नेपालीको सपना बाकसमा, सरकारको समवेदना कागजमा

नेपालीको सपना बाकसमा, सरकारको समवेदना कागजमा

वैदेशिक रोजगारी–यो शब्द सुन्नासाथ कतिपयलाई सजिलो जीवन, डलर कमाउने मौका र उज्यालो भविष्यको चित्र मनमा आउँछ । तर यथार्थ कस्तो छ ? विदेशिएका धेरै नेपालीको कथा सपनाको होइन, पीडाको हो । उनीहरूले बोकेको भारी–‘परिवारलाई सुख–सपना दिने’ अभिलाषा–धेरैलाई बाकसमा फर्किन बाध्य बनाइरहेको छ।

पछिल्लो तथ्याङ्क सुन्दा जो कोहीको शरीर काँप्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार गत साउन महिनामा मात्र एक सय ७४ जना नेपालीको शव नेपाल ल्याइएको छ । यसको अर्थ, हरेक दिन ४ देखि ५ जना नेपाली श्रमिक लास बनेर आफ्नै देश फर्किरहेका छन् ।

ती सबैको कथा एउटै हो–देशभित्र काम र अवसर नपाएर विदेशिएका, आफ्नो पसिना बेचेर परिवारको भविष्य उज्यालो बनाउन खोजेका, तर अन्ततः अकल्पनीय पीडासहित बाकस (कफिन) मा फर्किएका ।

कोही बुवाको शव लिन विमानस्थल धाएको देखिन्छन् भने कोही श्रीमान् वा छोराको । छाती चौंडा पारेर वैदेशिक रोजगारीमा पठाएको परिवार आज आफ्नो नजिकको मान्छेको कफिन खोल्दा मुटु गाँठो पारेर बस्नुपर्ने बाध्यतमा छ ।

साउनको मध्यतिर वीरगञ्जकी एउटी आमा कुवेतबाट आएका छोराको शव लिन त्रिभुवन विमानस्थल पुगिन् । आँखा रातो र शरीर काँपिरहेको अवस्थाकी आमा निरन्तर बर्बराइरहेकी थिइन्–‘तँ गइस् घर बनाउन, बैङ्कको ऋण तिर्न, म त तेरो बिहे गर्न सपना देखेकी थिएँ... तर तेरो लास मात्र ल्याइयो ।’ त्यो चित्कारले विमानस्थलमा रहेका सबैलाई रुवाएको थियो । 

यस्ता दृश्य कुनै अपवाद होइनन्, हरेक दिन दोहोरिएको देखिन्छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले झनै तीतो सत्य देखाउँछ– गत आर्थिक वर्ष २०८१/०८२ मा मात्र १२ सय ५५ नेपाली श्रमिकले विदेशी भूमिमा ज्यान गुमाएका थिए । यसरी हरेक वर्ष हजारौँ नेपाली विदेशमै मर्नु भनेको केवल संयोग होइन । यो संरचनागत कमजोरी, सरकारी बेवास्ता र श्रमिक सुरक्षाप्रतिको उदासिनताको परिणाम हो ।

नेपाली युवाहरू विदेश जान बाध्य छन्, किनकी स्वदेशमा रोजगारी छैन, अवसर पनि देखिँदैन । अधिकांशले विदेशमा घाममा सेकिने, रातभर पसिना चुहाउने, जोखिमपूर्ण निर्माणस्थल र स्वास्थ्य सुरक्षा नभएका कारखानाहरूमा रोजगारी पाउँछन् । धेरैको काम थाल्नुअघि गरिएको स्वास्थ्य परीक्षण पनि नक्कली हुने गरेको छ । 

मलेसिया, कतार, साउदीमा ‘हर्ट अट्याक’ बाट मृत्यु भएका सयौँ श्रमिकको वास्तविक कारण अझै अस्पष्ट छ। कोही कामको दबाबले, कोही कार्यस्थल दुर्घटनाले, कोही अस्वच्छ बासस्थान वा खानपानले ज्यान गुमाउँछन्। तर छानबिन गर्ने र दोषी ठहर गर्ने प्रणाली भने कमजोर छ।

यहाँ प्रश्न खडा हुन्छ—सरकार किन मौन छ? नेपाली श्रमिकले पठाउने रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको सबैलाई थाहा छ। तर त्यही श्रमिक विदेशी भूमिमा मरिरहँदा सरकार रमिते बनेर बसिरहेको छ।

बीमा रकम पाउन महिनौँ धाउनुपर्छ, राहत पाउन फेरि दलाल वा मध्यस्थसँग लड्नुपर्छ। सयौँ सपना बोकेर ऋण काडेर विदेश गएका बाकसमा फर्किँदा गुमाउने कुरा केवल प्रियजन मात्र होइन, ऋणको चक्रव्यूहमा अड्किएका परिवारको भविष्य पनि हो।

आज नेपाली श्रमिकको पसिना र रगतले यो देशको अर्थतन्त्र धानिएको छ। तर उनीहरूलाई सरकारले दिएको प्रतिफल भने बाकसभित्र फर्किनुपर्ने अवस्था मात्रै हो भने–यो कस्तो न्याय?

विदेशिएका नेपालीहरूले आफ्नो परिवारलाई मात्र होइन, मातृभूमिलाई पनि पालिरहेका छन्। उनीहरूको जीवन र मृत्युमा सरकार मौन बस्ने हो भने—भोलि इतिहासले ‘नेपाली श्रमिकलाई बेवास्ता गर्ने निर्दयी सरकार’ भनेर चिनाउनेछ।

 

टिप्पणीहरू