हैजाविरुद्धको खोप तिहारअघि खुवाइँदै
पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । ती जिल्लामा अघिल्लो महिना फैलिएको हैजा संक्रमण र हालैको वर्षापछि आएको बाढीबाट उत्पन्न उच्च जोखिमका कारण खोप अभियान सञ्चालन गरिने उल्लेख छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट भदौ पहिलो साता सुरु भएको हैजाबाट हालसम्म पर्सा र बारामा झण्डै दुई हजार जना संक्रमित भइसकेका छन्।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले पर्सामा असोज २६ गतेदेखि र बारामा असोज २९ गतेदेखि अभियान थालिँदैछ । अभियानमा १० लाख १८ हजार एक सय मात्रा खोप प्रयोग हुने अनुमान छ ।
एक वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिलाई दिइने यो खोप मुखबाट खुवाइन्छ । गर्भवती महिला र स्तनपान गराइरहेका महिलालाई पनि खोप दिन सकिने महाशाखाले जनाएको छ।
टिप्पणीहरू