सत्तामा पुगेपछि क्रान्ति सम्पन्न हुने हो कमरेड ?

सत्तामा पुगेपछि क्रान्ति सम्पन्न हुने हो कमरेड ?

क्रान्तिको अवधारणा मानव इतिहासमा सधैं बहसको विषय बनेको छ । विशेष गरी माक्र्सवादी दृष्टिकोणमा क्रान्ति भनेको सत्ता परिवर्तन मात्रै नभएर समाजको मूलभूत संरचनामा आमूल परिवर्तन ल्याउने गहन प्रक्रिया हो । ‘सत्तामा पुगेपछि क्रान्ति सम्पन्न हुन्छ हो ?’ भन्ने प्रश्नलाई बहसको रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ किनभने हामी क्रान्तिकारीहरूले सत्ता हासिल गरेपछि उद्देश्य पूरा भएको मान्ने वा नमान्ने ? यो धेरै गम्भीर प्रश्न हो । हाम्रो सन्दर्भमा त झनै सान्दर्भिक र महत्वपूर्ण छ । किनभने यहाँ माओवादी जनयुद्ध तथा ऐतिहासिक संयुक्त जनआन्दोलनको तागतमा २००६ मा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना भएको हो । यो परिघटनालाई हामीले पुँजीवादी क्रान्ति सम्पन्न भएको ठान्दछौं । यही पुँजीवादी क्रान्तिमार्फत दलहरू सत्तामा पुगे ।

तर तिनीहरूले देशमा अपेक्षित परिवर्तन ल्याउन सकेनन् । अहिले बहुसंख्यक जनतामा ठूलो असन्तुष्टि बढिरहेको छ । त्यसकारण कुनै पनि सत्ता प्राप्ति क्रान्तिको समापन होइन बरु यसको सुरुवात मात्र हो । क्रान्ति त एक निरन्तर प्रक्रिया हो जहाँ सत्ता प्राप्तिपछि पनि वर्ग संघर्ष, सामाजिक, आर्थिक तथा सांस्कृतिक कामहरू निरन्तर चलिरहन्छन् ।     हामीले क्रान्तिको अवधारणालाई माक्र्सवादी सिद्धान्तको आलोकमा रहेर बुझ्नु पर्छ । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले ‘कम्युनिष्ट ‘मेनिफेष्टो’ मा क्रान्तिलाई पूँजीवादी समाजबाट समाजवादी समाजमा संक्रमण हुने प्रक्रियाको रूपमा व्याख्या गर्नुभएको छ । उँहाहरूका अनुसार क्रान्ति भनेको सर्वहारा वर्गले सत्ता कब्जा गरेर उत्पादनका साधनहरूको स्वामित्व लिने प्रक्रिया हो । तर यो एकै घटनामा सम्पन्न हुन संभाव हुँदैन । माक्र्सको ‘पर्मानेन्ट रिभोल्युशन’ को अवधारणाबाट क्रान्ति एक निरन्तर प्रक्रिया हो भन्ने बुझिन्छ । ट्रोट्स्कीले पनि विश्वव्यापी क्रान्तिको आवश्यकतालाई जोड दिंदै यदि क्रान्ति अन्तर्राष्ट्रिय स्तरमा फैलिन सकेन भने, यो एक्लिन सक्छ र क्रान्ति अधुरो रहन जान्छ भनेका छन् ।

