क्याबिनेटमा कता–कता नमिलेका कुरा

क्याबिनेटमा कता–कता नमिलेका कुरा

सरकारी सेवामा रहेका जोसुकैले अवधि समाप्त भएको दुई वर्षसम्म कुनै जागिर वा सेवामा रहन नपाउने ऐन लागू भएमा त्यसले मन्त्रीलाई छुने कि नछुने ?  हुन त अहिले निजामती कर्मचारीका हकमा मात्रै त्यो ऐन आकर्षित हुने कुरा गरिएको छ । तर, संवैधानिक इजलासमा मुद्दा पर्दा अर्कै किसिमको व्याख्या आयो भने नि ! अनावश्यक रूपमा अदालतलाई निजामती ऐनमा ठाउँ दिइयो भने कि त ऐन पूरै खारेज हुन्छ कि सरकारी सेवामा रहेका सबैलाई समान रूपमा लागू हुने फैसला आउन सक्छ । 

यतिवेला मधेशी, समावेशी र निर्वाचन आयोगलगायत संवैधानिक निकायका प्रमुख र सदस्यहरूको पद गरी जम्मा ३०–३२ सिट खाली छ । केही समयपछि अख्तियारका आयुक्त किशोर सिलवालको कार्यकाल समाप्त हुँदैछ । यी सबै पदमा विभिन्न व्यक्तिलाई नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बस्नुपर्ने हुन्छ । यसबीच, संवैधानिक परिषद्को पदेन सदस्य रहेकी उपसभामुख इन्दिरा राना मगरलाई हटाएर एमाले र कांग्रेस गठबन्धन अनुकूलको पात्रलाई नियुक्त गर्ने प्रयासलाई अकन्टक बनाउने प्रयाससमेत असफल हुन पुगेको छ ।

उनलाई अविश्वासको प्रस्तावसहित पदमुक्त गर्न संकलन गरिएको सांसदहरूको खालीपेपरमा हस्ताक्षर अहिले त्यत्तिकै थान्को लागेको अवस्था छ । किनभने कमजोर प्रतिपक्ष र साना दलका नेताहरूमाथि दवाव बढाउन अपनाइएका तौरतरिकाका कारण दुईतिहाइ बहुमतको अवस्थामा सरकार पुग्न सकेको छैन । त्यसमा पनि उपसभामुख महिला र जनजाति पृष्ठभूमिकी भएकाले ठूला पार्टीहरूलाई निकै अप्ठ्यारो हुने देखिन्छ । कांग्रेस–एमाले गठबन्धनको यस्तो कदमले रास्वपालाई नै उल्टो सहयोग पुग्ने वातावरण तयार हुनेछ । रास्वपाका नेता तथा कार्यकर्ताले यसै विषयलाई उठान गरी महिला र जनजातिमाझ प्रभाव जमाउने वातावरण पनि तयार हुन सक्छ । 

पत्रकारहरूको नियामक संस्था प्रेस काउन्सिल अध्यक्षको अझैं टुङ्गो लागेको छैन । बालकृष्ण बस्नेतको पदावधि समाप्त भएको महिनौं बित्दा पनि सो पदमा  कसैको नियुक्ति हुन सकेको छैन । सो पदका लागि बस्नेतलाई नै दोहो¥याउने, अखण्ड भण्डारीलाई अध्यक्ष बनाउने र बाला अधिकारीलाई अध्यक्ष बनाउने भन्दै सञ्चार मन्त्रालयले क्याबिनेट बैठकमा फेरिफेरि प्रस्ताव लगेको पनि तीन पटक भइसकेको छ । अर्कोतर्फ मिडियासम्बन्धी ऐनमा पत्रकार महासंघलगायतका सरोकारवालाहरूको विरोध जारी छ । 

अघिल्लो हप्ता मन्त्रिपरिषद्को बैठकमा टेबल गरिएको २२ वटा प्रस्तावमध्ये १० वटा मात्रै पारित भएका थिए । जसमध्ये विदेश भ्रमणका कार्यक्रम सबैभन्दा बढी थिए । अचेल सेनाको बढुवा, सरुवा, विदेश यात्रालगायत विषय बढी नै गुपचुप राख्न थालिएको छ । यसअघि फलाना दर्जाको फलाना व्यक्ति फलाना कामको लागि विदेश जाने वा बढुवा–सरुवा हुने गथ्र्याे । तर, केही महिना यताआएर सो पारदर्शी सूचनालाई लुकाउन थालिएको छ । अहिले एक उपरथी विदेश जाने, एक कर्णेलको बढुवा हुने जस्ता शब्दावली प्रयोग गर्न थालिएको छ । त्यसो त सेनालाई अदालत र अख्तियार नलाग्ने सुविधा छँदै छ । 

आइजिपीको पदावधि समाप्त नहुँदै नयाँ नियुक्त गर्ने चलन ध्रुवबहादुर प्रधान र अच्युतकृष्ण खरेलभन्दा अघि कायम थियो । पदावधि सकिएपछि नयाँको निर्णय गर्ने चलन चन्द्रकुबेर खापुङ्को पालादेखि नियुक्तिपछि तोडिन पुगेको छ । 
 

टिप्पणीहरू