अत्यधिक लोभले निम्त्याएको आपतकाल

अत्यधिक लोभले निम्त्याएको आपतकाल

चौहत्तर वर्षीय केपी शर्मा ओलीलाई तेस्रोपटक अध्यक्ष बन्न बाटो खुला गर्दै एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सम्पन्न भएलगत्तै देशको परिस्थिति नराम्ररी भड्किएर नेताहरुको भागाभाग भएको छ । यसअघि विवादमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालसम्बन्धी विधानको धारा–६४ को प्रावधान हटाउँदै ओलीलाई पुनः अध्यक्ष हुने सुनिश्चितता गरिएको हो । विधानमा यो व्यवस्था कायम रहेको भए २०७१ देखि लगातार नेतृत्वमा रहेका उनले घर फर्किनुपर्ने हुन्थ्यो तर अघिल्लो पुस्ताको सत्तामा छाइरहने असीमित लोभका कारण मुलुक अब गृहयुद्धग्रस्त क्षेत्रजस्तै बन्न पुगेको छ ।

एमालेले पहिलो विधान महाधिवेशनबाट पार्टीको पदाधिकारी हुन ७० वर्षको उमेर सीमासँगै कार्यकारी पदमा यौटै व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था गरेको थियो । तर, त्यतिबेला पनि अध्यक्ष ओलीको अनुकूलताका लागि त्यसमाथि संशोधन गरियो । यसपालि उनलाई ‘निर्विकल्प नेता’ का रूपमा प्रस्तुत गर्दै थप शक्तिशाली बनाइएको छ । 

अध्यक्ष ओलीको मनोकांक्षा अनुमोदन गर्नकै लागि आयोजना गरेकोजस्तो देखिएको महाधिवेशनले सर्वाधिक चासो र चर्चामा रहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा भने कुनै निर्णय गरेन । यद्यपि, समूहगत छलफलका क्रममा यो विषय जोडतोडका साथ उठेको थियो । महाधिवेशन उद्घाटन गर्दै ओलीले पूर्वराष्ट्रपतिको सदस्यताको विषय एजेण्डामा नरहेको भन्दै छलफलमा बन्देज लगाउन खोजे पनि प्रतिनिधिहरूले त्यसलाई स्वीकार गरेनन् । पूर्व राष्ट्रपतिको सन्देश पत्रसमेत बाँडिएको महाधिवेशनमा यो बहसको मुख्य विषय बनेको थियो ।

अधिकांश प्रतिनिधिको प्रश्न थियो– ‘पार्टीको जिम्मेवारीअन्तर्गत काममा पठाउने अनि काम सकेर फर्किएपछि घरमा छिर्न दिन्न भनेर हुन्छ ?’ बताइएअनुसार बागमती र कोशी प्रदेशका लगभग ९० प्रतिशत प्रतिनिधिले पूर्वराष्ट्रपतिको विषय उठाएका थिए । यता, संस्थापन समूहका प्रतिनिधि भने विधानमै व्यवस्था गरेर रोक्नुपर्ने पक्षमा उभिए । अधिकांशको तर्क रह्यो– राष्ट्रपति संस्थाको गरिमा जोगाउनका लागि पनि राष्ट्रपति, उपराष्ट्रपति भैसकेकाहरू पार्टीको सक्रिय राजनीतिमा आउनु हुँदैन । शनिबारको छलफलमा उपमहासचिव तथा बालुवाटारका सल्लाहकार विष्णु रिमालका खास मान्छे भनेर चिनिएका बाराका अमर यादवले त्यस्तो तर्क गर्दा प्रतिवादसमेत भएको थियो ।

राष्ट्रिय शक्तिहरूप्रति अध्यक्षको दृष्टिकोणमाथि पनि कतिपयले प्रश्न उठाएका थिए । अबको प्रधान अन्तरविरोध कोसँग हुने सुस्पष्ट नभएको, मित्रशक्ति र विरोधीबीच सीमारेखा प्रष्ट नखुलेकोजस्ता विषयमा आलोचना भयो । दस्तावेजमा नेपाली काँग्रेसप्रति नरम धारणा राखेका ओलीले यो पार्टीलाई ऐतिहासिक आन्दोलनको संवाहक शक्ति भए पनि गतिशील पार्टी होइन भनेका छन् । आजको युगको नेतृत्व कांग्रेसले गर्न नसक्ने ठहर उनको छ । राष्ट्रिय आवश्यकताले ऊसँग एमालेले सहकार्य गर्नुपरेको भन्दै वर्तमान सत्ता गठबन्धनको बचाऊ गरिएको छ । त्यसो त, सत्ता सहकार्यमा हुँदा मित्र मानेको पार्टी फरक कित्तामा पुग्नेबित्तिकै दुश्मन ठान्ने नेपाली राजनीतिको आमप्रवृत्ति जस्तै बनेको छ ।

