सीता जन्मिएको ठाउँ भारत पो हो !

सीता जन्मिएको ठाउँ भारत पो हो !

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले गत साउन २३ गते भारत, बिहारस्थित सीतामढी जिल्लाको पुनौराधाममा जानकी मन्दिरका लागि भूमिपूजन र शिलान्यास गरे । ‘माँ जानकी मन्दिर’ नाम दिइने सो मन्दिर आगामी सन् २०२८ सम्म निर्माण सम्पन्न हुने बताइएको छ । 

सन् २०२४ को लोकसभा निर्वाचनपूर्व अयोध्यामा भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिर शिलान्यास गरेका थिए भने बिहारमा हुने विधानसभा चुनावअघि गृहमन्त्री शाहले जानकी मन्दिर शिलान्यास गरेर राजनीतिक रङ दिन खोजेका छन् । भारतीय जनता पार्टीको वेबसाइटले पुनौराधामलाई माता जानकीको जन्मस्थल नै बताएको छ । बेवसाइटअनुसार सो अवसरमा सहकारितामन्त्रीसमेत रहेका शाहले शिलान्यासको अवसर सीतामढी, मिथिलाञ्चल, बिहार मात्र नभएर पूरै देश र दुनियाँका लागि शुभ अवसर भएको बताउँदै भने, ‘माता जानकीको जन्मभूमिमा जुन मन्दिर बन्ने छ, त्यो भाग्योदयको सुरुआत हो ।’

नेपालका लागि भारतको आन्तरिक राजनीतिसँग कुनै सरोकार छैन तर भारतीय मिडियाले पुनौराधामलाई नै सीता जन्मस्थल ठानेर समाचार प्रकाशन गरेकाले नेपाल चनाखो हुनुपर्ने अवस्था छ । भारतको राज्य सरकारले सो भूमिलाई रामजन्मभूमि अयोध्या जस्तै विकास गर्ने जनाउँदै वरिपरिको ५० एकड भूमि अधिग्रहण गरेको छ र करिब भारु नौ अर्बको योजना स्वीकृत गरेको छ ।

यो विषयबारे केही नेपाली मिडियाले समाचार दिए पनि नेपाल सरकारले केही प्रतिक्रिया नदिएकाले उसलाई यस विषयमा ज्ञात भएजस्तो लाग्दैन । नरेन्द्र मोदीले लुम्बिनी आएर गौतम बुद्धको पूजाआजा गरे पनि सिद्धार्थलाई आफ्नै भूमिमा जन्मेको भन्न छाडेको छैन । शुद्धोधनको प्राचीन कपिलवस्तु राज्य नै भारतमा भएको बताएर उसले नेपालको तिलौराकोटलाई युनेस्कोको विश्वसम्पदा सूचीमा राख्न भाँजो हाल्यो र नेपालको प्रस्ताव हाल स्थगन भयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ मा रामजन्मभूमि अयोध्यामा नेपालमै भएको बताएको र उनी अहिलेसम्म पनि बेला बेलामा सोही कुरामा अडिग छन् । उनको सो भनाइप्रति भारत सरकारको औपचारिक प्रतिक्रिया आएको थाहा भएको छैन । सायद सोही कुराको खण्डन गर्न उसले सीतामढीको पुनौराधाम रोजेको हुनसक्छ जुन नेपालीलाई आजसम्म पत्तो छैन । राजा जनकले जनकपुरमा हलो जोतेको र त्यहीँ सीतालाई फेला पारेको कुरा सरकारले स्पष्ट भन्न सक्नुपर्छ ।

टिप्पणीहरू