंकका सञ्चालक सोध्छन् : ‘मान्छे मारे जन्मकैद, वन्यजन्तु सखाप पार्नेलाई कति ?’

प्रत्येक वर्ष गर्मी मौसममा (फागुन, चैत, वैशाख र जेठ महिना) नेपालका अधिकांश वनजंगलमा लाग्ने डढेलोबाट राज्यमा विपद्को अवस्था सिर्जना हुने गरेको छ । विपद्को अवस्था सिर्जना भई हाल पनि त्यस्तो अवस्थालाई तुरुन्तै नियन्त्रणमा लिई थप समस्या हुनबाट जोगाउनु राज्यको प्रमुख कर्तव्य एवम् दायित्व हो ।

तर, नेपालका वनजंगलमा प्रत्येक वर्ष लाग्ने डढेलो कसले लगाउँछ? किन लगाउँछ? कसरी लगाइन्छ? कुन समयमा लगाइन्छ? कुन उमेर वा कुन लिंगको व्यक्तिले लगाउँछ? आदि विषयमा पहिचान गर्ने र त्यस्ता व्यक्तिलाई यस्तो काम नगर्न जनचेतनामूलक कार्यक्रममार्फत चेतना दिने, चेतना दिँदा पनि अटेरी गर्नेहरूलाई कारबाही गर्ने सम्बन्धमा किन राज्यले नीति–नियम, ऐन, कानून बनाउँदैन? अथवा भएका व्यवस्थाहरू पनि किन कडाइका साथ पालना गराउनेतर्फ तदारुकता देखाउँदैन? यो बडो दुःखको विषय बनेको छ।

वनजंगलको उचित व्यवस्थापनका लागि संघ, प्रदेशसँग मन्त्रालयस्तरको संरचना छ; स्थानीय निकायसँग विभिन्न समितिहरू, पर्याप्त बजेट रकम आदि खर्चिलो संरचना राज्यसँग रहेका छन्। तर, ती संरचनाहरू यस विषयमा किन संवेदनशील छैनन् ? के ती संरचना र बजेट रकम केवल राजनीतिक पार्टीका कार्यकर्ता भर्ती गर्ने, तिनीहरूलाई भत्ता दिने तथा वनजंगलबाट प्राप्त गर्न सकिने सुविधाहरू लिने संयन्त्र मात्र हुन् ? राज्यको नेतृत्व गर्नेहरूलाई अलिकति लाज लाग्नुपर्ने हो।

यस्तो अवस्था राज्य सञ्चालनको नेतृत्व लिने पदाधिकारीलाई कसले भनिदिने हो? अर्थात् कसले फिडब्याक दिने हो? किन आमनेपाली जनता यस्तो दुःखद अवस्था प्रत्येक वर्ष सिर्जना हुँदा पनि राज्यका सम्बन्धित निकायलाई सुझाव दिन हिच्किचाउँछन् ?

राज्य सञ्चालनमा बस्नेहरूलाई सुझाव दिँदा स्याबासी पाइनुको सट्टा कारबाही हुने डरका कारण आम नेपालीले हरेक सेवामा दर्दनाक अवस्था महसुस गरे पनि राज्यलाई सुझाव नदिने अवस्था सिर्जना भएको त होइन? यस विषयमा पनि छलफल र अध्ययन गर्नुपर्ने बेला आइसकेको हो भन्ने कुरा भन्न डराउनुपर्ने छैन।

डढेलोको विषयमा मात्र छोटो टिप्पणी गरिएकाले, डढेलो लगाउने विद्यमान प्रवृत्तिलाई रोक्न तत्काल स्थानीय निकायका सबै वडा कार्यालयमार्फत आम नेपाली दाजुभाइ, दिदीबहिनीलाई डढेलो लगाएको अवस्थामा राज्यले ठूलो एवम् कडा कारबाही गर्नेबारे जानकारी गराउन आवश्यक देखिन्छ। यसका लागि माथिल्लो निकायबाट तल्लो निकायलाई तत्काल निर्देशन हुन आवश्यक छ।

एक जनाले अर्को मानिसलाई मार्दा जन्मकैद भोग्नुपर्ने कानूनी प्रावधान छ। तर, एक जनाले लाखौँ वन्यजन्तु, चराचुरुङ्गी, किरा, फट्याङ्ग्रा, बोटबिरुवा मार्दा वा मानव बस्ती नष्ट गर्दा कुनै कारबाही भएको देखिँदैन।

वनजंगलमा आगलागीबाट सिर्जना हुने अवस्थाः

१. सर्प, भ्यागुता, वन्यजन्तु, चराचुरुङ्गी, बोटबिरुवा आदि नष्ट हुने र वातावरणीय असन्तुलन हुने अवस्था सिर्जना भइरहेको छ। यसैगरी, क्षतिको अवस्था हेर्दा प्रत्येक वर्ष खर्बौँ रुपैयाँ खर्च गरेर पनि सिर्जना गर्न नसकिने प्राकृतिक सम्पत्ति नष्ट भइरहेको छ।

२. वास्तवमा यो पृथ्वी सबै प्राणीको साझा घर हो। यस्तो घरमा सबै प्राणीको उपस्थिति र बाँच्न पाउने अधिकार सुनिश्चित हुन आवश्यक छ। यसै आवश्यकतालाई दृष्टिगत गरी प्रकृतिले पृथ्वीलाई सदा स्वच्छ र सन्तुलित रूपमा चलायमान रहोस् भनेर विभिन्न प्राणीहरूको सृष्टि गरेको हो भन्ने कुरा बिर्सेर हामीले डढेलो लगाउने कार्य रोक्ने र नियन्त्रण गर्ने काममा लागेनौं भने हाम्रो इकोसिस्टम नै ध्वस्त हुनसक्ने अवस्था आउन सक्छ। यसबारे हामी सबैले समयमै बुझ्नुपर्छ।