लेनिनले ‘द स्टेट एण्ड रिभोल्युशन’ मा क्रान्तिकारीहरूले राज्य यन्त्र कब्जा गरेपछि यसलाई सर्वहारा अधिनायकत्वमा रूपान्तरण गर्नुपर्छ र मात्रै समाजवादी समाज निर्माण गर्न सकिन्छ । सत्ता प्राप्ति मात्रले क्रान्ति पूरा हुँदैन । यसपछि पनि उत्पादन सम्बन्धहरूमा परिवर्तन, शिक्षा र संस्कृतिमा क्रान्ति आवश्यक रहन्छ । त्यसकारण यो प्रक्रिया लामो हुन्छ भन्नुभएको छ । स्टालिनले पनि क्रान्तिको निरन्तरता चाहिने कुरालाई मानेको पाइन्छ । माओ त्सेतुङले क्रान्ति सत्ता प्राप्तिपछि पनि जारी रहन्छ, किनकि वर्गसंघर्ष समाजवादी समाजमा पनि हुन्छ भन्नुभएको छ । माओले सत्ता प्राप्तिपछि पनि पार्टीभित्र पँुजीवादी तत्वले क्रान्तिमाथि आक्रमण गर्न सक्ने सम्भावना रहिरहन्छ भन्नेतर्फ सचेत गराउनु भएको पाइन्छ । त्यसकारण ट्राटस्कीले भनेजस्तो ‘एक्लो देशमा समाजवाद सम्भव छैन’ भन्ने कुरालाई हामीले आत्मसात गर्नु पर्छ ।

प्रचण्ड र बाबुराम भट्टराईको नेतृत्वमा माओवादी पार्टी पटक पटक सत्तामा पुगे । तर, के यी दुई जनाले सत्तामा पुगेपछि देशमा अपेक्षित परिवर्तन ल्याउन सके त भन्दा सकेनन् । कम्युनिष्ट नाम गरेका ओली, नेपाल र खनालहरू पनि पटकपटक सत्तामा पुगे । तर यिनीहरूले पनि देशमा परिवर्तन ल्याउन सकेनन् । यिनीहरूले सत्ताको चरित्रलाई बदल्ने गरी कुनै क्रान्तिकारी काम गरेनन् । यिनीहरूको सत्तारोहण क्रान्तिको अन्त्य थिएन । सत्तामा पुगेपछि यी पाँचैजना कम्युनिष्ट आदर्शबाट विचलित हुन पुगे । बुर्जुवा लोकतन्त्र अपनाउन पुगे जसले क्रान्तिलाई ‘रेड बुर्जुवावाद’ मा रूपान्तरण गर्‍यो । क्रान्ति राजनीतिक मात्र हुँदैन । राजनीतिक क्रान्तिसँग आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरू सँगसँगै जोडिएर आएका हुन्छन् । सत्ता प्राप्तिपछि यदि उत्पादन सम्बन्ध परिवर्तन भएनन् भने, सामाजिक–सांस्कृतिक सम्बन्धहरू बलियो बनाइएन् भने प्रतिक्रान्तिलाई रोक्न सम्भव हुँदैन, क्रान्ति अधुरो रहन जान्छ ।

समग्रमा, ‘सत्तामा पुगेपछि’ क्रान्ति सम्पन्न भएको हुँदैन । सत्ता प्राप्ति क्रान्तिको साधन मात्रै हो, साध्य होइन । माक्र्सवादी सिद्धान्तले क्रान्तिलाई निरन्तर प्रक्रिया मानेको छ, जसमा सत्ता प्राप्तिपछि पनि वर्ग संघर्ष जारी रहन्छ । क्रान्तिकारीले सत्ता प्राप्त गरेपछि पनि जनताको सशक्तीकरण, सांस्कृतिक परिवर्तन र विश्वव्यापी एकतामा निरन्तर जोड दिइरहनु पर्छ । अन्यथा, क्रान्ति ‘रेड बुर्जुवावाद’ मा रूपान्तरण हुन्छ । अहिले नेपालको पुँजीवादी क्रान्ति ‘रेड बुर्जुवावाद’ मा रूपान्तरित हुन पुगेको छ । त्यसकारण क्रान्ति एउटा घटना होइन, यो त निरन्तर यात्रा हो जो निरन्तर चलिरहनुपर्छ भनेर बुझ्नु जरुरी छ । कमरेडहरू, सत्ताको चास्नीमा डुब्न छोडौं, क्रान्तिलाई जीवन्त राखौं ।
 

टिप्पणीहरू