मूलमै फोहोर, खै कति उठ्यो मोहोर

मूलमै फोहोर, खै कति उठ्यो मोहोर

मूलमै फोहोर छ, धाराको टुटी सफा गरेर के अर्थ ? लाइन मिनिष्ट्री मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयभित्रै एक तिहाई कर्मचारी निजामती ऐनविपरीत कार्यरत छन् । कर्मचारी संगठन, माथिसम्मकै पहुँच, पावरका भरमा जरा गाढेर बसेका रैथाने कर्मचारीलाई कुनै पनि मन्त्री र सचिवले चलाउने हिम्मत गरेनन् । नवनियुक्त मन्त्री भगवती न्यौपानेले १०५ नगरपालिका र ८६ गाउँपालिकालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य पारेको दावी गरे पनि उपसचिवलाई समेत शाखा अधिकृतलाई चाहिँ जिम्मेवारी सम्हालेको हप्ता दिनमै भकुण्डो बनाइएको छ । दृष्टिविहीन महिला उपसचिवमाथि सामान्य मानवतासमेत नदेखाई दोलखाको भीमेश्वर नगरपालिकामा खटाइएको पाइएको छ भने एक जना शाखा अधिकृतलाई १५ दिनअगाडि एउटा पालिकाबाट तानेर अहिले त्यहीँ खटाइएको छ ।

मन्त्री न्यौपानेले २ वर्षभन्दा बढी मन्त्रालय वा अन्तर्गत कार्यरत, उपत्यका केन्द्रित कार्यालयमै सीमित, स्थानीय तहमा काम नगरेका, प्रदेशमा खटिएका फाजिल वा अतिरिक्त समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखेर स्थानीय तहमा खटाइएको दावी गरिरहँदा सामान्य प्रशासन मन्त्रालयमा १ सय ९ भन्दा बढी कर्मचारी कतै नगई थुप्रिएका छन् । तीमध्ये एक तिहाइ बढी दुई वर्षभन्दा लामो समयदेखि यतै छन् । त्यही मन्त्रालयमा सुब्बा बनेकाहरू अहिले उपसचिव भइसके । जागिर खाएको २७ वर्ष सिंहदरबार नछाड्ने उपसचिव पनि त्यहीँ छन्, १३ वर्षदेखि सो मन्त्रालय छाडेर दायाँ बायाँ नहुने ट्रेड युनियनका नेताले नै मन्त्री न्यौपानेको दाहिने हात बनेर सघाइरहेका छन् ।

उपसचिव तुल्सी भट्टराई सात वर्षदेखि सोही मन्त्रालयमा छन् । यस्तै रेशमलाल कँडेल ११ वर्षदेखि त्यहीँ छन् । योजना अनुगमन शाखा हेर्दै आएका जनकराज शर्मा १३ वर्षदेखि कतै गएनन् । २७ वर्ष सिंहदरबार बसेका ट्रेड युनियन नेता मोहन घिमिरे अहिले वातावरण तथा विपद् समन्वय शाखाका हाकिम छन् । विकास सहायता समन्वय शाखामा सारिएका महेन्द्र सापकोटा ११ वर्षदेखि रैथाने रूपमा चिनिन्छन् । बढुवा शाखा हेर्दै आएका उपसचिव अश्विनकुमार पोखरेल चार वर्षदेखि त्यहीँ छन् । यस्तै तिर्थ पौडेल र खिलराज राईहरू सामान्यमा भित्रिएको दुई वर्ष भयो । रूपनारायण खतिवडाले पाँच वर्ष यतै बिताइसके ।

यस्तै शाखा अधिकृतहरू हरिप्रसाद पौडेल सात वर्ष, पवन गुप्ता ३ वर्ष, दिपेश कट्टेल ५ वर्षदेखि त्यहीँ छन् । प्रज्ञा ढकाल, प्रकाश पन्थीहरू दुई वर्षभन्दा बढी भयो । प्रादेशिक कर्मचारी प्रशासन शाखा हेर्ने सुदिप सापकोटा चार वर्षदेखि र हरिप्रसाद दाहाल ३ वर्षदेखि मन्त्रालयमै छन् । यसअघि सोही मन्त्रालयमा एमालेनिकट कर्मचारी संगठनको अध्यक्ष चलाएका लेखनाथ भट्टराईले ११ वर्षदेखि अन्यत्र जानुपरेको छैन । यस्तै, खगेन्द्र पौडेल पाँच वर्ष, गौरव पन्थी चार वर्षदेखि यतै छन् । गोविन्द केसी, द्रोण निरौलाहरू पाँच वर्षभन्दा लामो समयदेखि यतै छन् । जयराम उप्रेती चार वर्ष, सन्तोष खत्री पाँच वर्ष, चन्द्रसिंह श्रेष्ठको पाँच वर्ष बितिसकेको छ । गंगाबहादुर थापा ८ र गौरव पन्थीहरू ११ वर्षदेखि, अविलाल राई ५ वर्षदेखि, राजप्रसाद सेवाबाट आएका अक्कल महर्जनहरू कर्मचारी समायोजन हुँदादेखि कतै गएका छैनन्।

नासु रामचन्द्र अधिकारी (आरसी) रैथाने हुन् । आन्तरिक व्यवस्थापन शाखामा छन् । उनीझैँ तेजनारायण पौडेल पाँच वर्षदेखि, रिना महर्जन ७ वर्षदेखि त्यहीँ कार्यरत छन् । पुष्प रेग्मी पाँच वर्ष, नारायण बस्नेत १० वर्षदेखि, गोविन्द फुँयाल ७ वर्षदेखि त्यहीँ छन् । ऋषि आचार्यको साला हुन् । ऋषिले उपसचिव हुँदा एमालेनिकट कर्मचारी संगठनका नेता जीवन भण्डारीले मन्त्रालयमै गमला उठाएर टाउकोमा प्रहार गरेका थिए । पछिल्लो सरुवामा स्याङ्जाली भीमकान्त पौडेलहरू हावी भएको स्रोतको भनाइ छ । भीमकान्त स्थानीय तह कर्मचारी प्रशासन फाँटका हर्ताकर्ता हुन् । 
 

टिप्पणीहरू