रवि थुन्ने न्यायाधीश झण्डै मारिए

रवि थुन्ने न्यायाधीश झण्डै मारिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘जेन–जी’ पुस्ताको आन्दोलनमा आफ्नो पनि रोटी सेकेको खुलेको छ । रविविरुद्ध मुद्दा चलेका अदालतहरुमा छानी छानी आगो लगाइएको छ भने उनलाई जेल पठाउने रुपन्देहीका न्यायाधीशलाई मार्ने प्रयास भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अपचलनबापत थुनामा पठाइएका उनले बैंक जमानतमा छोड्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए । 

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले गत साउन २७ गते त्यसरी छोड्न अस्वीकार गरेको निहुँमा रविका कार्यकर्ताले उनलाई मार्न खोजेका हुन् । २४ गते उनलाई भैरहवामा धुइँधुइँती खोजिएको थियो । नेपाली सेनाको ब्यारेकमा लुकेर उनले ज्यान जोगाएका थिए । उता, जिल्लाकै आदेश सदर गर्ने उच्च अदालत तुलसीपुरको बुटवल इजलास पनि खरानीमा परिणत भएको छ । रविको मुद्दा त्यहीँ चलिरहेको छ । 

भदौ २४ गते सर्वोच्चसहित अन्य अदालतहरु बालिँदा मिसिलहरू नष्ट भएको छ । कम्प्युटर पनि जल्दा रेकर्ड धुँवासँगै उडेको छ । काठमाडौं जिल्ला अदालतमा रविको मिसिल भएकै फाँटलाई टार्गेट गरी आगो लगाइएको छ । उक्त क्षतिका कारण अदालतले अनिश्चितकालका लागि सेवा ठप्प पारेको छ । चितवन जिल्ला अदालत ध्वस्त छ भने जिल्ला सरकारी वकिल कार्यालयमा तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनबाट फाइल निकाल्न खोजिएकोमा भरतपुर तालिम केन्द्रका रिक्रुटहरु पठाएर प्रहरीले बल्लतल्ल रोकेको थियो । 

एक प्रहरी अधिकृतका अनुसार झण्डै ५० हजारको संख्यामा आन्दोलनकारीले चितवन जिल्ला प्रहरी कार्यालय घेरेका थिए । भीड थेग्न नसकेपछि सो कार्यालयले तालिम केन्द्रबाट मद्दत मगायो । सो भीडमा रास्वपादेखि राप्रपासम्मका कार्यकर्ता भएको उनको भनाइ छ । रविले जेन–जीको आन्दोलनमा मौकामा चौका हानेको उनी बताउँछन् । भने, ‘जेन–जी आन्दोलनमा रास्वपा र राप्रपाका कार्यकर्ता पनि मिसिएका थिए । यता प्रहरीमा रहेको कागजात जोगाए पनि अदालतचाँहि ध्वस्त नै भएको छ ।’

सर्वोच्च अदालत पूर्ण रूपमा जल्दा टेण्ट हालेर काम गर्नुपर्ने स्थिति छ । यता, सिआइबीमा पनि रवि र दुर्गा प्रसाइँका कार्यकर्ताले उग्रता मच्चाए । हुल बाँधेर पुगेकाहरुले दुई नम्बर पिल्लरमा छिरेर रवि र दुर्गाको फाइल बाहिर ल्याई जलाएका थिए । ‘सबै अनुसन्धान सिआइबीले नै गरेको हो, प्रमाणहरू सिआइबीसँगै थियो, सुइँका सुइँ दुई नम्बर कोठामा छिरेर फाइल झिकेछन् अनि बाहिर ल्याई जलाएछन्’, ती अधिकारीले भने । 

सो आन्दोलनमा ठूलै षडयन्त्र भएको र वकिलहरू पनि मिलेको स्रोतको दावी छ । स्रोत भन्छ, ‘यो प्रि–प्लानिङका रूपमा भएको छ । जहाँ–जहाँ रविविरुद्ध मुद्दा छ, त्यहीँ–त्यहीँ अदालतलाई टार्गेट गरिएको छ ।’
 

टिप्पणीहरू