एमालेले चुनावमा भागै लिन्न त !

एमालेले चुनावमा भागै लिन्न त !

नेकपा एमालेले मुलुक गम्भीर संवैधानिक रिक्तताको स्थितिमा रहेको भन्दै संसद पुनर्स्थापनाको बाटोबाट निकास दिनुपर्नेमा जोड दिएको छ । वर्तमान सरकारको गठन र उसले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस गैरसंवैधानिक रहेको निष्कर्षका साथ त्यसलाई सच्याएर जानुपर्ने निष्कर्षमा एमाले पुग्दैछ । 

आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा संसद पुनर्स्थापनाका लागि पहल लिनुपर्ने अध्यक्षको ठहर आएको एक नेताले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्दै ओलीले वर्तमान सरकारले गराएको चुनावमा जान नसकिने बताएका थिए । 

'जननिर्वाचित संसदलाई विघटन गर्ने कुरा प्रतिगमन हो,त्यसविरुद्ध लड्नुपर्छ', ओलीले भनेका थिए । सरकारको गतिविधिका कारण पनि चुनावमा जानसक्ने अवस्था नरहेको उनले तर्क गरे ।  

बैठक स्रोतका अनुसार प्रतिनिधिसभा पुनर्स्थापना कि निर्वाचनको तयारी भन्नेमा सचिवालय सदस्यहरुको भने मिश्रित धारणा आएको छ । उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले प्रष्ट रुपमा संसद विघटन असंवैधानिक रहेकाले सच्याएर जानुपर्ने मत राखे पनि अन्य नेताले खुलेर कुरा राखेनन् । बादलले जहाँबाट प्रतिगमन भएको हो त्यहीँबाट सच्याएर जानुपर्ने भन्दै अध्यक्षको प्रस्तावमा सहमति जनाएका थिए । 

ओलीकै सहमति र सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको भन्नेबारे केही नेताले जिज्ञासा राखेका थिए । ओलीले त्यतिबेलाको असहज परिस्थितिमा संवैधानिक निकास दिनका लागि आफूले राष्ट्रपतिलाई आग्रहमात्र गरेको जवाफ दिए ।  

बैठकमा वर्तमान सरकारले गरेको कामकारवाहीबारे पनि छलफल भएको थियो । विभाजित मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरुसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भए पनि वर्तमान सरकारले त्यसो नगरेको एमालेको ठहर छ । 

यसले चुनावको वातावरण नबनाउने भएकाले पनि संसद पुनर्स्थापनामै जोड दिनुपर्ने तर्क अध्यक्ष ओलीसहितका नेताहरूले गरिरहेका छन् । आजको बैठकपछि उपमहासचिव प्रदिपकुमार ज्ञवालीले त्यस्तै संकेत गरे । अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता,तनाव र मुठभेडतिर लैजान उद्यत रहेको उनले बताए ।

टिप्पणीहरू