विद्यासामु जब मणि भक्कानिए
एमालेको राजनीतिबाट दरकिनारमा पारिएकी पूर्वराष्ट्रपति तथा तत्कालीन उपाध्यक्ष विद्या भण्डारीसामु प्रदेश तहका एक नेताले आँशु झार्दै गुनासो पोखेका छन् । राजनीतिक भेटघाटका क्रममा आइतबार कलैया उत्रिएकी विद्यालाई स्वागत गर्न पुगेका एकजना प्रदेश कमिटी सदस्य स्थानीय अन्तरविरोधको प्रसंगमा गहभरी आँशु पार्दै भक्कानिए ।
यी व्यक्ति हुन्, स्थानीय शिक्षकसमेत रहेका निधि थरका पुराना एमाले नेता । पार्टीमा चलिरहेको कित्ताबन्दीको राजनीतिमा खुलेर कतै नलागेका उनले विद्यासँग बिलौना गर्दै भने, ‘पार्टी कार्यालय जलाउनेहरूलाई आज कमरेड भनेर लालसलाम गर्नुपरेको छ । यसले धेरै पीडा दिँदोरहेछ हजुर !’
यो सन्दर्भ हो, एमाले केन्द्रीय सदस्य तथा रौतहट इञ्चार्ज अजय गुप्ताको । एमालेका कैयौँ पुराना नेतालाई विस्थापित गर्दै जिल्लाको राजनीतिमा हैकम चलाइरहेका गुप्ता कुनै समय मधेशलाई एमालेमुक्त बनाउने अभियानको अग्रमोर्चामा रहेका पात्र हुन् । मधेश आन्दोलनका बेला तत्कालीन फोरममा रहेका उनकै अगुवाइमा एमालेको पार्टी कार्यालयमा आगो लगाउनेदेखि कार्यकर्तालाई लखेट्नेसम्मका गतिविधि चलेको थियो । त्यसैक्रममा गुप्ताले निधिलाई नियन्त्रणमा लिई जिउमा मोबिल खन्याएर कालोमोसोसमेत दली बजार घुमाएका थिए । तर, समय यस्तो कठोर बनेर आइदियो कि अहिले यिनै गुप्तालाई नेता मानेर निधिजस्ता इमान्दार कार्यकर्ताले परैबाट लालसलाम टक्र्यापर्ने भएको छ ।
यही प्रसंग कोट्याएर मणिशंकर निधिले गुनासो गरे– एमाले सिध्याउन हिँडेकाहरूलाई शीरमै ल्याएर राखिदिएपछि हामी तलका कार्यकर्ता कुन उत्साहले काममा जुट्ने ? जवाफमा विद्याले पार्टीभित्र मौलाएको यो प्रवृतिप्रति चिन्ता व्यक्त गरेको बताइएको छ । पार्टीलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा अवसर खोजेर घुमी हिँड्नेहरूलाई प्रवेश गराउन लालायित भएकोमा अचम्म मान्दै भनिन्– हाम्रोमा अहिले अरु–अरु पार्टीका पुराना मान्छे खोज्दै ल्याउने होडबाजीजस्तो देखिन्छ, तर राजनीतिप्रति रुचि राख्ने नयाँ पुस्तालाई आकर्षित गर्नेगरी नीति बनाउन सकिएको छैन ।
गुनासो सुन्ने र सुनाउने क्रममा नयाँ पुस्तालाई विचारधाराका हिसाबले कसरी पार्टीमा जोड्ने र लोकतान्त्रिक आन्दोलनमा भएका योगदानलाई अझै स्थापित गर्न कस्तो नीति बनाउने भन्नेबारे छलफल चल्यो । विद्याको चिन्ता थियो– कतै हामी नयाँ पुस्ताबाट टाढिँदै त छैनौँ !
आफ्नो शक्तिमा विश्वास नगर्ने तर बाहिरकालाई महत्वका साथ पार्टीमा भिर्याउने कम्युनिष्टहरूको महारोग नै हो । यो मामलामा एमाले सबैभन्दा अगाडि देखिन थालेको छ । मन परेका मान्छेलाई पद र अवसर बाँड्न सिपालु केपी ओलीले ०७९ को चुनावमा धेरै नवप्रवेशीलाई हाताहाती टिकट दिएका थिए । गुप्ता पनि त्यहीमध्येका हुन् । उपेन्द्र यादवको फोरमबाट राजनीति शुरु गरेका उनी अवसर खोज्दै केही समय महन्थ ठाकुरको लोसपामा अडिए । जब मधेशमा जसपा र लोसपाको शक्ति कमजोर हुँदै गयो, उनको नजर एमालेमा पर्यो । र, ओलीले पार्टी प्रवेश गरेको ३ महिनामै टिकट दिएर रौतहट–१ मा माधव नेपालविरुद्ध भिडाए ।
अवसरको खोजीमा ‘इधर उधर’ गर्नेहरूको आश्रयस्थल जस्तो बनाइएको एमालेमा विवादित पात्रलाई प्रवेश गराउने धारावाहिक यो श्रृंखला रोकिएको छैन । केही दिनअघिमात्रै अध्यक्ष ओलीले प्रभु साहले भ्रष्टाचारीको आरोपमा कारवाही गरेर निकालेका केही मान्छेलाई च्यासलमा जम्मा पारेर सिन्दुर लगाइदिए । बलात्कार र भ्रष्टाचारको मुद्दा लागेका दुई जनालाई सफाइ नपाउँदै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही पुगेर पार्टीमा भिर्याएको एक हप्ता पनि भएको छैन । पुरुषोत्तम पौडेल रौतहटको इञ्चार्ज भएका बेला उनलाई सोध्दै नसोधी कुन्दन कुशवाहाको टोलीलाई प्रवेश गराउन च्यासलमै होडबाजी चल्यो । तत्कालीन पोलिटब्युरो सदस्य प्रभु साहनिकट कुन्दन एमालेलाई सराप्दै पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र चुनाव लडेका थिए । त्यसलगत्तै एमालेले उनीहरूलाई कारवाही गरेर साधारण सदस्यबाट समेत निश्कासन गरेको थियो ।
निर्वाचनपछि प्रभुले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्दा कुन्दन महासचिव थिए । तर, पार्टी फेर्दै हिँड्ने बानी परेका यिनी फेरि एमालेमै फर्किए । टिकट च्यातेर हिँड्नेहरूलाई पार्टीमा भिर्याउने एमाले नेतृत्व फरक मत राख्ने नेता–कार्यकर्तामाथि भने अनुशासनको तरबार उज्याउन उद्यत छ ।
यता, वडादेखि नगर हुँदै संघ र प्रदेश सबैतिर आगामी ०८४ को निर्वाचनलाई लक्ष्यित गर्दै कित्ताकाट शुरु भैसकेको भन्न थालिएको छ । नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउनेहरूको विकल्पमा भित्रभित्र अर्को पात्र खोज्ने अभियान चलाइएको बताइन्छ । त्यसको एक उदाहरण रौतहटका उद्धव रेग्मी हुन् । केन्द्रीय सदस्यसमेत रहेका उनी गत निर्वाचनमा रौतहट–४ बाट २६ हजार ५५९ मत ल्याएर दोस्रो भएका थिए । जिल्लामा राम्रै पकड बनाएका उनी विद्यातिर ढल्केकै कारण नेतृत्वको पेलानमा परेको अनुमान स्थानीय कार्यकर्ताले गरेका छन् ।
(जनआस्था साप्ताहिकको भदौ १८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू