देशको अवस्थाको सानो दिग्दर्शन
सर्वोच्च अदालतले छानबिनको लागि बाटो खोलिदिएपछि चर्चित गौर हत्याकाण्ड प्रकरणबाट निकै आत्तिएको उपेन्द्र यादवको जनता समाजवादी पार्टीसंग अहिले अदालतमा प्रतिवादी बनाइएका जम्मा ५ जना मात्रै व्यक्ति रहेको खुलासा भएको छ । रोचक त के छ भने त्यो घटनाका दोषीहरू सबै जसपाका नेता होलान् भन्ने आम नागरिकलाई लागिरहेको बेला अदालतमा प्रतिवादी बनाइएका १३० जनामध्ये ५ जना मात्रै त्यसमा रहेको देखिएको हो । जस्तो कि त्यसै बखतबाट नै खुंखार अपराधीको रूपमा चिनिएका बबन सिंह अहिले नेकपा एमालेमा छन् ।
प्रतिवादीमध्येका अन्य व्यक्ति एमाले, कांग्रेस र केही माओवादी पार्टीमा समेत सक्रिय रहेको जानकारी प्राप्त भएको छ । तर, यो घटनाबाट आफू थप पेलिएको महसुस गरेको जसपा भने भूमिसम्बन्धी विधेयकलाई राष्ट्रिय सभामा पारित हुनबाट रोक्ने रणनीतिमा लागेको छ । यसअघि पनि अध्यादेशबाट अघि बढाइएको यो विधेयक राष्ट्रिय सभामा बहुमतबाट पारित हुन नसक्ने देखिएपछि फिर्ता लिइएको थियो ।
भूमि विधेयक एमालेले निकै नै ठूलो महत्व दिइरहेको विधेयक हो । एमालेले सर्कुलर नै जारी गरेर सबै जिल्ला र प्रदेश कमिटीलाई भूमि आयोगको काममा सहयोग गर्न र त्यसलाई सफल बनाउन निर्देशन दिएको छ । त्यसरी महत्व दिनुका पछाडि पनि केही खास कारण रहेको विश्लेषण गरिँदैछ । यदि लालपुर्जा वितरण गर्न पाइयो भने त्यसबाट निकै ठूलो संख्यामा भोटर बढ्ने अनुमान छ । विशेषगरी नयाँ शहरहरू र निकै मूल्यवान मानिने जग्गामा भूमिसम्बन्धी समस्या रहेको छ ।
उदाहरणको लागि पूर्वको एउटा महत्वपूर्ण पर्यटकीय स्थल मानिने भेडेटारमा यसको समस्या निकै जल्दोबल्दो छ । धनकुटाकै अन्य क्षेत्रहरू राजारानी, ओख्रे, डाँडा बजार, बतासेमा समेत भूमि समस्या देखा परेको छ । पूर्वको राजमार्गमै रहेका पथरी, कानेपोखरी, लक्ष्मीमार्ग, भाउन्नेलगायत क्षेत्रमा यस्तै समस्या छ । अधिकांश भाग वन क्षेत्रअन्तर्गत रही आएका छन् । सामुदायिक वन क्षेत्र सार्वजनिक र अन्य जग्गा माथिको अतिक्रमणबाट विस्तार भएका नयाँ शहरहरूमा यदि लालपुर्जा वितरण गर्ने हो भने त्यसबाट मनग्ये आर्थिक लाभ स्थानीय नेता, कार्यकर्ताले लिन सक्छन् ।
आफूलाई धेरै दुःख दिएको भन्दै सरकारलाई असहयोग गर्ने निश्कर्षमा पुगेको जसपा र त्यसका अध्यक्ष उपेन्द्र यादवले पछिल्ला दिनमा एमाले, कांग्रेसका नेताहरूसँगको भेटघाटलाई समेत प्राथमिकतामा राखेको देखिँदैन । उपसभामुख हटाउने कुरामा पनि जसपाले सरकारलाई सहयोग नगर्ने भएको छ ।
त्यसो त नेपाली कांग्रेसको राजनीतिमा समेत निकै ठूलो संकट देखा परिरहेको छ । आगामी निर्वाचनमा एमाले कांग्रेससँग मिलेर चुनाव लड्ने सोचका साथ अघि बढिरहेको देखिन्छ । त्यसो गर्न नसक्दा प्रचण्डले भनेझैँ कतै रवि लामिछाने शक्तिशाली बन्ने त होइन भन्ने त्रास ठूला दलमा उत्तिकै व्याप्त छ । आफूलाई भावी पार्टी सभापतिको रूपमा प्रस्तुत गरिरहेका गगन थापा पुख्र्यौली घर सोलुखुम्बु भएको नाताले त्यहाँका स्थापित काङ्ग्रेसी नेता बलबहादुर केसी र एकजना शेर्पालाई व्यवस्थापन गरेर आफू त्यहाँ जाने योजनामा रहेको स्रोतको दावी छ ।
उता राजेन्द्र लिङ्देनलाई आफ्नो साथ बिना चुनाव जितेर देखाउने चुनौती दिएका केपी ओली राप्रपाको समर्थन बिना स्वयं आफू पनि सुरक्षित नरहेको झापाली नेताहरू नै बताउँछन् । ओलीको चुनावी क्षेत्रमा १२ हजारभन्दा बढी मत राप्रपाको रहेको छ । त्यही मतको दुई पटकसम्म तालमेलका कारण ओलीलाई जाने गरेको थियो ।
टिप्पणीहरू