उज्बेकिस्तानमा खेलेर फर्किँदै सशस्त्रको टोली
‘ओमन्स क्लब च्याम्पियन लिग’ का लागि उज्बेकिस्तान गएको सशस्त्रको टोली स्वदेश फर्किँदै छ । ‘एसियन फुटबल कन्फेडरेशन’ को आयोजनामा गत भदौ ९ गतेदेखि हिजोसम्म जारी लिगमा सहभागिता जनाउन नेपालबाट दुई दर्जनको टोली गएको थियो ।
टोलीमा चार जना वरिष्ठ अधिकारीहरु छन् । केन्द्रीय सूचना अधिकारीसमेत रहेका डिआइजी कालिदास धौबजी, एसएसपी कमल तिमिल्सिना,डिएसपी जिवेश पाण्डे र इन्स्पेक्टर विजय केसी टोलीलाई लिएर गएका हुन् ।
‘सबै जना लावालस्कर लगाएर जानुपर्ने थिएन । त्यो फेरि डिआइजी सहभागी हुने हैसियतको कार्यक्रम पनि होइन । चार जना त वरिष्ठ नै गएका छन् । उनीहरुको साटो कुनै राम्रो खेलाडी लगेको भए अन्तर्राष्ट्रिय स्तरमा तिनलाई हौसला नै मिल्थ्यो होला !’,स्रोतले भन्यो । डिआइजी धौबजी असोजमा घर जाँदैछन् ।
सशस्त्रका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार डिआइजी धौबजी फुटबल मैदानको अध्ययन गर्नका निम्ति टोलीसँग त्यता गएका हुन् । जनआस्थासँग उनले भने,‘उहाँ फुटबल मैदानको विषयमा अलिक बढी जानकार हुनुहुन्छ । उताको फुटबल ग्राउण्ड कस्तो छ ? हाम्रो फुटबल ग्राउण्डलाई कसरी स्तरोन्नति गर्न सकिन्छ ? त्यही अध्ययन गर्नका लागि टोलीसँग जानुभएको हो ।’
एसएसपी तिमिल्सिना क्लबको अध्यक्ष भएकाले उनी जानैपर्ने भएको सह–प्रवक्ता थापाको जिकिर छ । त्यसैगरी,डिएसपी पाण्डे कोच र इन्स्पेक्टर केसी व्यवस्थापक भएको उनको भनाइ छ । सबै जना गृह मन्त्रालयको स्वीकृति लिएर गएको उनले जानकारी दिए ।
अगाडि थपे,‘सबै जना गृह मन्त्रालयको स्वीकृति लिएर जानुभएको हो । हिजो फाइनल खेल थियो । आज रेस्ट गर्नुहुन्छ । अबको एकाध दिनमा स्वदेश फर्किनुहुन्छ होला ।’ उहाँहरु सरकारको खर्चमा जानुभएको कि सशस्त्रको खर्चमा ? भन्ने जनआस्थाको प्रश्नमा थापाले भने,‘त्योचाँहि मलाई ठ्याक्कै थाहा भएन । एन्फाको खर्चमा जानुभएकोजस्तो लाग्छ ।’

टिप्पणीहरू