ओलीले त्यसदिन चाल्न खोजेको अन्तिम कदम
जेनजीहरूको आन्दोलन सोचेभन्दा उत्कर्षमा थियो । सुरक्षा निकाय, बालुवाटार कसैले यो स्तरको सहभागिता होला भन्ने सोचेका थिएनन् । २३ गते बेलुकासम्म १९ जना युवाको मृत्यु भइसकेको थियो । सत्ता जान सक्ने भयमा थिए, प्रधानमन्त्री केपी शर्मा ओली । यसर्थ एमालेका भ्रातृ संगठनहरूलाई २४ गते सडकमा उतार्ने तयारीस्वरुप २३ गते रातभर बालुवाटारमा छलफल चलाए ।
युवा संघ र खेलकुद महासंघलाई बालुवाटार आउन फोनमार्फत खबर गयो । युवासंघका एक पदाधिकारीका अनुसार, राति ९ बजे उनीहरू बालुवाटार पुगेका थिए । त्यतिबेला मन्त्रिपरिषदको बैठक चलिरहेको थियो । बैठक सकिनासाथ कांग्रेस सभापति शेरबहादुर देउवा छिरेर ओलीसँग छलफल गरे ।
देउवा बालुवाटारमा रहेकै बेला चार सुरक्षा प्रमुख ओलीसँग छलफलमा जुटेका थिए । जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, राजीनामा दिएका गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल र मुख्य सल्लाहकार विष्णु रिमाल थिए । सुरक्षा प्रमुखहरूले वातावरण बिग्रिसकेकाले राजीनामा दिन उपयुक्त हुने सुझाव दिए ।
तर, ओली प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङमाथि खनिए । भने, ‘आइजिपीको म्याद नसकिँदै तपार्ईलाई जिम्मेवारी दिएको होइन ? किन सम्हाल्न सक्नुभएन ?’ ओली झन् आक्रामक रूपमा प्रस्तुत भए । स्रोतले भन्यो, ‘जेनजीका नाममा जो जो घुसपैठ गर्न आए, आन्दोलन भड्काए यिनीहरूका बारेमा किन आकलन गर्न सक्नुभएन, कि तपाईंहरू पनि बिक्नुभयो ? सरकारले गति लिन्छ, तपार्ईंहरूले आफ्नोबारे सोच्नुहोला ।’
सुरक्षा प्रमुखहरूलाई निलम्बन गर्न सक्नेसम्मको आशय त्यहाँ व्यक्त भएको स्रोतले बताएको छ । ती सबै निस्किएपछि ओलीले मध्यरातमा युवासंघ र खेलकुदको टिमसँग भेटेका थिए । सो भेटमा ओली र खेलकुदका टिमबाहेक विष्णु रिमाल रहेको युवासंघका एक पदाधिकारीले बताए । उनका अनुसार २४ गते बिहान युवासंघको नेतृत्वमा एमाले भ्रातृसंगठनले देशभर प्रदर्शन गर्नुपर्यो भन्ने ओलीको निर्देशन थियो । ‘पहिला वाइसिएलसँग भिडेको युवासंघ अहिले छैन,’ युवासंघका एक पदाधिकारीले यत्ति के बोलेका थिए, ओली जंगिए, ‘संकटका बेला काम नलाग्ने के संगठन ? भोलि जसरी पनि जुलुस निकाल्नु, अरु आउनुभन्दा पहिला सडक कब्जा गर्नुस् ।’
ओलीका कुरा नसकिँदै विष्णु रिमालले मजदुर संगठन पनि सडकमा आउने बताए । तर, छलफल निश्कर्षमा पुग्न सकेन । ओलीले जसरी पनि भनेर एक खालको धम्की दिएका थिए । बाहिर निस्केर युवा संघको टिमले एकछिन के गर्ने भनी छलफल गर्यो र यस्तो बेला संयमित रहने निश्कर्ष निकाली आ–आफ्ना घरतिर लाग्यो । २४ गते बिहान नेताहरूले युवासंघका पदाधिकारीलाई सम्पर्क गरेका थिए कसरी जाने भनेर तर आफूहरूले संयमता अपनाएका कारण ठूलो दुर्घटना टरेको तिनै पदाधिकारीले बताए ।
सेना प्रमुखसँग नोकझोंक
२३ गते बेलुका चार वटै सुरक्षा प्रमुखसँग आक्रामक रूपमा प्रस्तुत भएका ओलीको २४ गते बिहान सेना प्रमुख अशोक सिग्देलसँग नोकझोक भयो । त्यसबारे सिग्देलले निकट जर्नेलहरुलाई बताएका छन् । एक उपरथीले दिएको जानकारीअनुसार, २४ गते बिहान चार वटै सुरक्षा प्रमुखहरू पुनः ओलीलाई आग्रह गर्न गएका थिए । तिनलाई ओलीले उल्टै हप्काए । ओली नगलेको देखेपछि सुरक्षा प्रमुखहरू निस्किए र छलफलमा सँगै रहेका अर्थमन्त्री विष्णु पौडेल बाहिर आएर अशोक सिग्देललाई भित्र लगे ।
बालुवाटार स्रोतका अनुसार सेनासँग कुरा गर्न ओलीले ट्र्याक टु को बाटो पनि समाएका थिए । अर्थात् राम्रो संगत भएका नेतालाई प्रयोग गरेर सेनालाई मनाउन खोजिरहेका थिए । यही विषयमा पौडेलले सिग्देलसँग संवाद गरेका हुन् । नरम शैलीमा पौडेल प्रस्तुत भएका कारण सिग्देल पनि सहज रूपमा छलफलमा सहभागी भएका थिए ।
ओली, पौडेल र सिग्देलबीच भएको छलफल भने नरमभन्दा पनि गरम भयो । जसरी पनि सेनाले वातावरण नियन्त्रणमा लिनुपर्छ भन्ने ओलीको अडान थियो । तर, सिग्देलले भने, ‘भर्खरका युवा आन्दोलनमा छन्, यस्तो पुस्तालाई सेनाले गोली हान्न सक्दैन, बरु हजुरले वातावरण सहज बनाइदिनुपर्यो ।’ सिग्देलको कुरा सुनेपछि ओली झोंक्किए, ‘ए, सेनाले प्रधानमन्त्रीको राजीनामा माग्ने दिन आए ?’ त्यसपछि सिग्देल बोले, ‘मैले मेरो कुरा गरेको हैन, हजुरहरूलाई यही बालुवाटारमा पनि सुरक्षा दिन सम्भव छैन, वातावरण सहज बनाउन सेनाको सुरक्षित स्थानमा हजुरहरू जानुपर्ने हुन्छ ।’
सेना प्रमुख बाहिर निस्किएपछि फेरि विष्णु पौडेल बाहिर आएर चारै जनासँग संवाद गरे र प्रधानमन्त्रीले राजीनामा दिने कुरा सुनाए । प्रधानमन्त्री, मन्त्री र नेताहरूको सुरक्षाबारे सरोकार राखे । ‘राजीनामा आओस्, सुरक्षा दिने काम भइहाल्छ,’ सिग्देलले भने । ओलीको राजीनामा आएसँगै सेनाले मन्त्री र नेताहरूलाई सुरक्षित स्थानमा लान शुरु गरेको तिनै जर्नेलले बताए । उनका अनुसार प्रधानमन्त्री, मन्त्री र अन्य नेताहरूलाई विभिन्न ठाउँमा राख्नका लागि पहिल्यै स्थान पहिचान गरिएको थियो ।
टिप्पणीहरू