वैचारिक, राजनीतिक हिसाबले नदीको अर्को किरानामा उभिएको कांग्रेसलाई मित्र ठानेका ओलीले एमालेको आफ्नो नामको अगाडि ‘नेकपा’ झुण्ड्याएको माओवादी केन्द्रको भने कडा आलोचना गरेका छन् । सो पार्टीका अध्यक्ष प्रचण्डलाई अस्थिर पात्रका रूपमा चित्रित गर्दै प्रतिवेदनमा माओवादीको अस्वित्व स्वीकार गर्नसमेत आनाकानी गरिएको छ । रोचक कुराचाहिँ, संसद्को चौथो ठूलो दल रास्वपालाई एउटा राजनीतिक पार्टीका रूपमा स्वीकार गरिएको छैन । जबकि रास्वपा सभापति रवि लामिछानेलाई दुईपल्ट उपप्रधानसहित गृहमन्त्री बनाउन ओलीको भूमिका थियो । शनिबारको छलफलमा मधेश प्रदेश समितिका पूर्वउपाध्यक्ष सर्लाहीका रेवती पन्त, केन्द्रीय सदस्य दिवाकर देवकोटालगायतले यस्तै विषयमा केन्द्रित रहेर धारणा राखेको बताइएको छ ।

ओलीको दस्तावेजमा रहेको अर्को महत्वपूर्ण विषय हो– समाजको वर्ग विश्लेषण । जसमा समाजको वर्गीय संरचनालाई निम्न, मध्यम र उच्च वर्गमा विभाजन गरिएको छ । वार्षिक आय रु. १.५ लाखभन्दा कम हुनेलाई निम्न, १.५ लाखदेखि ५ लाखसम्म हुनेलाई मध्यम र ५ लाखभन्दा बढी हुनेलाई उच्च वर्गमा राखिएको छ । तर, जब अन्तरविरोधबारे प्रष्ट धारणा छैन भने वर्ग विश्लेषण पनि यथार्थपरक नहुने भन्दै केही प्रतिनिधिले बोल्ने क्रममा आलोचनात्मक टिप्पणी गरे ।

‘जब एउटा वर्गीय पार्टीले दलाल पुँजीपतिको विरोध गर्न सक्दैन । वर्ग संघर्ष गर्ने पार्टी हो कि हैन ? प्रधान अन्तरविरोध कोसंग हो छुट्टिएको छैन भने वर्ग विश्लेषण कसरी हुन्छ ?’, समाचार स्रोतले छलफलमा उठेका विषय सुनाउँदै भन्यो, ‘दिपक भट्टहरूजस्ता बिचौलियासँग हाम्रो उठबस हुन्छ भने संघर्ष कोसँग हुने हो ? अध्यक्षको प्रतिवेदनमा खै आएको यो कुरा ?’

ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार, शक्ति पृथकीकरण, आवधिक निर्वाचनजस्ता लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्ने स्पष्ट पारिएको छ । तर, त्यसलाई खण्डन गर्नेगरी प्रतिनिधिसभा विघटनको समर्थन गरिएको छ । ‘जबजको विशेषता भन्दै संवैधानिक सर्वोच्चताको कुरा गरेको छ तर यो संविधानभित्र रहेर दुईचोटि संसद विघटन गर्‍याैँ त्यो असंवैधानिक हो भनेर सर्वोच्च अदालतले फैसला गर्‍यो । संविधानको व्याख्या गर्ने सर्वोच्चले हो, तर अहिले पनि विशेषाधिकारका रुपमा अथ्र्याएर संसद विघटन जायज भनी दस्तावेजमा लेखिरहेका छौं भने यो जबजविरोधी भाषा हो’, भित्री कुरा खुलाउँदै स्रोतले भन्यो ।

