भूपू कर्णेलका छोरा नयाँ बानेश्वरबाट बेपत्ता
आज जेन–जी समूहको आन्दोलनमा सहभागी एक जना युवा बेपत्ता भएका छन् । सेनाको अवकाशप्राप्त कर्नेल माधवसुन्दर खड्काका २५ वर्षे छोरा दिउँसो साढे ३ बजेदेखि बेपत्ता रहेको पारिवारिक श्रोतले बतायो ।
छोरो बेपत्ता भएको चाल पाएपछि माधव आफैँ दिउँसो ४ बजे नयाँ बानेश्वर पुगेका थिए । छोरो खोज्ने क्रममा प्रहरीको लाठी प्रहारबाट आफू घाइते भएको उनले भिडियोमा उल्लेख गरेका छन् ।
उनका अनुसार एक सातादेखि भारतीय दूतावासमा रोजगारी शुरु गरेका छोरा साम्राज्यबहादुर खड्का आज दिउँसो १ बजे भ्रष्टाचार र कुशासनविरोधी अभियानको ब्यानर बोकेर आन्दोलनको अग्र भागमा पुगेका थिए । जनआस्थासँगको कुराकानीमा माधव भन्छन्, ‘अभियानको ब्यानर बोकेर छोरो २ बजेदेखि आन्दोलनको अग्रभागमा सहभागी भएको थियो । साढे २ बजेसम्म फोनमा मसँग कुराकानी भइरहेको थियो । ३ बजेपछि मोबाइल स्वीच अफ भयो ।’
छोरोको नाम न घाइतेको सूचीमा न ज्यान गुमाएकोमा देखेपछि माधव भौंतारिएका छन् ।
त्यसपछि अत्तालिँदै उनी घरबाट छोरो खोज्न बानेश्वरको संसद भवन बाहिर पुगे । तर, प्रहरीको लाठीले घाइते भएपछि घर फर्केका उनले भिडियो सन्देशमार्फत् सबैलाई घटना र आजको आन्दोलनबारे जानकारी गराएका छन् । भन्छन्, ‘अबको जेन जी आन्दोलनको नेतृत्व वर्तमान राजनीतिक दलका कुनै पनि नेता तथा कार्यकर्ताले गर्न पाउने छैनन् । शहीद तथा घाइते परिवारका सदस्यले यसको आगामी नेतृत्व गर्नेछन् ।’
छोरो खोज्दै जाने क्रममा प्रहरीको लाठी खाएका अमेरिका बाट फर्की भ्रष्टाचारविरोधी अभियानमा सँलग्न खड्काले छोरोको नाम अहिलेसम्म कुनै पनि अस्पतालको सूचीमा नरहेको बताए । ‘मोबाइल अफ छ, उनले चढ्ने गरेको स्कुटर सिंहदरबारको पूर्वी गेट छेउमा राति ८ बजे फेला परेको छ,’ खड्काले भने ।
छोरोको नाम न घाइतेको सूचीमा न ज्यान गुमाएकोमा देखेपछि माधव भौंतारिएका छन् । पाँच महिनादेखि भ्रष्टाचार र कुशासनविरोधी अभियानमा सक्रिय माधवले दिउँसो छोरालाई बाबुको अभियानको ब्यानर बोकाएर पठाएका थिए ।
टिप्पणीहरू