पुलिसलाई हराउँदै एपीएफ सिमारा महिला फूटबलको फाइनलमा

पुलिसलाई हराउँदै एपीएफ सिमारा महिला फूटबलको फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जीतपुरसिमारा अन्तराष्ट्रिय आमन्त्रण महिला फूटबल प्रतियोगिता-२०८२ को फाइनलमा प्रवेश गरेको छ । शनिबार बेलुकी सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ५-२ गोलले हराउँदै एपीएफले फाइनलमा त्रिभुवन फूटबल क्लबसँगको भेट पक्का गरेको हो ।

सिमारा रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गर्दा अनिता बस्नेत, निशा थोकर र अनिता केसीले समान एक/एक गोल गरे । पुलिसको लागि मनिषा राउत र रेखा पौडेलले समान एक/एक गोल गरे । खेलको पाँचौं मिनेटमै अनिता बस्नेतले फ्रि-किकमा गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । 

२० औँ मिनेटमा रश्मीले डी-बक्स बाहिरबाट सुन्दर गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । पाँच मिनेटपछि मनिषाले कर्नर किकबाट सिधै गोल गर्दै पुलिसलाई २-१ गोलको स्थितिमा ल्याएकी थिइन् । ४० औँ मिनेटमा निशाले हेडर गोल गर्दै एपीएफलाई सहज जिततर्फ अगाडि बढाएकी थिइन् । 
पाँच मिनेटपछि अनिता केसीले गोल गर्दा एपीएफले पहिलो हाफमा ४-१ गोलको अग्रता लिएको थियो । ५४ औँ मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर ८८ औँ मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५-२ गोलको जित दिलाएकी हुन् ।

अब एपीएफले सोमबार हुने फाइनल खेलमा त्रिभुवन आर्मी फूटबल क्लबको सामना गर्नेछ । आर्मी शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा रौतहट जिल्ला फूटबल एकेडेमीलाई ८-० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।
 

टिप्पणीहरू