समग्रतामा हेर्दा प्रतिवेदनमा आर्थिक, सामाजिक, दार्शनिक कोणबाट एमाले अरु पार्टीभन्दा कसरी फरक रह्यो भन्ने कुरा प्रष्टसँग खुलेको छैन । गोलमटोल भाषामा टापटिपे कुरा जोडजाड गरिएको छ, जसकारण सबै पार्टी उस्तै हुन् भन्ने आमभाष्यलाई थप मलजल गरेको बुझाइ एमाले कार्यकर्ताको छ ।

दस्तावेजमा कतिपय ऐतिहासिक तथ्यहरूलाई बंग्याउने प्रयाससमेत गरिएको देखिन्छ । ०७९ को आमनिर्वाचनमा ६ पार्टीको गठबन्धनविरुद्ध एमाले एक्लै लडेको प्रतिवेदनमा लेखिएको छ । तर, तराई–मधेसमा उपेन्द्र यादवको जसपा र ओलीको गृहजिल्ला झापासहित देशका केही निर्वाचन क्षेत्रमा एमालेले राप्रपासँग चुनावी सहकार्य गरेको थियो । कमल थापालाई सूर्य चिह्नबाट उठाइएको थियो भने समानुपातिक भोटका लागि परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई खस–आर्यतर्फ पहिलो नम्बरमा रखिएको थियो । होलीवाइन उपनामले बद्नाम उनी अहिले एमाले सांसद छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको आठ दशकबारे प्रतिवेदनमा चर्चा गर्दा माओवादी आन्दोलनको प्रसंग कतै उल्लेख नगर्नु अर्को अनौठो भएको छ । जबकि दशौँ महाधिवेशनमा समेत एमालेलाई तत्कालीन नेकपाको निरन्तरताका रूपमा अथ्र्याइएको छ । ‘अहिले हामी यो पार्टीलाई माओवादीसँग एकताको निरन्तरता छ भन्छौँ, माओवादी पृष्ठभूमिका साथीहरू पनि संगै कुम जोडेर बस्नुभएको छ । तर, यो कुरा जहिले पनि यहाँ आउँछ तर कसैले बोल्दैन, अवसरवादको निकृष्ट नमूना यही हो,’ विधान महाधिवेशनमा बोल्ने एक प्रतिनिधिले भने, ‘दश वर्षको सशस्त्र संघर्षको उपलब्धि के हो ? छ भने उल्लेख गर्नु पर्छ कि पर्दैन ? उपलब्धि र कमजोरी दुवै पक्ष पक्कै होला ! ’

एमाले र माओवादीबीच एकता हुँदा त्यसबेलाको राजनीतिक प्रतिवेदनमा पनि ‘जनयुद्ध’ लाई स्वीकार गरिएको थियो । बृहत शान्ति सम्झौता र १२ बुँदे सहमतिले पनि गणतन्त्र, समानुपातिक, समावेशितालाई माओवादी एजेण्डाका रूपमा ग्रहण गरेकै छ । संविधान सभाको माग पहिला उठाउने पार्टी पनि माओवादी नै हो । तर, कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण पक्ष सशस्त्र संघर्ष ओलीको प्रतिवेदनमा अटेन ।

रमाइलो कुराचाहिँ, रैथाने एमाले नेताले यसबारे प्रश्न उठाउँँदा माओवादी पृष्ठभूमिका ज्वाला साह र मोहम्मद समिरले चर्को आपत्ति जनाएका थिए । मधेसका एक प्रतिनिधिले धारणा राखिरहेका बेला उनलाई रोक्दै समिरले ‘किन बढी समय दिएको’ भनी कार्यक्रम सञ्चालकको ध्यानाकर्षण गराएपछि केहीबेर वादविवाद चलेको थियो । हालै मधेश भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भेटघाट नगर्न स्थानीय कार्यकर्तालाई उर्दी जारी गर्ने यी दुई अध्यक्ष ओलीलाई मन पर्ने कुरा गरेर नम्बर बढाउने अनि मन्त्री खाने दाउमा थिए । प्रचण्ड प्रधानमन्त्री भएका बेला छोटो समय कृषिमन्त्री बनेकी ज्वाला संघीय सांसद हुन् भने समिर मधेश प्रदेशका ।

(जनआस्था साप्ताहिकको भदौ २५ गते बुधबारको अंकमा प्रकाशित)
 

टिप्पणीहरू