३. एक जनाले अर्को मानिसलाई मार्दा जन्मकैद भोग्नुपर्ने कानूनी प्रावधान छ। तर, एक जनाले लाखौँ वन्यजन्तु, चराचुरुङ्गी, किरा, फट्याङ्ग्रा, बोटबिरुवा मार्दा वा मानव बस्ती नष्ट गर्दा कुनै कारबाही भएको देखिँदैन। हरेक वर्ष सुख्खा याममा आगलागीको प्रकोप हुने गरेको छ। यस्तो अवस्था सिर्जना हुनुअगावै राज्यद्वारा यसतर्फ जनतालाई समयमै सुसूचित गराउन आवश्यक देखिन्छ।

४. डढेलोबाट सबै प्राणीले विपद् भोग्नुपर्ने र विपद् व्यवस्थापन गर्ने कार्य राज्यअन्तर्गतको विषय भएकाले यसलाई राष्ट्रिय महत्त्वको विषय मानी तल उल्लेख गरिएका सुझावहरू कार्यान्वयनमा ल्याउन राज्यबाट अवश्य पहल हुने विश्वासका साथ विनम्र अनुरोध गरिएको छ।

डढेलो नियन्त्रणका लागि राज्यले तत्काल अवलम्बन गर्नुपर्ने सुझावहरूः

१. सबै नागरिकले जानकारी पाउने गरी सबै वडा कार्यालयसम्म पुग्ने गरी सरकारले लिखित रूपमा डढेलो लगाउन नहुनेबारे निर्देशन जारी गर्नुपर्ने।

२. कसैले डढेलो लगाएमा स्थानीय निकाय र वडाबासी मिलेर तत्काल डढेलो नियन्त्रण गर्नुपर्नेबारे सबै वडा कार्यालयलाई निर्देशन दिनुपर्ने।

३. डढेलो लगाउनेलाई कारबाही गर्ने विद्यमान कानूनी प्रावधान पर्याप्त नभए तत्काल नयाँ नियम, कानून निर्माण गर्नुपर्ने।

४. वनजंगलमा डढेलो लगाउनेलाई डढेलोको प्रकृति र त्यसले पु¥याएको क्षतिका आधारमा ‘मान्छे मारेसरहको’ कारबाही हुनेबारे सबै नेपालीले जानकारी पाउने गरी प्रचार–प्रसार गर्नुपर्ने।

५. आगलागी भएको देख्नेबित्तिकै स्थानीय निकाय र अन्य जनतालाई जानकारी गराउने तथा आगलागी नियन्त्रणमा सहयोग गर्ने व्यक्तिलाई नगद पुरस्कार र प्रशंसापत्रद्वारा सम्मान गर्ने व्यवस्था मिलाउने।

६. डढेलो लगाउन नहुनेबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक नेपालीको घरमा आगलागी गरेमा हुने कारबाहीका बारेमा ज्ञानमूलक सूचना वडा कार्यालयमार्फत वितरण गर्ने।

७. आगलागी नियन्त्रण गर्ने संयन्त्र र साधन प्रत्येक स्थानीय निकायसँग हुने व्यवस्था मिलाउने र एकआपसमा समन्वय गरी तत्काल आगलागी नियन्त्रण गर्ने अभ्यास बसाल्ने।

अन्त्यमा, धेरै देशले कुनै न कुनै रूपमा आगलागीको समस्या भोगेका छन्। यसबाट ठूलो मानवीय तथा वातावरणीय क्षति सम्बन्धित देश र विश्वले भोग्नु परेको छ। ठूला वनजंगल भएका देशमा मानिसभन्दा प्रकृतिबाट (जस्तै, चट्याङबाट) आगो लाग्ने अवस्था पनि देखिन्छ।

यस्तो अवस्थामा आगलागी भए पनि तुरुन्तै निभाउने प्रभावकारी संयन्त्र विश्वमै निर्माण हुन सकेको देखिँदैन। यसतर्फ वैज्ञानिकहरू लाग्नुपर्ने देखिन्छ। विभिन्न ग्रहमा मानिस पठाउने, बस्ती बसाल्ने, वा एक स्थानबाट प्रहार गरेको बम हजारौँ किलोमिटर टाढा क्षति पु¥याउने प्रविधि विकास गर्न सक्ने मानवजाति आगलागी तुरुन्तै नियन्त्रण गर्ने संयन्त्र निर्माण गर्न किन नसकेको भन्ने प्रश्नमा वैज्ञानिकको ध्यान जानु आवश्यक छ।

नेपालको सन्दर्भमा, राज्यले लिने हरेक नीति समसामयिक, व्यवहारिक र कार्यान्वयन गर्न सकिने हुनुपर्छ। यसो हुन सके मात्र राज्य सम्बद्ध, विकसित, सभ्य र लोककल्याणकारी हुनसक्छ। यस कुरालाई मनन गरी, आगलागीले ठूलो क्षति पु¥याउने भएकाले प्रत्येक नागरिक सचेत र संवेदनशील हुने वातावरण निर्माण गर्न सरकारले आवश्यक नीति, नियम, ऐन, कानून निर्माण गरी कडाइका साथ कार्यान्वयनमा ल्याओस् र नेपाललाई डढेलोमुक्त राज्यका रूपमा विश्वमा चिनाओस्—हामी सबै नेपालीको यही चाहना हो।
 

टिप्पणीहरू