छैठौंपटक गिनिज बुकमा नाम लेखाउन सफल हरिचन्द्र
नेपाली सेनाका लान्स कर्पोरेल हरिचन्द्र गिरी छैंठौंपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् । यसअघि विभिन्न पाँच वटा विधामा विश्व कीर्तिमान राखिसकेका उनले यसपटक पाँच सय मिलिलिटर कागतीको जुस हातले टेकेर उल्टो भई २४ सेकेण्डमा पिएर गिनिज वर्ल्ड बुकमा आफ्नो नाम लेखाएका हुन् ।
लन्डनस्थित गिनिज वर्ल्ड रेकर्डको हेडक्वार्टरमा भएको सो प्रतियोगितामा हातले टेकेर उल्टो भई छिटो जुस पिउनेमा उनी पहिलो व्यक्ति बनेका छन् । उनले सर्वप्रथम हातले टेकेर भर्याङको ५० खुड्किला १२.६५ सेकेण्डमा पूरा गर्दै बुकमा नाम लेखाएका थिए । स्विट्जरल्याण्डको केभिन डेलकोको नाममा रहेको सो रेकर्डलाई आफ्नो नाममा गर्दै गिनिज वर्ल्ड रेकर्डको यात्रा शुरु गरेका उनी त्यतिमै रोकिएनन् । मुलुकलाई विश्वमाझ चिनाउने हुटहुटी भएका उनले सन् २०२२ मे ४ मा अर्को रेकर्ड आफ्नो नाममा गरे ।
उनले आफ्नो खुट्टाको बीचमा फुटबल राखी हातले टेकेर सबैभन्दा छिटो ५० मीटर हिँड्ने नयाँ कीर्तिमान बनाए । झाङ सुआङको २६.९ सेकेण्डको कीर्तिमानलाई केही सेकेण्डले पछि पार्दै २५.५८ सेकेण्डमा रेकर्ड कायम गरे ।
त्यसलगत्तै आफ्नो खुट्टाबीच फुटबलको साथ हातमा सबैभन्दा छिटो १० मीटर हिँड्ने कीर्तिमान पनि बनाउन सफल भए । जुन ४.४९ सेकेण्डमा पूरा गरेका थिए । तीन वटा रेकर्ड कायम गरेपछि पनि अर्को रेकर्डको भोका रहेका गिरीले केबल २५.३ सेकेण्डमा हातमा ७५ वटा खुड्किला झरेर चौंथो रेकर्ड कायम गरेका हुन् ।
पाँचौं पटक उनले गुड्ने अवस्थामा रहेको टायरमाथि एक मीनेटमा १२० पटक ‘स्किपिङ’ खेलेर रेकर्ड राखेका थिए ।

टिप्पणीहरू