मूर्तिकला, चीनको कथा

मूर्तिकला, चीनको कथा

चीनको होहोट शहरमा अन्तर्राष्ट्रिय मूर्तिकला प्रदर्शनी सुरु भएको छ । गत मंगलबारदेखि होहोट स्कल्प्चर आर्ट म्युजियममा आयोजित दोस्रो मूर्तिकला प्रदर्शनीमा  चीन, फ्रान्स, जर्मनी, इटालीलगायत २० देशका ८० कलाकारका ९५ कृति राखिएका छन् । 

प्रदर्शनीलाई उत्तरी चीनको होहोट र विश्वबीच कलात्मक आदान–प्रदानको पुलको रुपमा लिन थालिएको । यस वर्षको प्रदर्शनीको शीर्षक ‘मूर्तिकलाको माध्यमबाट चीनको कथा’ राखिएको छ । यसअघि सन् २०२३ मा आयोजित पहिलो प्रदर्शनीले सांस्कृतिक सूत्रका रूपमा रेशम मार्गलाई अँगालेको थियो । 

आयोजकका अनुसार म्युजियम स्वयम् एउटा कलाकृति हो । चिनियाँहरुले मूर्तिकला प्रदर्शनीलाई ‘परित्यक्त खाडललाई सौन्दर्यमा बदल्ने’ पूर्वी सौन्दर्यशास्त्रको अभिव्यक्ति भन्ने गरेका छन् । पछिल्लो दुई वर्षमा म्युजियमले दुई अन्तर्राष्ट्रिय प्रदर्शनी र सात विषयगत प्रदर्शनी आयोजना गरिसकेको छ ।

होहोटको इनर मङ्गोलिया म्युजियम, आर्ट म्युजियम र ग्रासल्यान्ड सिल्क रोड पार्कसँगै यसले ५.६ किलोमिटरको ‘सांस्कृतिक अक्ष’ निर्माण गरेको छ । यसलाई शहरको सांस्कृतिक जीवन्तताको प्रतीक मान्ने गरिएको छ ।

प्रदर्शनीमा कास्य, पत्थर, विभिन्न धातुका माध्यममा यथार्थवाददेखि अमूर्तसम्मका मूर्तिहरू राखिएका छन् । स्थानीय बासिन्दा याङ स्याओवेनले यसपटकका कृति ‘झन् जीवन्त र व्यक्तिगत सौन्दर्यसँग नजिक’ रहेको बताए । उनकी ८ वर्षीया छोरीले ‘स्ट्रबेरी बन्नी’ कृति देखाउँदै भनिन्, ‘यसमा स्ट्रबेरी र खरायोलाई सुन्दर ढंगले मिसाइएको छ, मलाई मनपर्यो ।’

फ्लोरेन्स एकेडेमी अफ आर्टका मूर्तिकला विभाग निर्देशक क्रिस्टियन बियासीका अनुसार आजको बढ्दो भर्चुअल संसारमा सार्वजनिक मूर्तिकला वास्तविक मानवीय सम्बन्धसँग पुनःजोड्ने महत्वपूर्ण कलाभाषा हो । चीन अर्बन स्कल्प्चर एसोसिएसनका उपाध्यक्ष जिङ युमिनका अनुसार यो ‘समय र स्थान पार गर्ने सौन्दर्य संवाद’ हो । यसले ‘सहअस्तित्व र साझा सुन्दरता’ को विचार प्रतिबिम्बित गर्छ ।

यो प्रदर्शनी आगामी जनवरी २०२६ सम्म चल्नेछ । सो अवधिमा मूर्तिकला सलोन, कला बजारलगायत कार्यक्रम आयोजना गरिँदै छ ।

टिप्पणीहरू